• होमपेज
  • देश/प्रदेश
  • जाजरकोटमा १० हजार भित्रिए पाँच सयको मात्र परीक्षण

जाजरकोटमा १० हजार भित्रिए पाँच सयको मात्र परीक्षण

  • बिहिबार, बैशाख २५, २०७७
जाजरकोटमा १० हजार भित्रिए पाँच सयको मात्र परीक्षण

जाजरकोट : लकडाउनकै अवधिमा १० हजार व्यक्ति जिल्ला भित्रिएका छन्। तर, हालसम्म पाँच सयको मात्र द्रुत परीक्षण (आरडिटी) जाँच गरिएको छ। किट अभावमा जिल्ला भित्रिएका सबैको परीक्षण हुन नसकेको हो।

प्रदेश सरकारले पठाएका पाँच सय आरडिटी किट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ। धेरै शंकास्पदको परीक्षण नहुँदा गाउँमा त्रास बढेको हो। बाँकेमा संक्रमितको संख्या बढ्दै गएपछि जाजरकोटमा पनि त्रास बढेको छ। बाँकेको नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको हाताभित्र रहेको क्‍वारेन्टाइनबाट ११ जना भागेर जाजरकोट आएका थिए। जिल्लाको भेरी नगरपालिका ११ का उनीहरू मजदुरीका लागि केही समयअघि कालापार (भारत) गएका थिए।

बाँकेमा संक्रमित भएका एकजना सोही क्‍वारेन्टाइनबाट भागेको भन्ने समाचारले जाजरकोटवासीलाई थप त्रसित बनाएको हो। लकडाउनकैै अवधिमा बाँकेबाट धेरै मानिस जाजरकोट भित्रिएकाले जिल्लावासी त्रसित भएको भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंग शाहले बताए। अलपत्र नागरिकलाई नेता, सांसद र मन्त्रीले बिनास्वास्थ्य परीक्षण जिल्ला पठाएका थिए। संक्रमित लुकेर बसेको हुनसक्ने भएकाले परीक्षणको दायरा बढाउनु पर्ने कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

लकडाउनकै समयमा देशका विभिन्न सहरबाट आएकाको भने किट अभावले स्वास्थ्य परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख टीकाराम जैसीले बताए। सबै पालिकाबाट कोरोनाको परीक्षणका लागि किट माग गरिएको छ। तर जिल्लामै किट नआउँदा समस्या भएको उनलको भनाइ छ। जिल्लाका विभिन्न विद्यालयमा बनाइएका नाम मात्रका क्‍वारेन्टाइनमा बसेका पनि १४ दिन नपुग्दै घर जाने गरेका छन्।

एक सय ६७ जना क्‍वारेन्टाइनमा भए पनि ६० जनाको मात्र आरटिडी गरियो। जिल्लामा विभिन्न स्थानमा स्थापना गरिएका क्‍वारेन्टाइनमा हालसम्म दुई सय ३९ जना मात्र बसेका छन्। यता भेरी नगरपालिका र बारेकोट गाउँपालिकाले सोमबारदेखि नाका पूर्ण रूपमा शिल गर्ने निर्णय गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार