बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • शिक्षा
  • देशभर अझै ५६ हजार शिक्षक अपुग, विज्ञापन गर्ने आयोगको तयारी

देशभर अझै ५६ हजार शिक्षक अपुग, विज्ञापन गर्ने आयोगको तयारी

  • मङ्लबार, माघ २१, २०७६
देशभर अझै ५६ हजार शिक्षक अपुग, विज्ञापन गर्ने आयोगको तयारी

काठमाडौं — देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव देखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण काम शुरू गरेको जनाए तापनि अपुग रहेको शिक्षकको बारेमा के गर्ने भन्ने विषय निर्णय गर्न सकेको छैन।

तथ्यांकअनुसार सबैभन्दा बढी मावि तहमा शिक्षकको अभाव देखिएको छ। मावि तहमा १९ हजार १ सय १ जना शिक्षक अपुग छन्। त्यस्तै निमावि तहमा १८ हजार १ सय ४० र प्राविमा १६ हजार ६ सय २१ तथा उच्च माविमा २ हजार ४ सय २० शिक्षक अपुग रहेको बताइएको छ।

पूर्वसचिव महाश्रम शर्माको कार्यदलले देशैभर तहगतरूपमा अपुग भएको शिक्षकको संख्या उल्लेख गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो। सोही आधारमा शिक्षा विकास तथा मावन स्रोत विकास केन्द्रले अपुग शिक्षकको तथ्याङ्क निकालेको हो।

मन्त्रालयले दरबन्दी पुनर्वितरण कार्यविधि–२०७६ पास भएसँंगै मन्त्रालय शिक्षक पुनर्वितरण गरिसकेपछि अपुग शिक्षकको विषयमा छलफल गर्ने र शिक्षक सेवा आयोग स्थायी शिक्षकको आवेदन खुला गर्ने तयारी गरेको छ। केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले पुनर्वितरण प्रक्रिया सकेपछि स्थानीय तहको सहयोगमा आवश्यक पर्ने शिक्षक व्यवस्थापन गर्ने गरी तयारी भएको जानकारी दिए ।

हाल केन्द्रले अपुग शिक्षक व्यवस्थापन गर्न प्रावि तहका विद्यालयलाई १०–१० लाख रुपियाँ उपलब्ध गराएको छ। सोही बजेटभित्र रहेर प्रावि तहको विद्यालयले केही शिक्षक व्यवस्थापन गरिरहेको केन्द्रले जनाएको छ। शिक्षक थप गर्दा अपुग रकम व्यवस्थापन गर्ने विषयमा अर्थ मन्त्रालयलसँग छलफल भइरहेको जानकारी गराउँदै उपमहानिर्देशक श्रेष्ठले आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन भएपछि समस्या समाधान हुने दाबी गरे । ‘केन्द्रले शैक्षिकसत्र विसं २०७७ सँगै सबै तहमा शिक्षक पुनर्वितरण हुने गरी काम शुरू गरिसकेको छ। नयाँ शैक्षिकसत्रसँगै १२ हजार ८ सय २७ शिक्षकको दरबन्दी पुनर्वितरण हुनेछ।’ –उनले भने ।

एकातिर शिक्षक अपुग छन् भने केही जिल्लामा बढी दरबन्दी पनि छ। पछिल्लो तथ्याङ्कअनुसार प्रदेश १ को तेह्रथुममा ३९, प्रदेश ३ को ललितपुरमा १ सय ४४, भक्तपुरमा १ सय ६० र काठमाडौंमा ८ सय २७ गरी १ हजार १ सय ३१ दरबन्दी बढी छ।

त्यस्तै गण्डकी प्रदेशमा १ हजार ६७, कर्णालीको डोल्पा र जाजरकोटमा १२–१२ शिक्षक दरबन्दी बढी छ।मन्त्रालयले शिक्षक बढी भएका १५ जिल्लाका शिक्षकलाई अन्य जिल्लामा मिलान गर्ने तयारी गरिरहेको छ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार