शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कोरोनासम्बन्धी सरकारी कोषमा पूर्वराजाले दिए दुई करोड, ‘लकडाउन’लाई समर्थन

कोरोनासम्बन्धी सरकारी कोषमा पूर्वराजाले दिए दुई करोड, ‘लकडाउन’लाई समर्थन

  • मङ्लबार, चैत्र १८, २०७६
कोरोनासम्बन्धी सरकारी कोषमा पूर्वराजाले दिए दुई करोड, ‘लकडाउन’लाई समर्थन

पूर्वराजा ज्ञानेन्द्र शाहले बुहारी हिमानी संरक्षक रहेको हिमानी कोषमार्फत दुई करोड रुपैयाँ नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषलाई दिएका छन् । मंगलबार वक्तव्य जारी गर्दै पूर्वराजा शाहले दुःख, कष्ट र आपतविपतको यो घडीमा सबैको साथमा आफूले पनि साथ दिएको उल्लेखसमेत गरेका छन् ।

देशलाई लकडाउन गर्ने सरकारी निर्णयको उनले स्वागत गर्दै सबैले पालना गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वराजा शाहले भनेका छन्, ‘यो अवस्थामा यो अवस्थाबाट मुक्त हुन लगाउने बाध्यतमक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने पनि बुझ्नु जरुरी छ ।’

‘विश्वमा अहिले देखापरेको कोरोना भाइरसको महामारीले सिंगाे मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौँ, देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको छ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति संवेदनशील हुँदै हामी सबैले आ–आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुऱ्याउनुपर्ने अनिवार्य भइसकेको छ ।’

पूर्वराजा शाहले महामारीको संकटमा ज्यानको पर्वाह नगरी सेवामा खटिएका सबैप्रति आभार पनि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘महामारीको यो संकटमा आफ्नो ज्यानको पर्वाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुऱ्याउने सञ्चारकर्मी एवं पत्रकारप्रति हामी आभारी छौँ ।’ साभार

चर्चामा

सम्बन्धित समाचार