बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • पर्यटन
  • हवाई सेवा अवरुद्ध हुँदा पर्यटक अलपत्र

हवाई सेवा अवरुद्ध हुँदा पर्यटक अलपत्र

  • बुधबार, अशोज १, २०७६
हवाई सेवा अवरुद्ध हुँदा पर्यटक अलपत्र

सोलुखुम्बु, — सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तीन दिनदेखि लगातार मौसममा आएको खराबीका कारण उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका छन् । पर्यटकीय सिजन सुरु भएका बेला दैनिकजसो दुई दर्जन बढी उडान हुने लुक्लामा मौसम खराबीका कारण सबै उडान अवरुद्ध भएपछि पर्यटकको आवत–जावतमा समस्या परेको छ ।
शनिबार २५ वटा उडान रहेकोमा पाँचवटा उडान मात्र भएको र सोमबार र मङ्गलबार कुनै पनि उडान नभएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका हवाई उडान अधिकृत अरुण कर्णले जानकारी दिनुभयो । हवाई उडान अवरुद्ध भएपछि लुक्ला र काठमाडौँबाट आउने र जाने दुवैतिरका यात्रु अलपत्र
बनेका हुन् ।
पर्यटकीय सिजन सुरु भएसँगै लुक्लामा दैनिक २५ भन्दा बढी उडान तय भएकोमा मौसममा सुधार नआउँदा उडान ठप्प भएको छ भने लुक्ला नजिक रहेको सुर्केबाट केही हेलिकोप्टरले उडान गरेको अधिकृत कर्णले बताउनुभयो । यात्रुहरू मौसममा सुधार आउला र यात्रा गर्न पाइएला भनेर विमान कुरेर बसिरहेको उहाँले बताउनुभयो ।
पर्यटकीय सिजनको सुरुमा नै मौसमले साथ नदिँदा समस्या उत्पन्न भएको छ । लगातार बाक्लो कुहिरो र वर्षाका कारण सीता एयर, समिट र तारा एयरलाइन्सका नियमित तथा निर्धारण नगरिएका (नन–सेड्युल) उडान हुन नसकेका हुन् । बाक्लो कुहिरोका कारण भीजीबीलीटी अत्यन्त न्यून रहेकाले हवाइजहाज तथा हेलिकोप्टर कुनै पनि उडान तथा अवतरण हुन नसकेको हो । विमानस्थल वरपरको भीजीबीलीटी ५० मिटरभन्दा तल रहेको छ, जसलाई उडान क्षेत्रमा शून्य मानिन्छ ।
त्यस्तै, सदरमुकामको फाप्लु विमानस्थलमा पनि तीन दिनदेखि कुनै उडान नभएको नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो । फाप्लुमा पनि तारा, सीता र समिट एयरले उडान गर्ने गरेका छन् । उडान अवरुद्ध हुँदा कतिपय यात्रु उडानको पर्खाइमा रहेका छन् भने कतिपयले सडक मार्गबाट गन्तव्य तय गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार