अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) खेमप्रसाद नेपालसहित ४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
शुक्रबार अख्तियारले टिमुरेका प्रहरी निरीक्षक नेपाल र सोही चौकीका तीन जना हवल्दारले राजस्व चुहाइ भ्रष्टाचार गरेको आयोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
अख्तियारका अनुसार, उनले मंसिर २२ गते केरूङ नाकाबाट टिमुरेतर्फ जाँदै गरेको टाटासुमो गाडीलाई जाँच गर्दा राजस्व छलेर ल्याएको १ सय ११ ग्राम सुन फेला पारेका थिए।
निरीक्षक नेपालले उक्त गाडी सुनसहित नियन्त्रणमा लिए। सुन छलेर ल्याएको व्यक्ति र उसको गाडी छोडिदिए। उक्त सुन भने आफ्नै मातहतका प्रहरी हवल्दार रामकाजी लामा र पुरूषोत्तम खत्रीलाई विक्री गर्न पठाएको र सुन बेची आएको रकम बाँडफाँट गरेको अख्तियारले पुष्टि गरेको छ।
उक्त सुन विक्री गर्ने कार्यमा सहयोग गरेका प्रहरी हवल्दार रामशरण रिमाललाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको छ। १ सय ११ ग्राम सुनको प्रचलित दररेट ६ लाख ७७ हजार ५ सय रुपैयाँ हुन्छ।
अख्तियारले यही रकमलाई प्रहरी निरीक्षक नेपालसहित ४ जनाले राजस्व चुहावट गरेको बिगो मानेको छ। उनीहरू प्रत्येकबाट बिगो रकम जफत गर्न, बिगोको दोब्बर जरिवाना गर्न माग गरेको छ। त्यस्तै, एक वर्ष छ महिनादेखि दुई वर्ष छ महिनासम्म कैद सजाय सक्नेछ।