मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा, स्वीकृति नलिइ ४९ हजारसम्म निजी विद्यालयको शुल्क

कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा, स्वीकृति नलिइ ४९ हजारसम्म निजी विद्यालयको शुल्क

  • सोमवार, चैत्र ३, २०७६
कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा, स्वीकृति नलिइ ४९ हजारसम्म निजी विद्यालयको शुल्क

आज चैत ३ गते सोमबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा कोरोनाभाइरसको महामारीविरुद्ध लड्न सार्क राष्ट्रहरु एक जुट भएको समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, नेपालमा यसको तयारीलगायत विषयबारे पनि समाचारहरु प्रकाशित छन् ।

कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन न दिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झण्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको कान्तिपुर दैनिकमा समाचार छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औधोगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो । उनीहरुलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । क्वारेन्टाइनमा रहेका नेपालीले आफूहरुको स्वास्थ्य सुरक्षाका लागि नै क्वारेन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरेका छन् । क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरु पनि छन् । त्यसमा धेरैजसो सेल्सम्यानका काम गर्नेहरु छन् । कतारको सर्वाजनिक स्वस्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ सय ३७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा राखिएका कामदारहरुमै संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । संक्रमण देखिएकामध्ये चार जना उपचार सफल भएर क्याम्पमा फर्केका छन् । उनीहरु फिलिपिनो, इरानी र सुडानी नागरिक हुन् ।

राजधानीका निजी विद्यालयले सरकारबाट शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना प्रक्रिया सुरु गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । सरकारको स्वीकृतिविना अभिभावकबाट चर्को शुल्क असुल्ने गरी युलेन्स, पाठशाला, रातो बंगला, प्रिमियर, काठमाडौं वर्ल्ड, द चाँदबाग, जेम्स, लिटिल एन्जल्सलगायतले भर्ना प्रक्रिया सुरु गरेका हुन् । कतिपयले त भर्ना नै सम्पन्न गरिसकेका छन् । रातो बंगलाले फागुनमै प्रवेश परीक्षा लिइसकेको छ । उसले कक्षा १ का विद्यार्थीबाट मासिक ३३ हजार उठाउँछ । त्यस्तै, ललितपुरको प्रिमियर स्कुलमा विद्यार्थीको मासिक शुल्क ३९ हजारदेखि ४९ हजारसम्म छ, नयाँ भर्नाबापत एक लाख छुट्टै उठाउँछ । काठमाडौं वर्ल्ड स्कुलले मासिक ३८ हजार शुल्क तोकेको छ । रुपिज इन्टरनेसनलले मासिक ३४ हजारका दरले वर्षको सुरुमै चार लाख रुपैयाँ एकमुष्ट उठाउँछ ।  अनुगमन गर्ने निकायको कमजोरीको फाइदा उठाउँदै युलेन्स स्कुलले विभिन्न १७ शीर्षकमा अभिभावकबाट पैसा असुल्छ । मासिक ४० हजारबाहेक सो विद्यालयले उत्सव तथा कार्यक्रम, समुदायकेन्द्रित कार्यक्रम, अभिभावककेन्द्रित कार्यक्रम, मर्मतसम्भार, पत्रपत्रिका प्रकाशन, इमेल, एसएमएस अलर्टलगायत शीर्षकमा समेत पैसा असुल्छ । पाठशालाले मासिक १८ हजार उठाउँछ । यो विद्यालयले नयाँ विद्यार्थी भर्नाबापत ६० हजार रुपैयाँ छुट्टै उठाउँछ । त्यस्तै, चाँदबाग, जेम्स र लिटिल एन्जल्सले मासिक १० देखि १२ हजार शुल्क उठाउँछन् । तर, यति महँगो शुल्क लिने विद्यालयले सरकारबाट स्वीकृत लिएका छैनन् ।  महँगा निजी विद्यालयले फारम वितरण गरी प्रवेश परीक्षाको तयारी सुरु गरिसकेका छन् ।

लालपुर्जा भएको नेपाली भूमि एकाएक भारतमा पारिएपछि त्यसको रक्षा गर्न कञ्चनपुरका बासिन्दा जुटेको अन्नपूर्ण  पोष्ट दैनिकमा समाचार छ। उनीहरूले सीमास्तम्भ संख्या ७८३ का ४ सहायक स्तम्भ भत्काइदिएका छन्। नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि बोहरासहितका नेता अनुगमनमा गएका बेला स्थानीयले सीमास्तम्भै भत्काएका हुन्। उक्त स्तम्भ नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले एक महिनाअघि मात्रै गाडेको थियो। ‘नेपालीहरूको लालपुर्जा र फिल्डबुक कायम भएको ५० बिघाभन्दा बढी जग्गा भारतमा गाभिएपछि आक्रोशित स्थानीयले सीमास्तम्भ भत्काएका हुन्’, सीमा सुरक्षा संघर्ष समितिका संयोजक गोपी उपाध्यायले भने। कैलालीको खक्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्म नयाँ सीमास्तम्भ निर्माण र मर्मत सीमा सर्भे टोलीले गरिरहेको छ। टोली यही वर्ष मात्रै कञ्चनपुरको बढी विवादित क्षेत्र बेलौरी आइपुगेको हो। बेलौरीमा दुई महिनादेखि जोर पिलर ९सीमास्तम्भ० भारतले र बिजोर पिलर नेपालले बनाइरहेका छन्। सीमा सर्भे टोलीका नेपाल प्रमुख सुदर्शन धामीका अनुसार स्थानीयले भत्काएको सीमास्तम्भ भारतीय टोलीले बनाएको हो। संघर्ष समितिका संयोजक उपाध्यायका अनुसार बेलौरी नगरपालिका–१० भुडाबाट बैवाहासम्म ४० नेपाली परिवारको लालपुर्जा भएको जग्गा भारतमा परेको छ। ‘वर्षौंदेखि सञ्चालनमा रहेको हरि चन्दको इँटाभट्टासमेत भारततर्फ परेको छ’, उनले भने।

भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले २ सय ३५ वटा सघन उपचार शैय्या (आइसियू बेड) बनाउन लागेको जानकारी दिएको नागरिक दैनिकमा समाचार छ। राष्ट्रियसभा बैठकमा आइतबार स्वास्थ्यमन्त्रीले सम्भावित जोखिमलाई ध्यान दिई उपत्यकाभित्र १ सय २० र उपत्यकाबाहिर १ सय १५ वटा शैय्या तयार पार्ने निर्णय भएको बताए। हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १ सय ७० वटा सघन उपचार शैय्या छन् भने सम्भावित कोरोना संक्रमितको उपचार गर्न १ सय ५५ वटा आइसोलेटेड शैय्या तयार पारिएका छन्। मन्त्री ढकालले कोरोना उपचारका लागि काठमाडौं उपत्यकामा तीनवटा अस्पताल छुट्याइएको बताए। कोरोना प्रवेश भइहाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा त्यसबाट संक्रमितको मात्र उपचार गर्ने व्यवस्था मिलाइने र वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोना संक्रमितको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी रहेको उनले बताए। राताेपाटिले बाट साभार

चर्चामा

सम्बन्धित समाचार