जुम्लामा अनशनरत डा. गोविन्द केसी काठमाडौं फर्किने विमान नपाएपछि सोमबार नेपालगञ्जमै रोकिएका छन् ।
जुम्लाबाट काठमाडौं फर्किन सोमबार नेपालगञ्जसम्म एम्बुलेन्समा आएका उनले काठमाडौं फर्किने विमान नपाएपछि नेपालगञ्जमै अनशनलाई निरन्रता दिएका छन् ।
उनका सहयोगी डा. प्रवीण गिरीका अनुसार केसीलाई भेरी अस्पतालमा राखिएको छ । केसी मंगलबार विहान ११ बजेको उडानमा काठमाडौं आउने तयारी रहेको डा. गिरीले जानकारी दिए ।
जुम्लामा अनशन बसेको आठौं दिन सोमबार केसीले अब काठमाडौं पुगेर नै सत्याग्रह जारी राख्ने बताउँदै जुम्ला छाडेका थिए ।
दुई वर्षअघि आफू अनशन बसेका बेला जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड भएको भन्दै केसीले यस वर्ष पनि त्यस्ता गतिविधि नहोस् भनेर काठमाडौं जान लागेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।