बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फिचर
  • उनका लागि श्रीमानको ‘अह, अह, अह’ नै अन्तिम बोली बन्यो

उनका लागि श्रीमानको ‘अह, अह, अह’ नै अन्तिम बोली बन्यो

  • आइतवार, चैत्र १६, २०७६
उनका लागि श्रीमानको ‘अह, अह, अह’ नै अन्तिम बोली बन्यो

कोरोना संक्रमणको आशंकामा बुटवल रामनगरस्थित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालमा भर्ना भएका रूपन्देहीको सैनामैना ४ सिसौडांडाका बाबुराम थापा क्षेत्रीले शनिबार श्रीमती रिता थापा क्षेत्रलाई फोन गरे। १३ गतेदेखि आइसोलेसन अस्पतालमा भर्ना भएका क्षेत्रीले औषधी चलेको छ तर खाना पिरो भएर खान सकेको छैन भन्दै श्रीमतीसँग कुराकानी गरे।

शनिबार राति पनि श्रीमतीसँग उनले केहीबेर फोनमा कुराकानी गरे। त्यतिबेला उनले आफूलाई सास फेर्न गाह्रो भएको भनेका थिए। आइतबार बिहान पनि बाबुरामले श्रीमती रितालाई फोन गरे। बोल्न भने सकेनन्। ‘अह, अह, अह, अह’ उनको मुखबाट यही आवाजमात्र निस्किरहेको थियो। सैनामैनामा भाडामा बस्दै आएकी रिता श्रीमानको त्यस्तो आवाज सुनेपछि झस्किइन्।

तत्काल ८ सय रुपैयाँमा एम्बुलेन्स रिजर्भ गरेर अस्पताल पुगिन् तर श्रीमानलाई भेट्न पाइनन्। मोबाइलमा सुनिएको ‘अह, अह, अह’ शब्द नै उनका श्रीमानको अन्तिम बोली भयो। अस्पतालले आइतबार दिउँसो क्षेत्रीको मृत्यु भएको पुष्टि गर्‍यो।

रोजगारीको सिलसिलमा दुबई पुगेका ३७ वर्षीय बाबुराम चैत ४-५ गते नेपाल आएका थिए। उनी ठ्याक्कै कहिले नेपाल पुगेका हुन् भन्ने खुलेको छैन। तर काठमाडौंबाट उनी बस चढेर चैत ६ गते सैनामैना-४ सिसौडाँडास्थित डेरामा पुगेका थिए।

पाल्पा रिब्दिकोट गाउँपालिका वडा नम्बर ५ मा स्थायी घर भएका बावुराम केही वर्षयता सैनामैनास्थित कृष्णप्रसाद ज्ञवालीको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

ज्ञवालीका अनुसार दुबईबाट आउँदा नै सामान्य ज्वरो देखिएको उनलाई घरमा आउँदा पनि ज्वरो निको भएको थिएन। ज्वरो निको नभएपछि सैनामैनाको मुर्गियास्थित फार्मेसीमा चेकअप गरे। रगत पनि जाँच गरे। रगत जाँच गर्दा उनलाई टाइफाइड देखियो। त्यसपछि घरमै बसेर टाइफाइडको औषधि खाए। औषधी सेवन गरेपनि ज्वरो निको नभएपछि छिमेकी र घरधनीको सल्लाहमा पुनः मुर्गियास्थित स्वास्थ्य चौकीमा पुगे। स्वास्थ्य चौकीले होमक्वारेन्टाइनमा बस्न सुझाव दियो।

विदेशबाट आएको तीन-चार दिन परिवार र छिमेकीसँगै घुलमिल गर्दै आएका उनी स्वास्थ्य चौकीबाट फर्किएपछि एक्लै बस्न थाले। औषधि खाइरहेका थिए। तर पनि ज्वरो निको भएन। जति औषधी खाएपनि ज्वरो निको नभएपछि छिमेकी र घरधनीकै सल्लाह अनुसार उनी १३ गते कोरोना परिक्षणको लागि बुटवल आएका थिए। लक डाउनका कारण यातायात बन्द भएकोले उनी विद्युतीय रिक्सा चढेर मुर्गियादेखि बुटवल धागो कारखानामा बनाइएको अस्थायी आइसोलेसन अस्पतालमा पुगेका थिए। उनलाई सोही दिन आइसोलेसनमा भर्ना गरी उपचार सुरू गरिएको थियो।

१३ गते साँझ अस्पताल आएका उनको आज बिहानमात्र कोरोना संक्रमणको आशंकामा स्वाब निकालिएको थियो। स्वाब परीक्षणको लागि काठमाडौं पठाएको छ।

कोरोनाको रिपोर्ट नआइपुग्दै उनको थापाले आइतबार दिउँसो संसार छोडे। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर सुर्दशन थापाले बाबुरामको स्वाबको रिपोर्ट नआउँदासम्म उनको मृत्यु कोरोनाका कारण भएको हो कि अरू कारणले भन्न नसकिने बताए।

लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर पंकज पटेलले क्लिनिकल डाइग्नोसिसमा बाबुराममा एलआरटिआई देखिएको बताए। मृतकमा निमोनियाका बिरामीमा देखिने लक्षण देखिएको तर एक्सरे रिपोर्टमा भने निमोनिया नदेखिएको पटेलको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार