• होमपेज
  • पत्रपत्रिका
  • प्रेस रिभ्यू : प्रधानमन्त्रीको मृगौलाको डायलाइसिस कि प्रत्यारोपण ?, सुकुटेमा बस खस्दा नदी रक्ताम्मे !

प्रेस रिभ्यू : प्रधानमन्त्रीको मृगौलाको डायलाइसिस कि प्रत्यारोपण ?, सुकुटेमा बस खस्दा नदी रक्ताम्मे !

  • सोमवार, कार्तिक १८, २०७६
प्रेस रिभ्यू : प्रधानमन्त्रीको मृगौलाको डायलाइसिस कि प्रत्यारोपण ?, सुकुटेमा बस खस्दा नदी रक्ताम्मे !

काठमाडौँ । आज कार्तिक १८ गते सोमबार देशका प्रमुख दैनिक पत्रिकाहरुले सुनकोसीमा भएको बस दुर्घटनाको समाचारलाई फ्रन्ट पेजमा प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

दोलखाको शैलुङ गाउँपालिकाको बागखोरबाट काठमाडौँका लागि छुटेको बस अरनिको राजमार्गको सुकुटे नजिकै आइतबार मध्यान्ह सुनकोसी नदीमा खस्दा तीन महिने शिशुसहित १७ जनाको मृत्यु भएको थियो । घटनामा कम्तिमा ५२ जना घाइते भएका छन् भने केही हराइरहेको अनुमान गरिएको छ ।

बा २ ख ७२४५ नम्बरको बस सडकबाट करीब ७० फिट तल नदीमा खसेको थियो । कान्तिपुर दैनिकका अनुसार बस के–कारणले दुर्घटना भयो यकिन भएको छैन । ‘बस अनियन्त्रित भएको र दुर्घटना हुनअघि ख्याटख्याट आवाज आएको थियो,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका नयाब उपरीक्षक (डिएसपी) माधव प्रसाद काफ्लेले बताएका छन् ।

यता, अन्नपूर्ण पोष्टका अनुसार दुर्घटनामा एकै गाउँका आठ जनाको मृत्यु भएको उल्लेख गरेको छ । दैनिकका अनुसार उद्धारका लागि रिसोर्टका र्याफ्टिङ बोट पनि प्रयोग गरिएको थियो ।

नागरिक दैनिकले उद्धारमा खटिएका सोनाम तामाङको भनाइ उद्धृत गर्दै बस दुर्घटनापछि नदी नै रक्ताम्मे भएको समाचार प्रकाशित गरेको छ । घटनाको दुई मिनेटमा नै घटना स्थलमा पुगेका तामाङले त्यहाँको दृश्य भयावह भएको बताएका छन् । ‘उतानो परेर पल्टिएको बसमा १० जना उभिएर बिलौना गर्दै थिए । नदीमा यात्रु बगिरहेका थिए । उनीहरु गुहार मागिरहेका थिए । कतिपयले बसभित्र आफन्त रहेको भन्दै निस्कन मानेनन् । पहिला हाम्रा मान्छे खोजिदेऊ भन्ने अनुनय उनीहरुको थियो,’ तामाङले भनेका छन् ।

कान्तिपुर दैनिकले पहिलो पृष्ठमा प्रधानमन्त्रीको उपचार अब कसरी गर्ने भन्नेबारे टुङ्गो लागिनसेको भन्दै ‘डायलाइसिस कि प्रत्यारोपण भन्ने समाचार प्रकाशित गरेको छ । अघिल्लो साता शुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मृगौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरुसँग परामर्श जारी राखेका छन् । त्यस्तै, अर्को समाचारमा भातरको नयाँ दिल्लीको विषाक्त वायुको प्रभाव नेपालसम्मै पर्न सक्ने हल्ला चलिरहेको बेला नेपालका मौसमविद्ले अहिल्यै दिल्लीको असर यहाँसम्म नआउने बताएको उल्लेछ ।

उता, राजनीतिक आडमा ३६ गुन्डा नाइके रहेको भन्दै पत्रिकाले कुन पार्टीले कुन गुन्डा पालेको समाचार पनि प्रकाशित गरेको छ । जसमा गणेश लामा, काजी शेर्पा, मिलन श्रेष्ठ जस्ता १७ गुण्डा नाइकेलाई नेपाली काँग्रेसले संरक्षण गरेको र मिलन गुरुङ, राजीव गुरुङजस्ता ९ जना गुण्डा नाइके सत्तारुढ नेकपाको संरक्षणमा रहेको बताइएको छ । राजु गोर्खाली, रमेश बाहुन जस्ता गुण्डा नाइकेको दल खुलेको छैन भने जनसमाजवादी पार्टी र समाजवादी पार्टीले एक–एक गुण्डा नाइकेलाई संरक्षण गरेका छन् ।

त्यस्तै, निर्वाचन आयोगले केन्द्रीय सुरक्षा समिति बैठकबाट पारित ‘उपनिर्वाचन सुरक्षा कार्ययोजना’ गृह मन्त्रालयमा फिर्ता पठाएको छ । आयोगको निर्देशिकासँग मेल नखाएको उक्त कार्ययोजना चुस्त–दुरुस्त नरहेको भन्दै संशोधनसहित पुनः पेस गर्न भनिएको छ ।

नागरिक दैकिकले सातै प्रदेश प्रमुखलाई सरकारले हटाएकोमा प्रमुख राजनीतिक दलले असन्तुष्टि जनाएको समाचार प्रकाशित गरेको छ । दलहरुले प्रदेश प्रमुखलाई हटाएर सरकार सर्वसत्तावाद लाद्न उद्यत भएको आरोप लगाएको समाचारमा उल्लेख छ । सरकारलाई प्रदेश प्रमुख हटाउने अधिकार भए पनि बिनाआधार सबै प्रदेश प्रमुख हटाएर उक्त पदको गरिमालाई हल्का बनाएको आरोप उनीहरुको छ । त्यस्तै, ढुवानीमा अनुदान दिए पनि खाद्य संस्थानले केन्द्रपिच्छे फरक–फरक मूल्यमा चामल बिक्री गर्दै आएको भन्दै विकट क्षेत्रका नाममा अवैद्य असुली गरिरहेको समाचार पनि प्रकाशित गरेको छ ।

दैलेख जिल्लाको पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि क्याम्प बनाउने काम धमाधम चालु रहेको समाचार पनि प्रकाशित गरेको छ। डुंगेश्वर गाउँपालिका–१, चुप्रास्थित वडा कार्यालयछेउमै चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प बनाएको हो। चिनियाँ विशेषज्ञ टोली दसैंलगत्तै दैलेख आएको थियो।

अन्नपूर्ण पोष्ट दैनिकले वीरको भीभीआइपी सधैँ रित्तै रहने समाचार मुख्य पृष्ठमा छापेको छ । वीर अस्पतालको पहिलो तलाको उत्तरपूर्वमा रहेको अति विशिष्ट कक्षमा तीस वर्षयता कोही पनि सेवा लिन नपुगेको समाचारमा उल्लेख छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको फोक्सोमा देखिएको समस्या हटेको समाचार अन्नपूर्ण पोष्टले प्रकाशित गरेको छ । आइतबार मनमोहन कार्डियोथोरासिक भासकुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओलीको छातीको एक्सरे गरेपछि डाक्टरहरुले सो निष्कर्ष निकालेका हुन् ।

सरकारले उद्योगमा प्रयोग हुने औद्योगिक कच्चा पदार्थको छुट्टै बन्दरगाह निर्माण गर्ने तयारी गरेको समाचार छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगन्जमा कच्चा पदार्थको छुट्टै बन्दरगाह निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो। औद्योगिक उत्पादनको लागत कम गर्न औद्योगिक कच्चा वस्तुका लागि छुट्टै बन्दरगाह निर्माण हुन लागेको हो। औद्योगिक कच्चा वस्तुका लागि छुट्टै बन्दरगाह निर्माण भएपछि अहिलेको सुक्खा बन्दरगाह कन्टेनराइज्ड कार्गोका लागि मात्र प्रयोग गर्न सकिनेछ।

यता, नयाँ पत्रिका दैनिकले एसपी र आलमको सल्लाहमा घाइतेलाई भट्टामा हालिएको प्रहरीले नै खुलासा गरको समाचार प्रकाशित गरेको छ । नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर तथा रौतहटमा कार्यरत तत्कालीन सइ ईश्वरविक्रम शाहले अनुसन्धानकर्तालाई भनेका छन्, ‘विस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा हालेपछि घटना सामसुम पार्न सकिन्छ भनेर सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमबीच सल्लाह भएको हो ।’ अधिकारकर्मीहरूको तत्कालीन प्रतिवेदनले पनि घाइतेहरूलाई ट्रयाक्टरमा इँटाभट्टामा लग्दा प्रहरीको गाडीले स्कर्टिङ गरेको उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार