बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • चेक बाउन्स प्रकरणमा मोडल खुस्बु ओलीलाई २ वर्ष कैद

चेक बाउन्स प्रकरणमा मोडल खुस्बु ओलीलाई २ वर्ष कैद

  • आइतवार, फाल्गुन १८, २०७६
चेक बाउन्स प्रकरणमा मोडल खुस्बु ओलीलाई २ वर्ष कैद

मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले २ वर्ष कैदको फैसला सुनाएको छ। लेनदेन विवादमा रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो ।

सप्तरीको राजविराज-८ का ४३ वर्षीय गोपाल कटुवाल र मोडल खुस्बु ओलीबीच एकताका राम्रै सम्बन्ध थियो।

बेला–बेलामा उनीहरुबीच रकम लेनदेनसमेत हुने गरेको थियो। सोही क्रममा झन्डै २ वर्षअघि ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम अपुग भएको भन्दै ३६ लाख रुपैयाँ सापट मागिन् ।

ओलीले उक्त रकमको सावाँ–ब्याजसहित फिर्ता गर्ने बाचा कटुवाललाई गरेकी थिइन्। कटुवालले आफूले दिएको सापट रकम मागेपछि ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिइन्।

खुस्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत् उनले ३६ लाख रुपैयाँको चेक काटेकी थिइन्। उक्त चेक २०१७ जनवरी ३ तारिखमा काटेको देखिन्छ। त्यसको दुई दिनपछि कटुवाल चेक साट्न कुमारी बैंक पुगेका थिए। तर, बैंकले रकम नभएको भन्दै उनलाई फर्काइदियो।

कटुवालले जिल्ला अदालत काठमाडौंमा पेस गरेको मुद्दामा उल्लेख थियो– ‘रकम नभएको जानकारी पाएपछि मैले ओलीलाई यसबारे जानकारी गराएको थिएँ। उनले केही समयपछि पैसा जम्मा गरिदिन्छु भनेकी थिइन्। तर, पछि पनि पैसा जम्मा भएन।’

पछि पटक–पटक फोन गरेर पैसा जम्मा गर्नभन्दा पनि ओलीले रकम जम्मा नगरेपछि कटुवाल २०१७ जनवरी १९ तारिखमा पुनः चेक साट्न बैंक पुगे।तीन पटकसम्म पनि खातामा पर्याप्त रकम नभएपछि चेक बाउन्स भयो।

चेक बाउन्स भएको बारेमा समेत आफूले ओलीलाई जानकारी गराएको कटुवालले बताएका छन्। तर, ओलीले भने उजुरी नगर्नु रकम दिऊँला भन्दै आश्वासन दिइरहिन्। लामो समयसम्म पनि आफ्नो ३६ लाख नपाएपछि गत वर्ष साउनमा कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक अनादर मुद्दा दायर गरेका थिए।

सोही मुद्दामाथि अदालतले गत जेठ ७ गते फैसला गर्दै ३ महिना कैदको फैसला सुनाएको थियो। फैसला अनुसार ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाइएको छ भने ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने अदालतको ठहर थियो।

तर अदातलको उक्त फैसला कार्यान्वयन नभएपछि जेठ १६ गते कटुवालले पुन फैसला कार्यान्वयन गरी पाउँ भन्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दायर गरेका थिए।

त्यसपछि साउन १३ गते जिल्ला अदालतले म्याद तामेल गरी सम्बन्धीत वडामा पठाएको थियो । उक्त सूचना वडा कार्यालयको सूचना पाटीमा समेत टाँस गरिएको थियो। त्यसपछि पनि ओली सम्पर्कमा नआएपछि वडासचिवमार्फत् उनकै घरमा म्याद तामेली टाँस गरिएको थियो।

अहिलेसम्म पनि प्रतिवादी ओलीको जायजेथा प्राप्त गर्न नसेको र उनी सम्पर्कमा समेत नआएको भन्दै वादी कटुवालले जरिवाना र बिगो बमोजिम कैद राखिपाउँ भन्दै गत पुस २८ गते जिल्ला अदालतमा पुन निवेदन दर्ता गराएका थिए।

उक्त मुद्दाको फैसला गर्दै ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो।

चर्चामा

सम्बन्धित समाचार