शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • कैलालीकै कोरोना संक्रमितलाई पनि सेती अस्पतालले भर्ना गरेन, मन्दिरको हलमा राखियो

कैलालीकै कोरोना संक्रमितलाई पनि सेती अस्पतालले भर्ना गरेन, मन्दिरको हलमा राखियो

  • बुधबार, जेष्ठ २१, २०७७
कैलालीकै कोरोना संक्रमितलाई पनि सेती अस्पतालले भर्ना गरेन, मन्दिरको हलमा राखियो

धनगढी : आईसोलेसन वार्डमा शैया अभाव भएपछि सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना नगरी फिर्ता पठाएको छ। २४ शैयाको आईसोलेसन वार्ड बिरामीले भरिभराउ भएको र थप संक्रमितलाई राख्ने ठाउँ नभएको भन्दै सेती प्रादेशिक अस्पतालले पाँच जना कोरोना संक्रमितलाई फिर्ता पठाएको हो।

जिल्लाको गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषलाई अस्पतालले भर्ना नगरी फिर्ता पठाएको नगरपालिकाका मेयर भीमवहादुर देउवाले बताए।

‘५ जना नयाँ संक्रमित मध्ये दुई जनाको स्वास्थ्यमा समेत समस्या देखिएको छ,’ मेयर देउवाले भने, ‘ज्वरो आउने, खोकी लाग्ने र बान्ता समेत भईरहेको छ। त्यसैले सेती प्रादेशिक अस्पतालमा पठाएका थियौँ। तर कसैलाई पनि भर्ना गरिएन्।’

मेयर देउवाका अनुसार सेती प्रादेशिक अस्पतालले भर्ना नगरेपछि संक्रमित बिरामीलाई वडा नम्वर ४ को एउटा मन्दिरको हलमा राखिएको छ। उनले भने, ‘संक्रमण पुष्टि हुने वित्तिकै सेती प्रादेशिक अस्पतालमा पठाउनु भन्ने स्वास्थ्य मन्त्रालयको निर्देशिका नै छ। सोही निर्देशिका अनुसार हामीले पनि संक्रमितलाई सेतीमा पठाएका हौँ। सेतीले पनि भर्ना नगरेपछि समस्या भएको छ।’

यता सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले २४ शैयाको आईसोलेसनमा २५ जना संक्रमितलाई राखिएको बताउँदै थप संक्रमितको तत्काल व्यवस्थापन गर्न नसकिएको जानकारी दिए। स्वास्थ्य कार्यालय कैलालीले हस्तान्तरण गरेको आईसोलेसन भवनमा उपकरण थप्ने काम जारी भएकाले उक्त भवनमा विरामी राख्न नसकिएको समेतले मेसु पाण्डेयले बताए।

धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का एक जना संक्रमित र पुनरवास नगरपालिकाका एक जना संक्रमितलाई भने सेती प्रादेशिक अस्पतालले आईसोलेसनमा भर्ना गरिसकेको छ। यता सामाजिक विकास मन्त्रालयले भने संक्रमित बिरामीको व्यवस्थापनको जिम्मा सम्बन्धित जिल्लामा गठित कोरोना नियन्त्रण समितिको रहेको जनाएको छ। याे खबर दिनेश नबराज पनेरुले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार