शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • मनीषाले नेपालको नयाँ नक्सालाई समर्थन गरेपछि…

मनीषाले नेपालको नयाँ नक्सालाई समर्थन गरेपछि…

भारतद्वारा अतिक्रमित भूगाग समेटेर नेपालले जारी गरेको नयाँ नक्सामा अभिनेत्री मनिषा कोइरालाको समर्थन

  • बिहिबार, जेष्ठ ८, २०७७
मनीषाले नेपालको नयाँ नक्सालाई समर्थन गरेपछि…

काठमाडौँ — लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितका भूगाग समेट्दै नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गर्‍यो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सोही निर्णय जानकारी गराउँदै ट्वीट गरे ।

अभिनेत्री मनीषा कोइरालाले त्यसलाई रिट्वीट गर्दै लेखिन– ‘हाम्रो सानो राष्ट्रको गरिमा राख्नु भएकोमा धन्यवाद । हामीले तीनै महान राष्ट्रबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता होस् भन्ने चाहेका छौं ।’ बिहीबार साँझसम्म यो ३ हजार ८ सय पटक रिट्वीट भएको छ ।

भारतीय फिल्म उद्योग बलिउडमा विशिष्ट स्थान बनाएकी मनीषाले नेपालको नयाँ नक्साको समर्थन गरेपछि भारतमा आलोचित बनेकी छन् । खासगरी भारतीय टेलिभिजन मिडिया र सामाजिक सञ्जालमा उनको चर्को विरोध गरिएको छ । भारतको संस्थापनसँग नजिक मानिएको एबीपी न्यूजले ‘चीनको गीत गाएको’ समेत भन्न भ्याएको छ । मंगलबार प्रसारित गरिएको एबीपीको रिर्पोटमा भनिएको छ– ‘नेपालमा जन्मिएकी नेपाली अभिनेत्री मनीषा कोइरालाले नेपालको दाबीलाई सही मानेकी छन् । भारतको खाने अनि चीनको गीत गाउने ? भारतमा उनलाई रोजगारी मिल्यो, स्टारडम कमाइन् । उनले जे पाएकी छन्, भारतबाटै पाएकी छन् ।’

ट्वीटरमा भारतीय प्रयोगकर्ताले ‘बोयकट मनीषा’ अभियान चलाएका छन् । सत्यम शिवम नामक प्रयोगकर्ताको ट्वीट छ– ‘मनीषा को हुन् ? कुटनीतिज्ञ ? अनुसन्धानकर्ता, इतिहासकार वा अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञाता ? उनले आफू बसेको सहर (मुम्बईं)लाई भुल्न मिल्दैन ।’ अधिकांशले भारतमा प्रसिद्धी कमाएर भारतकै विपक्षमा उभिएको भन्दै तुच्छ स्तरको गाली गरेका छन् । नेपाल र भारतको विवादमा चीनलाई मिसाएकाले रोष प्रकट गर्ने पनि उत्तिकै छन् ।

भारतमा व्यापक विरोध भइरहँदा नेपालमा भने मनीषाको वाहवाही भएको छ । ट्वीटरमा ‘विथ मनीषा’ र ‘ब्याक अफ इन्डियन मिडिया’ ह्यासट्याग सुरु गरिएको छ । बलिउडको निगाहाले नभई मनीषाको मेहनत र प्रतिभाले सफलता हासिल गरेकाले उनीमाथि अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गरिएको छ । ‘लगाव र संघर्षबाट मनीषाले स्टाडम कमाएकी हुन्, कसैको आशीर्वादले होइन । यसबारे अनावश्यक बोल्न तिमीहरुसँग नैतिकता छैन,’ आशिष अर्यालले लेखेका छन् । बलिउडमा चम्किएर पनि मातृभूमिको स्वाधिनताप्रति ऐक्यबद्धता जनाउनु साहसपूर्ण भन्दै उनलाई प्रंसशा मिलेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ट्वीटरमा भारतीय सञ्चारमाध्यम एबीपी न्यूजले पीत पत्रकारिता गरेको आरोप लगाएका छन् । त्यस्तै, करिष्मा मानन्धर, सञ्चिता लुइँटेल, शिल्पा पोखरेललगाएतका नेपाली अभिनेत्रीहरु पनि मनीषाको पक्षमा उभिएका छन् ।

क्यान्सरलाई जितेपछि भारतीय सञ्चारमाध्यमले मनीषालाई विवादमा तानेको यो पहिलो घटना हो । बुधबार साँझसम्म आफूमाथिको आलोचनाबारे मनीषाले कुनै प्रतिक्रिया दिएकी छैनन् । बरु मंगलबार उनले पूर्वराजा ज्ञानेन्द्र शाहको नामको ट्वीटर ह्यान्डलको ‘सीमा समस्याको समाधानका लागी त्रिपक्षीय वार्ता गर्नुपर्ने । त्यसमा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्ने’ आशयको ट्वीट पनि रिट्वीट गरेकी थिइन् । नेपालको नयाँ नक्सामा लिपुलेकसहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको छ । यो नक्सा औपचारिक रुपमा बुधबार सार्वजनिक गरिएको छ ।

भारतले सडक उद्घाटन गरेको खबर बाहिरिएसँगै नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्नुपर्ने र त्यसका लागि सरकारले कुटनीतिक पहल गर्नुपर्ने आवाज उठेको थियो । त्यतिबेलैबाट मनीषा अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्ने पक्षमा उभिएकी थिइन् । उनले ट्वीटरमा यससम्बन्धि समाचार र ट्वीटलाई रिट्वीट गर्दै आएकी थिइन् । उनी पछिल्लो समय ट्वीटरमा ‘कट्टर राष्ट्रवादी’ को छनक दिने गरी प्रस्तुत भइरहेकी छन् । नेपाल र अमेरिकी सरकारबीचको मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा छिन् । सीमामा नेपालीलाई नेपाल सरकारले नहरेको विषयमा पनि उनले ट्वीट गरेकी छन् ।

क्यान्सर मुक्त भएपछि मनीषा नेपाल, भारतसहित अन्य मुलुकमा सामाजिक कार्यहरुमा व्यस्त छिन् । तर, पछिल्लो समय ट्वीटरमार्फत उनले व्यक्त गरिरहेको राष्ट्रभक्तिलाई कतिपयले राजनीतिमा आउने संकेतका रुपमा अथ्र्याएका छन् । त्यसो त मनीषा नेपालको राजनीतिमा प्रवेश गर्ने चर्चा पुरानै हो । उनले विसं. २०६२ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको स्थानीय निकायको निर्वाचनको प्रचार गरेकी थिइन् । त्यतिबेला उनको खुबै विरोध भएको थियो । उक्त चुनाव प्रमुख राजनीतिक दलले बहिष्कार गरेका थिए । उनका बुबा प्रकाश कोइराला राजाको प्रत्यक्ष शासनकालमा वातावरण, विज्ञान तथा मन्त्री भएका थिए ।

राजावादीकी रुपमा चिनिएकी मनीषा लोकतन्त्र स्थापनापछि राजनीतिक परिदृश्यमा खासै देखापरिनन् । सन् २००९ मा भने उनले राजनीतिमा प्रवेश गर्न लागेको अन्तरवार्ता दिएको थिइन् । तर, त्यो पनि त्यतिकै सेलायो । २०७२ सालमा कान्तिपुरसँगको कुराकानीमा उनले ‘राजनीतिमा चासो रहेको तर तत्काल राजनीतिमा आउने सम्भावना नरहेको’ बताएकी थिइन् ।

‘सौदागर’ फिल्मबाट बलिउडमा पाइला राखेकी मनीषा सन् नब्बेको दशककी सर्वाधिक लोकप्रिय अभिनेत्रीमध्ये एक हुन् । ‘बम्बे’, ‘अग्नीसाक्षी’, ‘खामोशी’, ‘दिलसे’, ‘मन, ‘गुप्त’, ‘कम्पनी’जस्ता दर्जनौं फिल्ममा उनको कुशल अभिनय देख्न पाइन्छ । उनले नेपाली र दक्षिण भारतीय फिल्ममा पनि अभिनय गरेकी छन् ।

पछिल्लो पटक नेट्फ्लिक्सको वेबसिरिज ‘मस्का’मा देखिएकी मनीषा हाल मुम्बईमा छिन् ।

चर्चामा

सम्बन्धित समाचार