शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पर्यटन
  • ‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी सक्रिय

‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी सक्रिय

  • शुक्रबार, अशोज २४, २०७६
‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी सक्रिय

कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र सङ्घ संस्था सक्रिय छन् । आध्यात्मिक र असाधारण तपस्वीका रुपमा चिनिने खप्तड बाबाले सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भू–स्वर्ग’को उपनाम दिएर संसारभर प्रचार गर्नुभएको थियो ।

डोटी जिल्लाको खप्तडमा ५० वर्ष बिताउनुभएका खप्तडबाबा आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिनुहुन्छ । सन् १८८० मा भारतको काश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिनु भएका खप्डतबाबा विसं १९८६ मा नेपाल आउनुभएको थियो । सन्न्याश लिनु पूर्व उहाँ प्रतिभावान् डाक्टर पनि हुनुहुन्थ्यो । उहाँले कलकत्तास्थित ट्रपिकल मेडिकल कलेजबाट एम बी बी एस र बेलायतबाट सर्जनको अध्ययन पूरा गर्नुभएको थियो ।

त्यस्तै, काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन अध्यापन पछि गहन साधनाका लागि उहाँले नेपालको खप्तड लेक रोज्नु भएको थियो । उहाँका धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्य लगायतका झण्डै डेढ दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । प्रकाशनमा आउन बाँकी उहाँकै हस्तलिखित अरु थुपै कृतिहरू पनि विभिन्न ठाउँमा बनाइएका मन्दिरहरूमा रहेका छन् । खप्तडबाबाको विसं २०५३ जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको थियो । खप्तड बाबाले भने झै खप्तड भू–स्वर्ग भन्दा कम नभएको यहाँका स्थानियबासीको दाबी छ । खप्तड क्षेत्रमा पर्यटकहरु भित्र्याउन अहिले सुदूरपश्चिमेलीहरु रातदिन खटिरहेका छन् । गलैँचा बिच्छाए झै विशाल हरिया फा“टहरु, मनै लोभ्याउने रंगीचंगी फूल, आश्चर्य लाग्ने यहा“को मौसम शायदै पृथ्वीका कुनै कुनामा होलान् । बाइस पाटन ५२ झोती भएको नेपालको एकमात्र राष्ट्रिय निकुञ्ज पनि हो खप्तड क्षेत्र । हिउँद, वर्षा, गर्मी मौसममा भिन्न रुपमा प्रस्तुत हुने खप्तड धेरैका लागि नपुगी नहुने गन्तव्य पनि भएको स्थानीयवासी तथा पूर्व डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो – “सुदूरपश्चिम आउने पर्यटकहरुका लागि खप्तड नपुगी नहुने ठाउँ हो । खप्तड पुग्दा मनका अशान्ति सबै हराउने छन् ।”

चार रैथानेसहित १३५ प्रजातिका फूल खप्तडमा नियाल्न सकिन्छ । यहाँ २२४ प्रजातिका जडीबुटी, ५३७ प्रजातिका वनस्पति, २७० जातका चराचुरुङ्गी भेटिन्छ । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहीँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकैनासको हुने विशेषता रहेको १५० मिटर लामो र ५० मिटर चौडा रहेको दह पनि रहेको छ । सहस्रलिङ्ग, नागढुङ्गा, ताल, दुर्लभ बझाङ्गी भ्यागुता खप्तडले पाएका भिन्नै उपहार पनि हुन् । प्रकृतिले त खप्तड धनी छ नै । धार्मिक रुपले पनि खप्तड क्षेत्र त्यतिकै प्रसिद्ध रहेको पूर्वीचौकी गाउँपालिकाका काँग्रेस नेता रामप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो – “खप्तड क्षेत्र जति प्राकृतिक रुपमा धनी छ, त्यत्ति नै धार्मिक रुपमा पनि धनी छ । खप्तड पुगे घर फिर्ता हुन मन लाग्दैन ।” खप्तडको त्रिवेणी मन्दिर धार्मिक रुपले अत्यन्त महत्वपूर्ण मानिन्छ । गंगा दशहराका दिन पुजिने त्रिवेणी मन्दिरमा दर्शनार्थीहरुको ओइरो लाग्ने गर्छ । त्यो सँगै खप्तड बाबाको कुटीको पनि विशेष महत्व छ । समुद्री सतहदेखि करीब दुई हजार ७०० देखि ३ हजार २२७ मिटरसम्मको उचाइमा अवस्थित खप्तड २२५ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ । कहिले हिउँभित्र लुक्ने त कहिले रंगीचङ्गी फूलहरुसँग जिस्कने खप्तड धेरैका लागि अध्ययनको विषयवस्तु पनि भएको डोटीका नेकपाका नेता तथा सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले बताउनुभयो । गंगा दशहराको बेला खप्तडको त्रिवेणीमा भव्य मेला लाग्ने गर्छ ।

पर्यटकीय दृष्टिले खप्तड अत्यन्त उर्बर क्षेत्र भएको स्थानियवासीको दाबी छ । यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने खप्तडको सिमाना जोडिएका बझाङ्ग, अछाम, बाजुरा र डोटी जिल्लाको आर्थिक गतिविधि बढ्ने खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका पूर्व अध्यक्ष लालबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो – “खप्तड क्षेत्रमा पर्यटक मात्रै भित्र्याउन सके यहाँका चार पहाडी जिल्लाको विकास उल्लेख्य मात्रामा हुने देखिन्छ । अरु भन्दा खप्तडको विकास गर्न सके राम्रो ।” खप्तड क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटक सँगै अनुसन्धानकर्ताका लागि समेत उपयुक्त भएकाले वातावरण बनाउन सके खप्तडमा पर्यटकको ओइरो लाग्ने खप्तड पर्यटन विकास समितिका पूर्वअध्यक्ष पूर्णराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो – “खप्तडमा पर्यटन प्रवद्र्धन गर्न सकिए अर्बौ रुपैयाँको कारोबार हुनेछ ।” पर्यटन बाहेक खप्तडको जडीबुटी र वनस्पति पनि अरु आयस्रोत हुन् । जङ्गली विषदेखि संजीवनी बुटीसम्म खप्तडमा रहेकाले त्यसको सही सदुपयोग हुन जरुरी रहेको खप्तड क्षेत्रमा आउनुभएका अनुसन्धानकर्ता नारायण रुपाखेती बताउनुभयो ।

खप्तड राष्ट्रिय निकुञ्जमा वार्डेनका रुपमा समेत काम गरिसक्नु भएका रुपाखेतीले खप्तडको जडीबुटीको मात्र सदुपयोग गर्ने हो भने सिङ्गो सुदूरपश्चिम धान्न सक्ने आर्थिक लाभ हुने दाबी गर्नुभयो ।

खप्तडको प्रचारप्रसार र पर्यटन विकासका लागि विसं २०६३ सालमा खप्तड पर्यटन विकास समितिको गठन भयो । त्यसयता झण्डै २२ करोड रुपैयाँ विकास समितिमा आइसकेको छ तर, अहिलेसम्म पर्यटकलाई खाने बस्ने समेत खासै व्यवस्था खप्तडमा हुन सकेको छैन । खप्तडको बिचपानी र पाटनमा दुई वटा पाहुना घर बनाइएको भए पनि ती बस्न लायक नभएको हालै खप्तड पुगेर फर्किनु भएका सञ्चारकर्मी मोहन शाहीले बताउनुभयो । हरेक समिति र त्यहाँका कर्मचारी वर्षेनी आर्थिक अनियमितताको आरोपमा मुछिँदै आएका छन् । खप्तड मध्यवर्ती क्षेत्र विसं २०६१ सालमा गठन भएको हो । यस अन्र्तगत चार जिल्लाका २१ गाविस रहेका थिए । त्यसका तत्कालीन संस्थापक अध्यक्ष लालबहादुर बोगटी खप्तडका कारण यस क्षेत्रको विकासमा भन्दा समस्यामा बढी अल्झिनुपरेको दुःखेसो गर्नुहुन्छ । त्यस्तै निकुञ्जले गरेको आम्दानीमध्ये ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि खर्च गर्नु पर्ने प्रावधान छ तर, निकुञ्जको आम्दानी पुग्दो छैन ।

निकुञ्जका वार्डेन लालबहादुर भण्डारीले भन्नुभयो – “पर्यटकबाट केही आम्दानी हुन्थ्यो, त्यो पटक्कै छैन । अरु आयस्रोत अहिले निकुञ्जसँग छैन ।” निकुञ्जबाट आएका वन्यजन्तुले अन्नपात खाइदिने, मान्छेमाथि आक्रमण गर्ने गरेकाले मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा बढी निरास छन् । निकुञ्ज भएकाले आफ्ना वस्तुभाउको चरिचरन गर्न पनि समस्या भएको स्थानियवासी बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार