शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पर्यटन
  • नेपाल भ्रमण वर्ष स्थगित

नेपाल भ्रमण वर्ष स्थगित

  • सोमवार, फाल्गुन १९, २०७६
नेपाल भ्रमण वर्ष स्थगित

काठमाडौं – सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो।

स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय नभएको स्रोतको दाबी छ। ‘चीनको बुहानबाट फैलिएको कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि प्रभावित भएपछि जोखिम बढेको निष्कर्ष निकाल्दै भ्रमण वर्ष–२०२० स्थगित गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘जोखिम बढ्दै गएपछि अहिलेलाई भ्रमण वर्ष स्थगन गर्ने र सन् २०२२ मा आयोजना गर्ने विषयमा छलफल भएको छ।’

यसअघि शनिबार पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गरेको थियो।

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति गठन गरेको छ।

सभा–सम्मेलन नगर्न आग्रह
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेको भन्दै ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसर पारेर आइतबार मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ठूला सभा, सम्मेलन नगर्न आग्रह गरेका हुन्।

विश्वभरि कोरोना भाइरसको जोखिम बढिरहेका बेला मन्त्री ढकालले अन्तर्राष्ट्रिय हवाई उडान पनि रोक्ने विषयमा छलफल भइरहेको जानकारी दिए। छिमेकी देशमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालिएको भन्दै उनले भने, ‘हामीले पनि केही देशसँगको उडान तत्काल कटौती गर्ने विषयमा छलफल गरिरहेका छौं।’

सरकारले त्रिभुवन विमानस्थलको स्वास्थ्य सहायता कक्षमा थप जनशक्ति र ज्वरो नाप्ने मेसिन राख्ने जानकारी पनि उनले दिए। ‘थप जनशक्ति र ६ वटा मेसिन राखेर कोरोना संक्रमण देखिएका देशबाट आउने सबै यात्रुको जाँच गरिनेछ,’ ढकालले भने, ‘मन्त्रालयले चीनसँग व्यापारिक कारोबार हुने प्रमुख नाका तातोपानी र रसुवागढीामा पनि चिकित्सक खटाएको छ।’

कोरोना संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरिरहेको जानकारी दिंदै मन्त्री ढकालले भने, ‘पहिलो चरणको तयारी अनुसार आवश्यक सावधानी अपनाउने र नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्यजाँचको व्यवस्था गरिसकिएको छ। संक्रमित नेपालीलाई राख्न अस्पतालमा आवश्यक बेडको व्यवस्था गरिएको जानकारी पनि उनले दिए।

राजदूत पौडेललाई फिर्ता बोलाइयो
मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ। पौडललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले उनको ठाउँमा पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउने निर्णय गरेको स्रोतको दाबी छ। पौडेल कात्तिक २०७३ देखि चीनका लागि नेपाली राजदूत थिए।

चर्चामा

सम्बन्धित समाचार