शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • पर्यटन
  • पर्यटन प्रवर्द्धननिम्ति साइकल

पर्यटन प्रवर्द्धननिम्ति साइकल

  • मङ्लबार, जेष्ठ ७, २०७६
पर्यटन प्रवर्द्धननिम्ति साइकल

इलाम — कुहिरो र घामको लुकामारीसँगै रोङ गाउँपालिकाको कुटिडाँडाबाट फरक शैलीको यात्रा सुरु भयो । तराईमा गर्मीले उखुम बनाएका बेला केही माथिको शीतल वातावरणमा लस्करै साइकल लिएर हिँड्नेहरू देख्दा स्थानीयले अनौठो माने । इलामको नागबेली सडकमा धूँवाको मुस्लो फाल्दै हिँड्ने लावालस्कर मोटरसाइकलदेखि भारी क्षमताका ट्रकबस देखेका स्थानीयका लागि यो नौलो दृश्य थियो । करिब १ सयको हाराहारीमा पाइडल मार्दै निस्किएको साइकलवालाको ताँती गज्जब देखियो ।

कन्याम, फिक्कल र करफोकको सल्लाघारी छिचोल्दै इलाम बजार भित्रिँदा उनीहरूको थकान भुलाउन बाक्लो संख्यामा इलाम चोकबजारमा स्थानीय थिए ।

‘साइकल चलाउ स्वास्थ्य बनौं’ भन्ने नाराका साथ शनिबार कुटिडाँडाबाट ५५ किलोमिटर लामो साइकल यात्रा गरिएको हो । विभिन्न पेसा र उमेर समूहकाले इलामको कुटिडाँडाबाट बिहान ८ बजे सुरु गरेको साइकल यात्रा साँझ इलाम आइपुग्यो ।

विभिन्न घुम्ती र गोलाई पार गर्दै आएका साइकल यात्रीले ऐतिहासिक इलाम चियाबारीको फेरो लगाउन भ्याएका थिए । देशभरबाट जुटेका साइकल प्रेमी यो यात्रामा सहभागी छन् ।

आइतबार इलामबाट झापा झर्ने छोटो दूरीको भन्ज्याङ, बेलासे दानाबारी हुँदै यो टोली झापाको बिर्तामोड झर्नेछ । ‘प्रदूषणमुक्त समाजको निर्माणका लागि स्वत: स्फूर्तरूपमा यो यात्रा तय भएको हो,’ अभियानका अगुवा झापा अर्जुनधाराका योगेन्द्र थापाले भने ।

‘इलामका महŒवपूर्ण पर्यटकीय स्थललाई जोड्नका लागि पनि यो यात्रा सफल हुने ठानेर सहाभागी भएको हुँ,’ रोङ गाउँपालिकास्थित सलकपुरका सुवास तामाङले भने । साइकल यात्रीलाई मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, इलाम उद्योग वाणिज्य संघ, नगर पर्यटन विकास समितिलगायतले स्वागत गरे ।

इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले भने, ‘पहाडी क्षेत्रको रमणीयतमा रम्दै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हुने क्रियाकलापमा हामी निरन्तर सहभागी रहन्छौं ।’

यो टोलीले इलामबाट तराई झर्ने द्रुत मार्गका रूपमा लिएको सडक पार गर्नेछ ।

यसले त्यस क्षेत्रका सम्भावना र आवश्यकतालाई अगाडि ल्याउन सकिने स्थानीयको अपेक्षा छ । ‘यस क्षेत्रका हरेक महत्वपूर्ण वस्तुलाई पर्यटकीय हिसाबले उजागर गर्न पनि यो यात्रा गरिएको हो,’ सहभागी बुद्ध तामाङले भने ।

चर्चामा

सम्बन्धित समाचार