सुशीलाको विवाह तीस वर्ष अगाडि एउटा गाउँको युवकसँग भएको थियो । ती दिनहरुमा आफूले भोगेका कठिनाईलाई सुशीला प्राय: सम्झिरहन्छिन् । सुशीलाकी सासुले उनलाई हरेक समय टाउकोमा घुम्टो राखिरहन भन्थिन् । पढेलेखेकी सुशीलालाई त्यस्तो अवस्थामा रहन निकै कठिन थियो ।
विवाहको केही समयपछि सुशीला श्रीमानसँगै जागिरको सिलसिलामा शहर आएपछि सुशीलाले राहतको सास फेरिन् । सुशीला अब गाउँमा जस्तो गरेर घुम्टो हालेर बस्दिनन् । वरपरका महिलाहरुले जस्तै उनी पनि अब कुर्ता–सुरुवाल लगाउन थालेकी छिन् । उनलाई कुर्ता–सुरुवाल साडीको तुलनामा आरामदायक र सुविधानजक लाग्न थाल्यो । केही समयपछि कुर्ता सुरुवालबाट सल पनि हट्न थाल्यो । कुर्ताको ठाउँमा अब सुशीलाले कुर्ती लगाउन थालिन् ।
कहिलेकाहीँ सुशीलाको सासु गाउँबाट छोरा बुहारी भेट्न शहर आउँदा सुशीलाको लुगा देखेर निकै छेड हान्ने गर्थिन् । कस्तो जमाना आयो, बुहारीहरुलाई लाजसरम लाग्न छोड्यो, नाङ्गंो टाउको लिएर घुम्न थाले, यस्तो अवस्थामा मेरो सासुले देखेको भए मलाई मारिदिन्थिन् होला भनेर दिनहुँ जस्तो सुशीलाले भनाई खानु पर्दथ्र्यो ।
यस्तो भनाई सुनेर सुशीला केही नबोली सासु फर्कने दिन गन्न थाल्थिन् । त्यही समयमा सुशीलाले आफ्नी बुहारीलाई कहिल्यै पनि त्यस्तो व्यवहार नगर्ने प्रण लिइन् । समय बिस्तारै बित्दै गयो । सुशीलाको बच्चाहरु ठूला भए, उनकी छोरीले जिन्स लगाउँदा सुशीला खुशी हुन्थिन् । सुशीलालाई आफू समयसँगै परिर्वतन भएको अनुभव हुन्थ्यो । उनलाई आफू सासु जस्तो पुरानो विचारधाराको नभएको महसुस हुन्थ्यो । सुशीलाको छोराको शहरमा राम्रो जागिर भयो । जागिरमा नै उनको एक सहकर्मीसँग प्रेम भयो र दुबै परिवारको सहमतिमा अनुसार विवाह पनि भयो ।
सुशीलाको श्रीमानको मृत्यु भएकोले उनी आफ्नो छोरा बुहारीसँगै बस्न थालिन् । सुरु–सुरुमा त उनकी बुहारीले एउटा आदर्श बुहारी जस्तै पारम्परिक लुगा लगाउँथिन् । तर, बिस्तारै उनको लुगा लगाउने शैलीमा परिर्वतन हुनथाल्यो । उनी विवाह अगाडि लगाउने आरामदायक लुगाहरु लगाउन थालिन् । उनले सट्स, स्लिभलेस, अफ शोल्जर टप, फ्रकहरु लगाउन थालिन् । तर, सुशीलालाई बुहारीको त्यस्ता पहिरनहरुप्रति गुनासो बढ्न थाल्यो ।
विवाहपछि पनि कोही त्यस्ता लुगा लगाउँछन् भनेर सुशीला बारम्बार आफ्नी बुहारीलाई कराउन थालिन् । एकदिन सुशीलाको छोरा–बुहारी पार्टीमा जान लागेका थिए, त्यो बेला बुहारीले अफ शोल्जर टप र स्कर्ट लगाएकी थिइन् । त्यो दिन सुशीलालाई सहिनसक्नुभयो र उनी कराउन थालिन्– तिमीहरुको प्वाँख धेरै निस्कन थाल्यो, म पनि त कुनै समय बुहारी थिएँ । ‘यदि मैले मेरो सासुको अगाडि यस्तो लुगा लगाएको भए मेरी सासुले मलाई मार्थिन्’ भन्दै ठूलाठूला स्वरले कराउन थालिन् ।
आमाको त्यस्तो कुरा सुनेपछि छोरा हाँस्दै भन्नथाल्यो—‘मम्मी यो त त्यही डायलग होइन, जुन तपाईंलाई हजुरआमाले सुनाउने गर्नुहुन्थ्यो, तपाईंले यो कुरा हामीलाई धेरै पटक सुनाउनु भएको छ ।’
छोराको यस्तो कुरा सुनेपछि सुशीलालाई झट्का लाग्यो ।
उनले आफूलाई सासुले कुर्ता–सुरुवाल लगाउँदा छेड हानेको कुरा सम्झना आयो । तर, कुर्ता–सुरुवाल लगाउँदा त शरीर पुरै ढाकिन्थ्यो, बुहारीको पहिरनमा त सबै शरीर देखिन्छ, त्यसलाई म कसरी सहनसक्छु ? सुशीलाले सोचिन् ।
जुन स्थिति आज सुशीलाको छ, त्यही स्थिति आज धेरै घरमा सासु र बुहारीबीचमा रहेको हुन्छ । सासुहरुको सोचमा परिर्वतन त आएको छ । तर, त्यति तीव्र गतिले होइन जति नयाँ पिँढी अगाडि बढिरहेको छ ।
दुबै पिँढीको गतिमा धेरै अन्तर छ । सामान्यतया जब बुहारीले केही नयाँ किसिमका पहिरन लगाउँदा सासुहरुलाई अशोभनीय लाग्न थाल्छ र उनीहरु मुख फुलाउँदै हाम्रो जमानामा यस्तो थिएन भन्न थाल्छन् । उनीहरुको यही प्रतिक्रियाका कारण सासु बुहारीको सम्बन्ध तनावपूर्ण हुन्छ र बुहारी सासुसँग अलग रहने मौका खोज्न थाल्छिन् । त्यसैले सासुहरुले केही कुरा बुझ्न आवश्यक हुन्छ ।
परिर्वतनलाई स्वीकार गर्नु
परिर्वतन संसारको नियम हो भन्ने प्रसिद्ध भनाइ छ । संसारमा दिनहुँ केही न केही परिर्वतन भईरहेको हुन्छ । जलवायुमा, सुविधाहरुमा, प्रविधिमा, रहनसहनमा, सम्बन्धमा आदि हरेक ठाउँमा केही न केही परिर्वतन भइरहेको हुन्छ । यो कुरा पहिरनमा पनि लागू हुन्छ । पिँढी नै पिच्छे पहिरनमा परिर्वतन हुन्छ । विशेष गरेर महिलाको पहिरनमा धेरै परिर्वतन हुँदै आएको छ र भविष्यमा पनि भईरहन्छ । समयको परिवर्तनशीलतालाई बुझेर यसलाई स्वीकार गर्न र आफ्नो सोचाइलाई लचिलो बनाउनुपर्छ ।
सुविधाको परिभाषा सबैको लागि भिन्दा–भिन्दै हुन्छ । सुशीलाको सासुलाई उनले लगाएको कुर्ता सुरुवालमा नै गुनासो थियो तर त्यही कुरा सुशीलाको लागि सुविधाजनक थियो । त्यस्तै सुशीलालाई आफ्नी बुहारीले लगाएको स्लीभलेस टप, फ्रक र मिडीमा नै गुनासो थियो । तर, उनकी बुहारीलाई ती लुगाहरु सुविधाजनक लाग्थे । बुहारीले आफ्नो सुविधानुसार लुगा लगाएकी हुन् । उनको सोचको हिसाबले होइन भन्ने कुरा सुशीलाले बुझ्नु पथ्र्यो । यदि कुनैपनि सासुले बुहारीलाई दबाबले लुगा लगाउन लगाइन् भने त्यस्तो धेरै दिनसम्म चल्दैन । त्यसैले सुशीला जस्ता हरेक सासुले आफ्नो दृष्टिकोणमा परिर्वतन ल्याउनुपर्छ, जसकारण दुबैबीच अनावश्यक तनाव उत्पन्न हुन नपाओस् ।
कुनै पनि पहिरन राम्रो अथवा नराम्रो हुँदैन । पहिरनलाई राम्रो–नराम्रो हाम्रो सोचाईले बनाउँछ । हामी पहिरनलाई जुन दृष्टिले हेर्छौं, त्यही दृष्टिले नै त्यो पहिरनको परिभाषा निर्धारण गर्छ । के तपाईं पनि पहिले जस्तो धोती, चोलो, पटुका लगाउनुहुन्छ ? लगाउनु हुन्न नि ? त्यसैगरी आजभोलिका बुहारीहरुले आफ्नो समय अनुसारको लुगा लगाउने गर्छन् भन्ने कुरा राम्रोसँग बुझ्नुपर्छ ।