सोमवार, फाल्गुन १४, २०८०
  • होमपेज
  • अन्तरवार्ता
  • मेरो पुस्तकले तेस्रोलिंगीप्रतिको धारणा परिवर्तन गर्छ

मेरो पुस्तकले तेस्रोलिंगीप्रतिको धारणा परिवर्तन गर्छ

  • आइतवार, फाल्गुन १९, २०७५
मेरो पुस्तकले तेस्रोलिंगीप्रतिको धारणा परिवर्तन गर्छ
प्रकाश गुरागाईं

तेस्रोलिंगीको अधिकारको पक्षमा संघर्ष गरिरहेकी भूमिका श्रेष्ठ आफैँ पनि तेस्रोलिंगी हुन् । उनी यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ नेपालको उपाध्यक्ष छिन् । कांग्रेस महासमिति सदस्य पनि हुन् । दुईवटा चलचित्रमा अभिनयसमेत गरिसकेकी उनले हालै मात्र आत्मकथा ‘भूमिका’ बजारमा ल्याएकी छिन् । उनको पुस्तकको सेरोफेरोमा रहेर नयाँ पत्रिकाका प्रकाश गुरागाईंले संवाद गरेका छन् ।

प्रकाशकले नै लोभ र दबाब दिएर आत्मकथा लेखाउँछन् भन्ने छ । तपाईं आफैँलाई लेख्नुपर्छ भनेर लेख्नुभयो कि कसैले लेखाएको हो ?

आत्मकथा धेरै निस्किनु स्वाभाविकै होजस्तो लाग्छ । मैले पढिरहेकै छु । ती आत्मकथा कि महिलाका छन् कि पुरुषका । हाम्रो समाजमा महिला र पुरुषबाहेक अर्को समुदाय पनि छ भनेर धेरैले स्विकार्नै नचाहेको अवस्था छ । तेस्रोलिंगीको अधिकारको कुरा गर्दा हाम्रो आवाज सशक्त रूपमा बाहिर आउन सकेको छैन । हाम्रो आवाज आउनुपर्छ भन्ने थियो, तर, कसैले लेख्नुभएको थिएन । मैले त्यसको सुरुवात गरेको हुँ । यसमा कसैको दबाब छैन । यो हाम्रो समाजभित्रको पृथक कथा हो । बाहिर ल्याउन जरुरी थियो र लेखियो । ताकि हाम्रो संघर्ष सबैले थाहा पाऊन् । हामीले कस्तो अधिकार खोजेको हो भन्ने पनि बुझून् ।

समाजले नै तेस्रो लिंगीहरूलाई नबुझेको भनेर कसरी भन्नुहुन्छ ?
कतिपय मान्छेहरू अहिले पनि तेस्रोलिंगीलाई छिःछि र दूर्दूर गर्छन् । असामान्य व्यवहार गर्छन् । गाली गर्छन् । हामी अल्पसंख्यक हौँ । त्यसैले बहुसंख्यामा रहेका महिला वा पुरुषले तेस्रोलिंगी प्राकृतिक रूपमा नै फरक हुन् भन्ने बुझ्दैनन् । कतिपय त रहरले यस्तो भएको ठान्छन् । नराम्रो व्यवहार गर्छन् । त्यस्ता व्यवहारलाई न्यूनीकरण गर्न पनि आत्मकथा बाहिर आउन जरुरी छ भनेर लेखेको हुँ । यसले हामीप्रतिको नकारात्मक भावनालाई सकारात्मक बनाउन मद्दत गर्छ भन्ने अपेक्षा लिएको छु ।

कलाकार, व्यापारी, पूर्वकर्मचारी आदिका आत्मकथा छाया लेखकबाट लेखाउने चलन छ । तपाईंले आफैँ लेख्नुभयो कि लेखाउनुभएको हो ? 
आत्मकथा लेख्नका लागि घोष्ट राइटिङ नेपालले प्रस्ताव गर्‍यो । यसमा मेरै कथा लेखिएको हो । त्यसकारण कसले र कसरी लेख्यो भन्ने महत्वपूर्ण होइन । तर, म स्वयंले लेखेको भने होइन । मैले भनेको कुरा टिपोट गरेर लेखिएको हो । मेरो ‘भर्वल’ कुराहरू त्यहाँ छ । पुस्तक लेखनमा लेखक र सम्पादकको बढी भूमिका छ । कतिपय सन्दर्भ मैले आफैँ पनि लेखेर दिएँ । शब्दहरू मिलाउन म त्यस्तो पोख्त मान्छे नभएकाले लेखक र सम्पादकको जरुरत परेको हो । अर्को महत्वपूर्ण कुरा भनेको अहिलेसम्म तेस्रोलिंगी कसैको पनि आत्मकथा आएकै छैन । त्यसैले मैले अरूको नक्कल गरेर पुस्तक लेखाएको भन्दा पनि हाम्रो समुदायको अधिकारको संघर्ष सार्वजनिक गर्न लेख्नु आवश्यक थियो, अनि लेखेको हुँ ।

पुस्तक प्रकाशन भइसकेपछि आफूले भनेका कुरा जस्ताको त्यस्तै आए त ? 
सबै मैले भनेको कुरा नै हो । लेखिसकेपछि मैले पनि हेरेँ । सम्पादन गरेँ । कतिपय कुरा नलेखौँ भन्ने लागेको थियो । तर, पछि छलफल र सहमतिमै राखियो ।

कस्ता कुरा नलेखौँ भन्ने लागेको थियो ?
मेरो सम्बन्धको कुराहरू लेख्न चाहँदैन थिएँ । हाम्रो हकमा समाजले प्रेम सम्बन्धलाई स्वीकार गर्दैन । मेरो पनि केही मान्छेसँग सम्बन्ध भयो । ती कुरा पाठकले रुचाउँदैनन् भनेर लेख्न चाहेको थिइनँ । तर, उहाँहरूले जीवनका त्यस्तै घटना उल्लेख गर्दा पुस्तक बलियो हुन्छ भन्नुभयो । सम्झाउनुभयो । जिन्दगीमा महत्वपूर्ण नलागेका कतिपय साना कुरा पाठकका लागि भने रोचक हुँदा रहेछन् । त्यसपछि ती कुरा पनि लेख्न तयार भएँ ।

प्रायः मान्छेले जीवनको उत्तरार्धमा मात्र आत्मकथा लेख्छन् । त्यसो हुँदा भोगेका सबै कुरा लेखे पनि बाँकी जीवनलाई असर गर्दैन भनिन्छ । तपाईं युवा हुनुहुन्छ । सबै कुरा छरपस्ट बनाएपछि अप्ठ्यारो पर्दैन ?

अहिलेसम्म पुस्तकको विषयमा कुनै अप्ठ्यारो परेको छैन । पुस्तक बजारमा गएको पनि भर्खर हो । अहिले त प्रतिक्रिया नै कुरेर बसिरहेको छु । पाठकले यसलाई सकारात्मक रूपमा लिनुहुन्छ भन्ने विश्वास छ ।

तेस्रोलिंगीलाई यौन विकृति भित्र्याको आरोप लाग्छ । तपाईंहरूलाई त्यही आँखाबाट हेर्छन् । तपाईंले सबै सम्बन्ध खुलाएर लेखेपछि त झनै यो आरोपले बल पाउँदैन ?
त्यस्तो हुँदैन । यो पुस्तकले त्यो धारणा परिवर्तनचाहिँ गर्छ । तेस्रोलिंगीका लागि ‘यौनिक तथा लैंगिक अल्पसंख्यक’ शब्द प्रयोग हुन्छ । यो शब्दभित्र मात्र जानेहरूले त्यसरी विकृत ढंगले सोचेका हुन् । यो शब्दकै कारण उहाँहरूले हामीलाई ‘सेक्स’सँग जोड्नुभएको हो । मेरो पुस्तकले यी अवधारणा परिवर्तन गर्न सहयोग गर्छ ।

तपाईंको पुस्तक पढेर पाठकले के सन्देश पाउने ?
कतिपय पाठकलाई तेस्रोलिंगी के हो ? कसरी जन्मन्छन् ? भन्ने नै थाहा छैन । अहिले पहिचानको कुरा उठिरहेको छ । तर, महिला र पुरुषको पहिचानको कुरा उठिरहँदा तेस्रोलिंगीको पहिचानको कुरै उठ्दैन । संविधानमा पनि हाम्रो अधिकारको कुरा उल्लेख छ । तर, नियम, कानुन बनाउँदा हामीले अधिकार नै नपाउने अवस्था आयो । अहिले पनि नागरिकता बनाउँदा लिंगमा ‘अन्य’ राखिन्छ । नाम भने परिवर्तन गर्न नपाउने व्यवस्था छ । समाज परिवर्तन भए पनि हामीप्रतिको दृष्टिकोण परिवर्तन हुन सकेको छैन । हाम्रै समुदायका कतिपय मानिस पहिचान लुकाउन बाध्य छन् । यो पुस्तक पढेपछि उनीहरू पनि खुलेर आउन सक्छन् भन्ने विश्वास लिएको छु ।

तपाईंले आफू तेस्रोलिंगी भएको कहिलेबाट महसुस गर्नुभयो ?
म जन्मिँदा छोरा भएर जन्मिएँ । तर, मेरो प्रकृति, व्यवहारले छोरी भएँ । घरपरिवारले ठूलो भएर बुहारी भित्र्याउँला भन्ने ठानेको थियो । त्यो अवस्था थिएन । म ११ वर्षको भएपछि मैले आफूलाई फरक महसुस गरेको हुँ । जब म १६–१७ वर्षको उमेरमा ब्लु डायमन्ड सोसाइटीमा आएपछि आफ्नो पहिचान के हो भन्ने बुझ्ने मौका पाएँ ।

त्यतिवेलाको समाज खुला थिएन । तपाईंहरूलाई नस्विकारिरहेको अवस्था थियो । ब्लु डायमन्ड सोसाइटीमा आएपछि आफ्ना गतिविधि गर्न सहज भयो ?
मलाई घरमा समस्या भएन । ब्लु डाइमन्ड आएपछि मैले साथीहरूको समस्याचाहिँ देखेँ । कतिपयलाई लिपिस्टिक लगाउन मन लाग्ने, कसैलाई स्कर्ट लगाउन । तर, घरबाट त्यस्तो लगाएर बाहिर निस्कन दिँदैन थिए । उहाँहरू अफिस आएर आफ्नो इच्छा पूरा गर्नहुन्थ्यो । तर, घर जाँदा लिपिस्टिक पुछेर जानुपर्ने । बाटो हिँड्दा पनि ‘छक्का,’ ‘हिँजडा’ भनेर दुव्र्यवहार गर्थे । ब्लु डाइमन्ड आउँदासम्म म केटाकै लुगामा हिड्थेँ । तर, मेरो कपाल लामो थियो । लिपिस्टिक, गाजल लगाउथेँ । बाटोमा मलाई हेरेर मान्छेहरू हाँस्ने, जिस्क्याउने गर्थे । मसँग समाजसँग जुध्ने क्षमता थिएन ।

तपाईंले फिल्म पनि खेल्नुभयो, होइन ?
हाइवे र कान्छी गरी दुई फिल्म खेलेँ । हाइवेमा धेरै लामो भूमिका थिएन । तर, कान्छीमा भने लामै भूमिका छ । नेपाली फिल्म इन्डस्ट्रिजमा तेस्रोलिंगीलाई हाँसोको पात्रको रूपमा प्रयोग हुन्छ । अथवा नायक र नायिकाबीच मिलन गराइदिने भूमिकामा देखाइन्छ । मैलेचाहिँ तेस्रोलिंगीकै कथा–व्यथामा अभिनय गरेको छु ।

तपाईंहरू आफैँचाहिँ हाँसोको पात्र मात्र बनाइएको फिल्म खेल्दैनौँ भनेर किन अभियान चलाउनुहुन्न ?
मैले त भनेको छु । पहिला दुई–तीनवटा मुभीको अफर आएको थियो । मैले अस्वीकार गरेको हुँ । म साथीहरूलाई पनि भन्छु कि हसाउने पात्रको रूपमा मात्र फिल्ममा देखिनुहुन्न । तर, कतपय साथीहरू पैसा आउँछ भनेर खेल्न तयार हुन्छन् । यही छ समस्या ।

तपाईं राजनीतिकर्मी पनि हो । नेता–कार्यकर्ताको व्यवहार कस्तो छ ?
फिल्म र राजनीतिमा अरू मान्छेले गर्ने व्यवहारमा खास फरक छैन । जबसम्म मान्छेहरूले कुरा बुझ्दैनन्, फिल्ममा होस् वा राजनीतिमा होस्, व्यवहार उही नै हुन्छ । पार्टीभित्र हाम्रो समुदायलाई पहिचान दिन नै नमान्ने अवस्था छ । नेताहरूलाई भनसुन गर्नुपर्छ । उनीहरूले हामीलाई हेर्ने नजर नै फरक छ ।

तपाईंले राजनीतिमा र फिल्ममा भोगेका अनुभूति पनि पुस्तकमा लेख्नुभएको छ ?
लेखेको छु । कतिपय मान्छेका नाम पनि जोडिएका छन् । सायद उहाँहरूलाई चित्त नबुझ्ला । तर, त्यो मेरो भोगाइ हो, यथार्थ हो । कसैको बदनाम गर्न राखेको होइन । यसलाई उहाँहरूले सकारात्मक रूपमा लिनुहुन्छ भन्ने लाग्छ । त्यसो त मलाई विद्यालयमा पढाउने शिक्षकहरूको बारेमा पनि लेखेको छु । कसको बारेमा मेरो कस्तो भोगाइ र अनुभूति भयो भन्ने कुरा थाहा पाउनचाहिँ पुस्तक नै पढ्न अनुरोध गर्छु ।

तपाईंको पुस्तक पढेर कोही फिल्मकर्मीले फिल्म बनाउँछु भन्यो भने अनुमति हुन्छ ?
हुन्छ । अहिलेसम्म कोही पनि निर्माता, निर्देशकले हाम्रो विषयमा फिल्म बनाउने आँट नै गर्नुभएको छैन । उहाँहरूलाई डर छ कि आमदर्शकले तेस्रोलिंगीको फिल्म हेर्दैनन् । त्यो भ्रम हो । हामी पनि यही समाजको हो । हाम्रो वास्तविक कहानी ल्याउनुभयो भने दर्शकले पक्कै हेर्छन् । अब मेरो विषयमा फिल्म बनाउनुहुन्छ भने म त खुसी नै हुन्छु । त्यसले हाम्रो कथा पनि मूल विषय हुन सक्छ भनेर स्थापित गर्छ । समाजलाई राम्रो सन्देश दिन्छ ।

नयापत्रिकाबाट

चर्चामा

सम्बन्धित समाचार