शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि श्रृंगारिदै राजधानी, यस्तो छ उच्च सुरक्षा र स्वागतको तयारी

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि श्रृंगारिदै राजधानी, यस्तो छ उच्च सुरक्षा र स्वागतको तयारी

  • मङ्लबार, अशोज १४, २०७६
चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि श्रृंगारिदै राजधानी, यस्तो छ उच्च सुरक्षा र स्वागतको तयारी

असोज १४ । चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रथम महिला पेङ लियुआन, विदेशमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका ‘स्टेट काउन्सिलर’ वाङ यीसहितको उच्चस्तरीय भ्रमणलाई लक्षित गरेर आन्तरिक व्यवस्थापन र सुरक्षा तयारी अघि बढाइएको छ।

‘असोज अन्तिम साता राष्ट्रपति सीको भ्रमण हुन सक्ने भएकाले त्यसलाई लक्षित गरेर सुरक्षा व्यवस्थापन भइरहेको छ,’ स्रोतले भन्यो । गृह मन्त्रालयले राष्ट्रपति सीको भ्रमणलाई लिएर ‘आन्तरिक सुरक्षा कार्यविधि’ बनाउँदै छ । कार्यविधि निर्माणमा गृहले सेनासँग समन्वय गरेको छ । सुरक्षाको मुख्य कमान्ड सेनाको हुने भएकाले उसको आवश्यकताअनुसार कार्यविधि बनाउन लागिएको हो । कार्यविधिमा विमानस्थलदेखि बस्ने र भेटघाट हुने स्थानमा कुन सुरक्षा निकायले कुन किसिमको जिम्मेवारी लिने भन्ने तय हुनेछ।

उच्च स्रोतका अनुसार भ्रमणमा प्रयोग गरिने ‘एरोहेड कारकेड सेट’ पनि चीनबाटै ल्याइनेछ। सी भ्रमणलाई लिएर गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा नेपाली सेनाका बलाधिकृत रथी शरदकुमार गिरी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसहितको केन्द्रीय सुरक्षा समिति बैठक बसेको थियो । आइतबार साँझ पनि चारवटै सुरक्षा निकायका अधिकारी सीको भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री कार्यालयमा भेला भएका थिए ।

केन्द्रीय सुरक्षा समितिको निर्देशनअनुसार सीको भ्रमण सुरक्षाअन्तर्गत सेनाका उपत्यका पृतनापति उपरथी नीरञ्जनकुमार श्रेष्ठको अध्यक्षतामा चारवटै सुरक्षा निकायका अधिकारी सम्मिलित ‘केन्द्रीय कमान्ड पोस्ट’ गठन गरिएको छ। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले भ्रमण अवधिभर माथिल्लो तहका सुरक्षा अधिकारीले प्रयोग गर्ने सवारी ३ दिनका लागि तान्ने तयारी गरेका छन् । उक्त सवारी साधन भ्रमण दलका सदस्यले प्रयोग गर्नेछन् ।

राष्ट्रपति सीका लागि चीनबाटै एयर चाइनाका २ वटा जहाज र ‘एरोहेड कारकेड’ सेट आउने स्रोतको भनाइ छरु। ‘एरोहेड कारकेड’ एक देशका राष्ट्रप्रमुख अर्को देशको राजकीय भ्रमणमा जाँदा धनुषवाण आकारमा गरिएको ‘भीभीआईपी सवारी सुरक्षा व्यवस्थापन’ हो। राष्ट्रपति सीको सुरक्षा व्यवस्थापन र आन्तरिक तयारीलाई सरकारले गोप्य राखेको छ।

पछिल्लो पटक २०७३ कात्तिक १७ देखि १९ गते भारतीय राष्ट्रपति प्रणव मुखर्जी र २०७१ साउन १८ र १९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय भ्रमणमा पनि नेपालले ‘एरोहेड कारकेड’ सहितको सुरक्षा व्यवस्था गरेको थियो । राष्ट्रपति मुखर्जी आउँदा नेपालकै कारकेड प्रयोग गरिए पनि मोदीले भारतबाटै आफूले प्रयोग गर्ने सवारी सेट ल्याएका थिए । मुखर्जीको भ्रमणमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको थियो ।

परराष्ट्र मन्त्रालयले पनि सी भ्रमणको मिति खुलाएको छैन । परराष्ट्रका सहप्रवक्ता सुरेश अधिकारीले मिति तय भइनसकेको प्रतिक्रिया दिए। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपति सीको भ्रमणकै तयारीस्वरूप सोल्टी होटल असोज २५, २६ र २७ गतेका लागि बुक गरिएको छ । सीको भ्रमण चीनबाट सिधै नेपाल हुने वा भारतबाट आउने भन्नेमा पनि यकिन भइसकेको छैन।

धमाधम सडक मर्मत

चिनियाँ राष्ट्रपति सी आउने भएपछि सरकारले उपत्यकाका आधा दर्जनभन्दा बढी सडक सुधार गर्न थालेको छ । सी ओहोरदोहोर गर्ने सडक स्तरोन्नति गर्न लागिएको डिभिजन सडक कार्यालय काठमाडौं स्रोतले बताएको छ। एयरपोर्ट–तीनकुने–माइतीघर–थापाथली–त्रिपुरेश्वर, त्रिपुरेश्वर–शीतल निवास, माइतीघर–भद्रकाली बाइपास, एयरपोर्ट–गौशाला द्वारिका होटलसम्मको सडक सुधार्न लागिएको हो ।

केशरमहल–दरबारमार्ग तीनधारा, रत्नपार्क–भद्रकाली–सुन्धारा, नक्साल भगवती–नागपोखरी–जयनेपाल–हात्तीसार–सिंहदरबार सडक पनि स्तरोन्नति हुँदै छ। यसबाहेक गौशाला–चाबहिल–महाराजगन्ज, गौशाला–रातोपुल–कृष्ण पाउरोटी सडक पनि स्तरोन्नतिको सूचीमा रहेको डिभिजन सडक कार्यालय स्रोतले जानकारी दिएको छ ।

कार्यालयले सोमबार दिउँसो एयरपोर्ट ओरालोको र राति त्रिपुरेश्वर–सुन्धारा खण्डको बीच भागको स्तरोन्नति गरेको छ। ‘बजेट व्यवस्थापन हुन बाँकी छ । तर काम छिटो गर्नुपर्ने भएकाले राति पनि काम गरिरहेका छौं,’ एक इन्जिनियरले भने, ‘योजनामै नभएको सडक पनि स्तरोन्नति गर्नुपर्ने भएकाले रातारात काम सक्नुपर्ने बाध्यता छ।’ (कान्तिपुर)

चर्चामा

सम्बन्धित समाचार