शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • गाउँगाउँमा विदेशबाट आउनेलाई खोजिँदै, क्वारेन्टाइनमा राखिँदै

गाउँगाउँमा विदेशबाट आउनेलाई खोजिँदै, क्वारेन्टाइनमा राखिँदै

  • बिहिबार, चैत्र २०, २०७६
गाउँगाउँमा विदेशबाट आउनेलाई खोजिँदै, क्वारेन्टाइनमा राखिँदै

हालसम्म नेपालमा पाँचजना कोरोना संक्रमित बिरामी भेटिएका छन् । ती सबै विदेशबाट आएका व्यक्ति हुन् ।

हालसम्म नेपालमै रहेका व्यक्तिमा कोरोना संक्रमण देखिएको छैन । त्यसैकारण सरकारले भारत तथा अन्य देशबाट आउने नेपाली तथा विदेशीमाथि निगरानी बढाएको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमण महामारीको रुप लिँदै गर्दा नेपाल पनि खतरामा रहेको छ । खुल्ला सीमाका कारण भारतीयहरु नेपाल छिर्ने सम्भावना धेरै रहेका हुनाले सरकारले निगरानी बढाएको छ । यहाँसम्म कि भारतबाट आउने नेपालीलाई पनि छिर्न दिइएको छैन ।

कोही आइहालेपनि उसलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने काम पनि भइरहेको छ । यसमा स्थानीय तहलाई विशेष रुपमा निगरानी राख्न निर्देशन दिइएको छ । खासगरि तराई मधेशमा भारतसहित कतार, मलेसिया, दुवईलगायत मुलुकबाट बढी नेपालीहरु आउने गरेकाले त्यहाँ निगरानी कडा पारिएको छ ।

सम्बन्धित स्थानीय तहले दैनिक रुपमा विदेश तथा भारतबाट आउनेको खोजिनीति गरिरहेका छन् । यसैगरी प्रदेश २ का प्रायः स्थानीय तहले क्वारेन्टाइन पनि बनाइसकेका छन् । र, विदेशबाट आउने शंकास्पद व्यक्तिलाई त्यही क्वारेन्टाइनमा राख्ने गरिएको सप्तरीको बलान विहुल गाउँपालिकाका अध्यक्ष दायनन्द गोइतले बताए ।

उनले आफ्नो गाउँपालिकामा १७ वेडको क्वारेन्टाइन बनाइएको भन्दै भारतबाट आउनेहरुलाई कम्तीमा सात दिन त्यहाँ राखेर उपचार गर्ने गरिएको बताए ।

हालसम्म भारतबाटबाट आएका ६० जना क्वारन्टाइनमा बसेर घर फर्किएको र अझै १० जना क्वारेन्टाइनमै रहेको उनले बताए ।

आफूले सार्वजनिक रुपमै अपिल पनि गरेको र फोन नम्बरहरु पनि दिएको बताउँदै उनले भने, ‘विदेशबाट आउनेबारे थाहा पाउने वित्तिकै जो कोहीलाई पनि जानकारी गराउन आग्रह गरेको छु । त्यसका लागि फोन नम्बरहरु पनि दिइएको छ । वडा अध्यक्षहरु, स्थानीय नेताहरु पनि आफै पनि त्यसका लागि खटिनु भएको छ ।’

तिरुगुत गाउँपालिका पनि क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिले तीनजनालाई राखिएको छ । वडा नम्बर ५ लोहजराका वडा अध्यक्ष रमानन्द चौधरीका अनुसार डिमनमा दुईजना मलेसियाबाट र लोहजारामा एकजना भारतको पटनाबाट आएको खबर पाउने वित्तिकै उनीहरुलाई क्वारेन्टाइनमा राखिएका छ ।

उनीहरुलाई चैत १५ गतेदेखि क्वारेन्टाइनमा राखिएको छ । अझै कोही भारत वा अन्य देशबाट गाउँमा आएका छन् कि भनि खोजी कार्य जारी रहेको उनले बताए ।

धनुषाका जनकनन्दनी गाउँपालिका अध्यक्ष अब्दुल वारिक शेखले पनि भारत तथा अन्य देशबाट आउने व्यक्ति खोज्ने कार्यलाई तीब्रता दिएको बताए । भारतबाट आएका ६ जनालाई चेकजाँच गराएको र उनीहरुको रिर्पोर्ट निगेटिभ आएको उनले बताए । छवटै वडाका वडाअध्यक्ष र सचिवहरु विदेशहरुबाट आउनेमाथि निगरानी बढाइएको उनले बताए । उनले भने, ‘दैनिक रुपमा खोज्ने काम भइरहेको छ ।’

पर्साका विन्दवासीनी गाउँपालिकाका अध्यक्ष श्रीलाल मोदीले एक हप्ताअघि भारतको बेंगलोरबाट आएका आठजनालाई नारायणी अस्पतालमा लगेर चेकजाँच गराए । परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । पार्सैनीमा पनि एकजना भारतबाट आएको फेला परेका थिए, उनीलाई पनि चेकजाँच गराउँदा नेगेटिभ आएको बताउँदै उनले हालसम्म आफ्नो गाउँपालिकामा ९ को नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताए ।
कतार, मलेसिया जस्ता देशबाट कोही पनि नआएको उनले बताए ।

सिरहाको औरही गाउँपालिका जो नेपाल–भारतको सीमामा रहेको छ । त्यहाँ पनि कडा निगरानी बढाइएको छ । ती गाउँपालिकाका युवाहरुले बोर्डरमै गस्ती गर्ने गरेका छन् । उनीहरुले कोही नेपाली भारतबाट नेपाल छिर्ने बित्तिकै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने नीति अख्तियार गरेका छन् । त्यसका लागि सो गाउँपालिकाले क्वारेन्टाइन बनाएर राखको छ ।

तर, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डा. उपेन्द्र यादवले क्वारेन्टाइन बनाएको भएपनि हालसम्म एकजनालाई पनि क्वारेन्टाइनमा राख्नु नपरेको बताए ।

‘कतारबाट केही युवा गाउँमा आएको १४ दिन भन्दा बढी भइसकेको छ, उनीहरु होम क्वारेन्टाइनमा छन्, अरुलाई गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राख्नु परेको छैन’, उनले भने ।

चैत ४ गते कतार एयरवेजबाट नेपाल आएका एकजनाको कोरोना टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार