राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडकखण्डमा चैतसम्ममा सवारी साधन सञ्चालन हुने भएको छ । नेपाली सेनाले जिम्मा लिएको सो खण्डको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
मेसिन र कामदारबाट सडक निर्माण भइरहेकाले आउँदो चैतसम्ममा यो सडकखण्डमा सवारी साधन सञ्चालन हुने नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख मिलन कार्कीले बताए ।
सेनाले निर्माण गरिरहेको बाजुरा र हुम्लाको सीमा कवाडीदेखि सर्केगाड र चँखेली गाउँपालिकाको सीमा सलिसल्लासम्म चैतसम्ममा सवारी साधन चलाउनयोग्य बनाउने उनले जानकारी दिए ।
कवाडीदेखि सलिसल्लासम्मको ३९ किलोमिटर सडकमध्ये ताँजाकोट गाउँपालिकाको कवाडीदेखि सर्केगाड गाउँपालिका–१, बालुकुनासम्मको २७ किलोमिटर सडक सवारी साधन चलाउन सकिने भएको छ ।
सवारी साधन सञ्चालन गर्न सिफारिससमेत भइसकेको छ । बालुकुनादेखि सर्केगाड–१, खच्चासम्मको साढे नौ किलोमिटर सडकमा सामान ढुवानी गर्ने र सेनाको गाडी चलिरहेका छन् ।
बाँकी साढे दुई किलोमिटर क्षेत्रमा मात्र सडक निर्माण पूरा भएको छैन ।
नेरघाट, पम्पडे र सलिसल्लाको चट्टानी भागको साढे दुई किलोमिटर भाग मात्र बाँकी रहेको सेनाको निर्माण दलले जनाएको छ । सो क्षेत्रमा पनि काम भइरहेको छ ।
सडक निर्माणमा दैनिक नेपाली सेनाका ९० जना र अन्य दुई सय जना कामदार संलग्न छन् । ग्याबिन लगाउने, माटो भर्ने, सिमेन्टको काम र विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाउने काम एकसाथ अगाडि बढिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावतले लेखेका छन् ।