बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • प्रचण्ड भन्छन्, ‘कार्यकारी नहुँदा डेढ वर्ष असहज महसुस भयो’

प्रचण्ड भन्छन्, ‘कार्यकारी नहुँदा डेढ वर्ष असहज महसुस भयो’

विप्लवको बिजोग – कार्यदिशामै अलमल, पार्टी छिन्नभिन्न

  • आइतवार, मंसिर ८, २०७६
प्रचण्ड भन्छन्, ‘कार्यकारी नहुँदा डेढ वर्ष असहज महसुस भयो’

काठमाडौँ । आज मंसिर ८ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुले कास्की–२ मा हुन गइरहेको उपनिर्वाचनको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यस्तै, नेत्र विक्रम चन्द ‘विप्लव’ को प्रतिबन्धित पार्टीको अवस्थाको बारेमा पनि आज समाचारहरु प्रकाशित छन् ।

विप्लवको कार्यदिशामै अलमल, पार्टी छिन्नभिन्न

पुनर्गठनको छैटौँ वर्षगाँठ मनाइरहँदासम्म विप्लवले पार्टीको राजनीतिक कार्यदिशाका विषयमा आफ्नै पार्टीका नेताहरुलाइ समेत विश्वस्त बनाउन सकिरहेको नदेखिएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ । कतिपय सन्दर्भमा पार्टी नेताहरु स्वयम् पनि कार्यदिशामा अलमलिइरहेका देखिन्छन् । खासगरी एकीकृत जनक्रान्तिको फौजी कार्यदिशाको बुझाइमा नेताबीच नै अन्यौल छ । दीर्घकालीन छापामार युद्ध कि मध्यम वर्गलाई पनि साथमा लिएर सशस्त्र जनविद्रोह भन्नेमा मतऐक्यता छैन । कतिपय नेताले पछिल्लो पटक कार्यदिशामै अलमल देखिएको भन्दै पार्टीसमेत छाडेका छन् ।

कान्तिपुर दैनिकमा धमाधम पक्राउ पर्न थालेपछि चन्द समूहका कतिपय नेता–कार्यकर्ता अर्को राजनीतिक दलमा प्रवेश गरिरहेको समाचार प्रकाशित छ । प्रहरीको तथ्याङ्क अनुसार ०७५ साल फागुन २८ गते प्रतिबन्ध लागेपछिको ८ महिनामा केन्द्रदेखि जिल्ला स्तरीय पदाधिकारी तहका ७२ सहित १ हजार १ सय ५० नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले पार्टीका महासचिव चन्दसहित ५ सय १९ जनाको नाम फरार सूचीमा राखेको छ । हिंसात्मक गतिविधिमा लागेको आरोपमा चन्द समूहका नेता कार्यकर्ताविरुद्ध देशभरका अदालतमा १ हजार ८८ वटा मुद्दा दर्ता छन् । पक्राउ परेका मध्ये ६१ जना सोधपुछपछि छुटेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । ८ सय ३४ जनालाई अदालतले धरौटी र साधारण तारेखमा छाडेको छ । १ सय ३७ जना पुर्पक्षका लागि कारागारमा र ८८ जना अनुन्धानको क्रममा प्रहरी हिरासतमा छन् ।

‘डेढ वर्ष असहज महसुस भयो’

नेपाल कम्युनिस्ट पार्टी नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले गरेको पछिल्लो निर्णयले दुवै अध्यक्षलाई कार्यकारी भएको फिलिङ आएको बताएका छन् । कान्तिपुर दैनिकलाई दिएको अन्तरवार्तामा प्रचण्डले भनेका छन्,

गएको डेढ वर्षमा मचाहिँ कार्यकारीजस्तो थिइनाँ । मलाई ‘फिल’ पनि कार्यकारीजस्तो भएन । मलाई असहज जस्तो भएको थियो । अब चाहिँ सहज भयो । दुवै अध्यक्षलाई आफू कार्यकारी भएको फिलिङ आयो । अब मैले पार्टी बैठकको अध्यक्षता गर्छु, देशभरिको पार्टी संगठन सञ्चालन गर्छु । त्यो गर्दाखेरि कमरेड केपी ओलीको सहमति लिन्छु नै । हिजो उहाँ हुँदा पनि मेरो सहमतिबिना त गर्न मिल्दैनथ्यो ।

नयाँ पत्रिका दैनिकले सीमा विवादबारे भारतलाई नेपालले पुस पहिलो सातासम्म वार्ता गर्ने प्रस्ताव पठाएको समाचार छ । भारतले नेपालको कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई सातापछि सरकारले पुस पहिलो सातासम्म वार्ताका लागि भारतलाई पत्र पठाएको छ । यसै साता पठाएको पत्रमा नेपालले भारतबाट कालापानी समेटेर एकतर्फी सार्वजनिक गरिएको नक्साप्रति असहमति राख्दै वार्ताको मिति प्रस्ताव गरेको छ । तर, भारतले जवाफ पठाएको छैन । ‘पुस पहिलो सातासम्म परराष्ट्र सचिवस्तरीय वार्ताका लागि औपचारिक प्रस्तावसहितको कूटनीतिक पत्राचार गरेका छौँ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘पुस पहिलो साताको मिति र वार्तास्थल काठमाडौंसमेत प्रस्ताव गरेर पठाएका छौँ ।’

बिहीबार नारायणहिटीमा आयोजित एक कार्यक्रमपछि पत्रकारमाझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भारतसँग वार्ताको प्रयास भइरहेको बताएका थिए । परराष्ट्रसचिव शंकरदास बैरागीले पनि वार्ताको प्रस्ताव गरेको र समन्वय गरिरहेको बताए ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले वार्तामा बस्न भारत तयार रहेको प्रतिक्रिया दिइसकेका छन् । दुई देशबीच सुस्ता र कालापानीका सम्बन्धमा विवाद समाधान गर्न परराष्ट्रसचिवस्तरीय संयन्त्र तोकिएको छ ।

पत्रिकामा आन्दोलन दबाउन प्रहरीले नै  चितवन मेडिकल कलेजभित्र पिस्तोल राखेको विद्यार्थीको दाबी रहेको समाचार पनि प्रकाशित छ । सरकारले तोकेभन्दा बढी शुल्क उठाउने कलेजविरुद्ध विद्यार्थी आन्दोलन चलिरहेका वेला चितवन मेडिकल कलेजमा पिस्तोल भेटिएको छ । न्यायको आवाज दबाउन अनेक उपाय लगाएको कलेजले प्रहरीसँग मिलेर पिस्तोल राखेको विद्यार्थीको आशंका छ । प्रमुख जिल्ला अधिकारीको रोहबरमा ४ असोजमा बसेको सर्वपक्षीय बैठकमा कलेजले १८ कात्तिकभित्र रकम फिर्ता वा समायोजन गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेपछि विद्यार्थीले आइतबार विरोध र्‍याली निकाल्ने तयारी गरेका थिए । मूल मुद्दा विकेन्द्रित गर्दै आन्दोलन दबाउने र आफूहरूलाई फसाउने मनसायले गम्भीर षड्यन्त्रमा पिस्तोल राखिएको उनीहरूको भनाइ छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले नीलो झोलामा पिस्तोलसहितका सामग्री कलेजको होस्टेलअगाडि चौरमा भेटिएको बताएका छन् । सूचनाका आधारमा आफूहरू कलेज पुगेर ‘मेड इन युएसए’ लेखिएको १११७ पेस्तोल एक थान, वाइको म्यागजिन एक थान, वाइको गोली दुई थान, थ्री नट थ्री राइफलमा लाग्ने गोली एक थान, थ्री नट थ्रीको फायर भएको खोका एक थान र एसआरआर राइफलमा लाग्ने फायर खोका ६ थानसहित रेसमी विद्युतीय तार बरामद गरेको उनले बताए । प्रहरीले कलेजका चार गार्डलाई नियन्त्रणमा लिएको छ ।

विलासी र निष्क्रिय जीवन यापन गरिरहेका सहरियालाई नसर्ने रोगको जोखिम बढेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। सन्तुलित भोजन र व्यायाम नगर्ने तर सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन गर्ने व्यक्तिलाई उच्च रक्तचाप, हृदयाघात, क्यान्सर, फ्याटी लिभर, मधुमेह, दम र मिर्गौलाको समस्या देखिएको चिकित्सकहरू बताउँछन्। दाहिने कोखमा असाध्यै दुखेपछि यमनारायण शर्मा जँचाउन गए। अल्ट्रासाउन्ड गर्दा कलेजोमा बोसो जमेको देखियो। चिकित्सकले सोधे, ‘मदिरा सेवन गर्नुहुन्छ रु अब खानपान र व्यायाममा ध्यान दिनुस्।’

४६ वर्षीय शर्मा अचेल मर्निङवाक जान थालेका छन्। उनले भने, ‘कलेजोमा बोसो (फ्याटी लिभर) को समस्या देखियो। व्यायाम नगरी सुखै पाइएन।’ वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा। अखिलेशकुमार कश्यपका अनुसार बसाइँ सरेर आउने र जागिरे जीवन बिताइरहेका सहरियाको कलेजो बिग्रन थालेको छ। घरबाहिर खानपान गर्ने र मदिरा सेवन गर्ने व्यक्तिमा कलेजोको समस्या देखिएको डा। कश्यप बताउँछन्।

वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा। मदनकुमार पियाका अनुसार कलिलै उमेरमा क्यान्सर लागेका बिरामी अस्पताल धाउन थालेका छन्। सडकको धुलो, सवारीसाधन, इँटाभट्टाबाट निस्केको धुवाँलगायतले सहरमा प्रदूषण बढेको छ। सानै उमेरमा धूमपान एवं मदिराको कुलतमा लाग्दा अधबैंसे अवस्थामै फोक्सोमा क्यान्सर लागेका बिरामीको संख्या बढेको डा। पिया बताउँछन्।

नेपालमा बर्सेनि तीन हजारको मिर्गौला फेल हुने गरेको छ। खानपान र जीवनशैलीकै कारण मिर्गौलामा समस्या आउने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्ले बताउँछन्। मिर्गौला रोगको लक्षण देखिँदैन। त्यसले यस्ता रोगीको संख्या बढिरहेका छन्। ३० वर्ष नाघेपछि नियमित स्वास्थ्य जाँच गर्नुपर्नेमा धेरैजनाले बेवास्ता गरिरहेको डा। काफ्लेको भनाइ छ। पानी पर्याप्त नपिउने, रातो मासु खाने र व्यायाम नगर्ने बानीले रोग बढाउँछ।

नागरिक दैनिकमा सत्यनिरुपण र बेपत्ता आयोगको पदाधिकारी सिफारिसमा राजनीतिक हस्तक्षेप भएको समाचार छ । राष्ट्रिय मानवअधिकार आयोगले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगमा पदाधिकारी सिफारिस समितिलाई स्वतन्त्र र पारदर्शी ढङ्गले काम गर्न नदिइएको भन्दै समितिमा आयोगका तर्फबाट रहेका प्रतिनिधि फिर्ता बोलाउने तयारी गरेको छ । राजनीतिक हस्तषेपका कारण समितिलाई स्वतन्त्र रुपमा काम गर्न बाधा पुगेको समाचार सार्वजनिक हुँदै आएका छन् ।

पत्रिकामा टीकापुर नगरपालिका–७ सत्तीस्थित शिवालयका नाममा कुनै बेला रहेको सातसय विघा जमिन हराएको समाचार छ । तर अहिले उक्त शिवालयका नाममा आठ कठ्ठा १४ धुर मात्रै छ । दुई कठ्ठा १० धुर शिवालय भएको क्षेत्र हो भने ६ कट्ठा चार धुर दानबापत प्राप्त भएको हो ।

चर्चामा

सम्बन्धित समाचार