शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • करोडपति मालपोत अधिकृत !

करोडपति मालपोत अधिकृत !

  • मङ्लबार, जेष्ठ २०, २०७७
करोडपति मालपोत अधिकृत !

मालपोत कार्यालय ललितपुरका शाखा अधिकृत बद्रीराज ढकाललाई सवाँ १० करोड अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धन आयोगले उनीकी श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालसमेतलाई प्रतिवादी बनाएको छ। ढकालविरुद्ध ८ वर्षदेखि १० वर्षसम्मको कैद सजायको माग गरि विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

दुई दशकअघि  अस्थायी शिक्षकबाट सार्वजनिक सेवमा गरेका मालपोत अधिकृत ढकालले १४ करोड ५३ लाख ८२ हजार कमाएको अख्तियारको अनुसन्धानले खुलेको छ। २०५४ माघ १४ मा अस्थायी शिक्षकबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए।

मालपोत कार्यालय लमजुङ्गबाट  २०५५ असोजमा १६ मा खरिदारमा स्थायी नियुक्ती प्राप्त गरी निजामति सेवामा प्रवेश पाएका थिए।  नासु  हुदै हाल शाखा अधिकृतको पदमा वढुवा भएका हुन्। उनी निजामती सेवामा प्रवेश पश्चात मालपोत कार्यालय तनहुँ, कास्की, डिल्लिबजार काठमाडौं, पर्सा हुँदै  हाल मालपोत लगनखेल, ललितपुरमा कार्यरत रहेको छन्।

अबैधरुपमा कमाएको सम्पत्तिबाट उनले  सालीलाई गाडी किनिदिएका छन्। जेठान  नवराज अर्यालका नाममा जनता बैंकमा नयाँ खाता खोली ढकालले अवैध कारोबार सञ्चालन गरेको पाइएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार अवैध आर्थिक कारोबार लुकाउन हाल अष्ट्रेलियामा रहेका जेठान अर्यालको खातामा पैसा राखैकै दिन आफू अनुकुलका व्यक्ति एवं आफूसमेतले विभिन्न व्यक्तिका नाम पैसा जम्मा गराएका थिए। जेठानको खातामा पैसा जम्मा गरेर आफूले खरिद गरेको जग्गाका जग्गाधनी तथा जग्गा विक्रेता  र  जग्गा कारोबारसँग सम्बन्धित व्यक्तिलाइ भुक्तानी तथा लगानी गर्ने कार्यमा  ४ करोड २६ लाख ९९ हजार खर्च गरेको देखिएको छ।

ढकालले आफू तनहुँ मालपोतमा कार्यरत रहँदा जिल्लाबासी डेकबहादुर गुरुङ्गलाई प्रभावमा पारी जग्गा हडपेको अनुसन्धानमा खुलेको छ। गुरुङ र उनकी श्रीमतीसमेतका नाममा दर्ता  रहेका जग्गा कुनै किसिमको खरिद बिक्री कारोवार नै नगरी लिखतमा सरकारी न्युनतम मूल्य उल्लेख गरी खरिद बिक्री कारोवार देखाइ आफ्नो नाममा ल्याएका थिए।

ढकालले  पुनः जग्गा फिर्ता गर्दा लिखतमा अत्याधिक मूल्य खुलाई त्यो  जग्गा गुरुङ्ग ,  उनीको श्रीमती, गुरुङ्गका दिदी र भिनाजु र बहिनी समेतका नाममा बिक्री लिखतले स्वामित्व हस्तान्तरण गरी हुँदै नभएको खरिद बिक्री कारोवारमा  १ लाख ९७ हजारबाट केही दिन र महिनाको अन्तरालमै १ करोड ६८ लाख आर्जन गरेको देखाई बदनियत तवरले आयस्रोत बढाउने काम गरेकोसमेत अनुसन्धानको क्रममा खुल्न आएको छ।

२०७६ फागुन मसान्तसम्मको जाँचअवधिमा ढकाल आफू र श्रीमती सिर्जना अर्याल ढकालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा ४ करोड ५४ लाख १७ लाख  लागानी र खर्च गरेका देखिएको छ भने  घर निर्माण र घरमा रहेको फर्निचर तथा फर्न्सििङ एवं इलेक्ट्रोनिक उपकरणहरु समेतमा १ कारोड १ लाख ५३ हजार, पूँजिगत लाभ तथा आयकर ७ लाख ९० हजार,  विभिन्न बैंक तथा वित्तीय संस्थाका साधारण तथा संस्थापक शेयर खरिदमा १ करोड ११ लाख ४६ हजार, सन्ततीको अध्ययनमा १ लाख ६० हजार, जीवन बीमा प्रिमियम शुल्कमा  ९ लाख २४ हजार, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएका कर्जा चुक्तामा  ६४ लाख ६३ हजार, सवारी साधन खरिद तथा संचालनसमेतमा  २८ लाख २२ हजार  सुन खरिदमा  १७ हजार, सरसापटी व्यवहारमा २० हजार लगानी तथा खर्च गरेको अनुसन्धानबाट खुलेको छ।

जेठान नाताका नवराज अर्यालको  नामको खाताबाट ४ कारोड २६ लाख ९९ हजार अबैध कारोबर गरेको पाइएको छ।

विविध शीर्षक (अभिलेखमा देखिने शीर्षकका खर्च बाहेक निजले खुलाईदिएका अन्य विविध खर्च) र साथमा रहेको नगद समेत  २ करोड २४ लाख २६ हजार,  निजी विदेश भ्रमणमा  ९२ हजार  र बैंक खातामा अन्तिम मौज्दात रकम २ लाख ६८ हजार  समेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा ढकालले  १४ करोड ५३ लाख ८२ हजार खर्च तथा लगानी गरेको देखिएको छ ।

ढकालको पारिश्रमिक तलब एवं विभिन्न अतिरिक्त भत्ता लगायतका बचत आय ४९ लाख ४४ हजार, श्रीमती सिर्जनाको पारीश्रमिक वचत आय ७७ हजार¸  ढकालको वैदेशिक वचत आय  १ लाख, कोष तथा बैंकबाट लिएका कर्जा ६८ लाख ९१ हजार¸ घरबिक्रीबाट १ करोड १५ लाख¸ जग्गा बिक्रीबाट १ करोड ८ लाख ६७ हजार¸ शेयर बिक्रीबाट ६ लाख ९९ हजार¸ सवारी साधन बिक्रीबाट १२ लाख ९६ हजार  र कृषी आय १ लाख  समेत गरी ४ कारोड २६ लाख २४ लाख  आय आर्जन गरेको देखिएको छ।

ढकालको १० कारोड २७ लाख ५८ हजार आय भन्दा वढि खर्च देखिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। ढकालले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिसमेत साविक भ्रष्टाचार निवारण ऐन, बमोजिम जफत गर्ने प्रयोजनार्थ  उनीकी श्रीमती सिर्जना र जेठान नाताका नवराज समेतलाई प्रतिवादी कायम गरी  विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ।  #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार