शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बझाङमा भारतबाट आएका ११५ जनालाई क्वारेन्टाइनमा राखियो, ७० जना सम्पर्कविहीन

बझाङमा भारतबाट आएका ११५ जनालाई क्वारेन्टाइनमा राखियो, ७० जना सम्पर्कविहीन

एकजना आइसोलेसनमा भर्ना

  • बिहिबार, चैत्र १३, २०७६
बझाङमा भारतबाट आएका ११५ जनालाई क्वारेन्टाइनमा राखियो, ७० जना सम्पर्कविहीन

बझाङ: भारतबाट बझाङ फर्किएका १८५ जना मध्ये ११५ जनालाई विभिन्न स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेर रेखदेख गर्न थालेका छन्। ११५ जना स्थानीय सरकारको सम्पर्कमा आएका भएपनि अन्य ७० जना भने सम्पर्कमा नआएर सिधै घर गएको पाइएको छ।

ईलाका प्रहरी कार्यालय स्याँडीको तथ्यांक अनुसार बुधबार मात्रै १८५ जना भारत तथा कैलालीबाट बझाङ आएका थिए। तिमध्ये ११५ जना मात्रै सबै स्थानीय तहको क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालयका महामारी नियन्त्रण फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायण जोशीले बताए। जसमध्ये ७० जना सम्पर्क नै नगरेर सिधै आफ्नो घर गएको हुनसक्ने जोशीले बताए।

थलारा गाउँपालिकाका स्वास्थ्य संयोजक पदम ओलीका अनुसार अहिलेसम्म गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा ४२ जना मात्रै छन्। जसमा २ जना डोटीको आदर्श गाउँपालिकाका, एक महिला छविसपाथिभेरा गाउँपालिकाका बाँकि ३९ जना एकै वडाका रहेका छन्। बाँकि ३४ जनाको खोजी भइरहेको स्वास्थ्य संयोजक ओलीले बताए।

यस्तै बुंगल नगरपालिकामा बुधबार मात्रै ६२ जना भारतबाट आएकोमा ४३ जना मात्रै कफलसेरीस्थित नयाँ स्वास्थ्य चौकीको भवनमा बनाइएको क्वाटरटाइनमा बसेका छन्। बाँकि २० जना सम्पर्कमा नआएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ।

जिल्लाको खप्तड छान्ना गाउँपालिकामा ७ जना भारतबाट आएकामा कोहीपनि सम्पर्कमा आएका छैनन्। दुर्गाथली गाउँपालिमा भने ३ जना भारतबाट आएकोमा तिनै जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्यकर्मीहरु रेखदेख गर्दैछन्। विथ्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिमाका ४/४ जनालाई  क्वारेन्टाइनमा राखिएको छ।

त्यस्तै तल्कोट गाउँपालिकाका ७ जना, मष्टा गाउँपालिकाका २ जना र जयपृथ्वी नगरपालिकाका ५ जना मध्ये जयपृथ्वी नगरपालिकामा रहेको क्वारेन्टाइनमा तल्कोटका ५ जना, मष्टाका १ जना, साईपाल गाउँपालिकाका १ जना र जयपृथ्वी नगरपालिकाका ४ जना गरेर ११ जना क्वारेन्टाइनमा छन्। जसमध्ये मष्टाका एक जना सम्पर्कमा नआएर सोझै घर पुगेका स्थानीयले जनाएका छन्।

एकजना आइसोलेसनमा भर्ना
भारतबाट जिल्लाको तल्कोट गाउँपालिकाका पुगेका २४ वर्षीय पुरुषलाई ज्वरो आएका कारण जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिरहेको जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए।
कोभिड–१९ परिक्षणका लागि उनको स्वाब शहिद शुक्रराज ट्रपिकल अस्पताल टेकु काठमाण्डौं पठाउनले तयारी भइरहेको डा ओखेडाले बताए।

भारतबाट आएकालाई क्वारेन्टाइनामा बस्न आग्रह
भारतबाट वा अन्य जिल्लाबाट आएकालाई सबै स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेतापनि उनीहरु क्वारेन्टाइनमा बस्न नमानेर भागेर र लुकेर घर जाने गरेका छन्।

जिल्ला प्रशासन कार्यालयले त्यस्तो नगर्न सबैलाई अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोनाको एउटै उपचार भनेको घर बाहीर नआएर एक्लै बस्नु र विदेशबाट आएकाले दुई हप्तासम्म क्वारेन्टाइनमा बस्नु नै राम्रो हुने भएका कारण यसमा सबैले साथ दिन आग्रह गरेका छन्।

ठुलो विपद्मा सबैको साथ र सहयोगको ठुलो खाँचो पर्ने भन्दै नेपाल सरकारले गरेको निर्णयको पालना गर्न समेत उनले सबै बझाङवासीमा अनुरोध गरेका छन्। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार