• होमपेज
  • बाजुरा बिशेष
  • नेकपाले टुङ्ग्यायो सुदुरपश्चिमका ८८ स्थानीय तहको एकीकरण बाजुराकाे नाम सहित

नेकपाले टुङ्ग्यायो सुदुरपश्चिमका ८८ स्थानीय तहको एकीकरण बाजुराकाे नाम सहित

  • शनिबार, भदौ २८, २०७६
नेकपाले टुङ्ग्यायो सुदुरपश्चिमका ८८ स्थानीय तहको एकीकरण  बाजुराकाे नाम सहित

धनगढी, २८ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशमा स्थानीय तह र वडा स्तरमा एकीकरण प्रकृया टुङ्ग्याएको छ । धनगढीमा दुई दिनसम्म भएको प्रदेश कमिटीको बैठकले प्रदेशका ८८ वटै स्थानीय तह र वडाहरुमा पार्टीका कमिटी गठन गरेको हो ।
नेकपाका प्रदेश समितिले शुक्रबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज भीम रावलले सर्वसम्मत रुपमा उपमहानगर, नगर र गाउँपालिका तथा वडामा समिति गठन गरिएको बताए । इन्चार्ज रावलले बैठकले जिल्ला कमिटी, टोल, शाखा र सेल कमिटीको कार्यालयमा रहने सदस्य संख्या तथा मापदण्डसमेत तय गरिएको जानकारी दिए ।

‘कार्यदलको सिफारिस, बरिष्ठता, सक्रियताका आधारमा कमिटीहरु गठन गरिएका हुन् ।’ उनले भने, ‘कुनै पनि ठाउँमा विवाद छैन । सर्वसम्मत रुपमा समितिहरु गठन गरेका छौं ।’ नयाँ गठन भएका सबै कमिटीले असोज १५ गतेसम्म सथप ग्रहण गरिसक्ने निर्णयसमेत बैठकले गरेको छ ।
कमिटीको अध्यक्ष र सचिवको टुङ्गो प्रदेश समितिले लगाएको हो । पूर्वएमालेले ५५ प्रतिशत र पूर्वमाओवादीले ४५ हाराहारीमा नेतृत्व पाउने गरी एकता टुंग्याइएको बताइएको छ । पूर्वएमालेले अध्यक्ष पाएको ठाउँमा पूर्वमाओवादीले सचिव र पूर्वमाओवादीले अध्यक्ष पाएको ठाउँमा पूर्वएमालबाट सचिव रहने गरी भागवण्डा गरिएको हो ।
स्थानीय तहमा जिम्मेवारी दिइएका अध्यक्ष र सचिवको नाम भने नेकपाले सार्वजनिक गरेको छैन । जुनियरलाई नेतृत्व दिएकोबारे केही ठाउँमा विवाद देखिएपछि नाम सार्वजनिक नभएको बताइएको छ । शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा इन्चार्ज रावलले दिउँसो सबैका नाम सार्वजनिक गरिने बताएका थिए ।
कैलालीका १३ वटा स्थानीय तहमध्ये सात तहमा पूर्वएमाले र छ तहमा पूर्वमाओवादीले नेतृत्व लिएको छ । प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरको अध्यक्षमा पूर्वएमालेबाट सुशीला बुढाथोकीलाई जिम्मेवारी दिइएको छ । बुढाथोकी सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन् । उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । यस्तै उपमहानगरको सचिवमा पूर्वमाओवादीबाट तिलकबहादुर सिंह चयन भएका छन् ।

प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी नगरपालिकाको अध्यक्ष पूर्वमाओवादी र सचिव पूर्वएमालेबाट चयन गरिएको छ । अध्यक्षमा माओवादी नेता गोकर्ण भट्ट र सचिवमा एमालेका आनन्द भट्ट चयन भएका छन् । गोकर्ण र नेकपा स्थायी समिति सदस्य लेखराज भट्ट दाइभाइ हुन् ।
गौरीगंगा, घोडाघोडी र लम्की–चुहा नगरपालिका तथा जानकी, चुरे र जोशीपुर गाउँपालिकामा अध्यक्ष पूर्वएमाले र सचिव पूर्वमाओवादीको भागमा परेको छ । बाँकी स्थानीय तहमा अध्यक्ष पूर्वमाओवादी र सचिव पूर्वएमालले लिने गरी भागवण्डा गरिएको नेकपाले जनाएको छ ।

असोज १५ गतेभित्र सबै कमिटीको सपथ गरिसक्ने निर्णय प्रदेश कमिटीले गरेको छ । यस्तै कार्तिक १ देखि ३ गतेसम्म स्थानीय तहमा नेकपाका जनप्रतिनिधिका लागि प्रशिक्षण संचालन गर्ने निर्णयसमेत बैठकले गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सामाजिक सञ्जालमा एकअर्का विरुद्ध टिप्पणी गरे कारबाही
सामाजिक सञ्जालमा एकअर्का विरुद्ध नकारात्मक टीकाटीप्पणी गर्ने नेता, कार्यकर्ता र पार्टीका सदस्यलाई कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सामाजिक सञ्जाल र सार्वजनिक रुपमा एकअर्का विरुद्ध टीप्पणी गर्न रोक लगाउने निर्णय भएको जानकारी दिए ।
पार्टीका नेता र पार्टीको विषयमा टिप्पणी गर्ने नेता, कार्यकर्ता र सदस्यलाई कारबाही गरिने उनले बताए । कुनै पनि विषयमा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी एवं आरोप लगाए अनुशासनको कारबाही गरिने नेकपाले जनाएको छ ।
यस्तै नेकपा प्रदेश कमिटीले गुटगत भेला, सम्मेलन गर्न पनि रोक लगाएको छ । पूर्वपार्टी, समूह आदि विभिन्न नाममा गरिने भेला, सम्मेलन गर्न नपाइने निर्णय बैठकले गरेको छ । गुटको भेला तथा पार्टीका विरुद्ध कुनै पनि गतिविधि गरेको पाइए संलग्न नेता–कार्यकर्तालाई अनुशासनको कारबाही गरिने नेकपाले जनाएको छ ।

यसरी हुने गुटगत भेलाले पार्टीभित्र विवाद र तिक्तता बढाएकोले रोक लगाइएको प्रदेश समितिका एक पदाधिकारीले बताए । नेकपामा सुदूरपश्चिममा खासगरी पूर्वएमालेभित्र चरम विवाद रहेको छ । तत्कालीन एमालेका शीर्ष नेता स्तरमै विवाद भएका घटनाहरु बाहिर आउने गरेका छन् ।
कार्यकर्ता तहमा पनि पूर्वएमालेमा बढी विवाद छ । प्रदेश इन्चार्ज रावल पार्टीका बरिष्ट नेता माधवकुमार नेपाल र अध्यक्ष थापा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्ष निकट मानिन्छन् । पूर्वएमालेका यी दुई गुटको विवाद अहिले पनि सतह देखिने गरेको छ ।

प्रदेश इन्चार्ज रावलले भने पार्टीभित्र रहेका सबै विवादको अन्त्य भएको र सर्वसम्मत रुपमा सुदूरपश्चिमका नौ वटै जिल्लाका स्थानीय र वडा कमिटी चयन गरिएको बताए । उनले नौ वटै जिल्ला, स्थानीय र वडा तहसम्मका कमिटिहरु चयन गरेपछि पार्टीका हरेक कार्यकर्तामा उत्साह पैदा भएको बताए ।

‘पार्टीमा भूमिका नपाएर निराश भएकाहरुलाई वडा तहसम्मको कमिटी चयन भएपछि उर्जा र उत्साह थपेको छ ।’ रावलले भने, यसले पार्टीलाई एकतावद्ध बनाएको छ ।’ प्रदेश अध्यक्ष थापाले पार्टीका सबै तह सर्वसम्मतिबाट चयन भएको बताउँदै पार्टी अव एकताबद्ध भएर अघि बढ्ने बताए ।

नेता रावलले सामाजिक सद्भाव बिगार्ने, जनताको एकतालाई बिखण्डित गर्ने गतिविधिमा नलाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै त्यस्ता गतिविधिमा संलग्न हुने व्यक्तिलाई समेत कारबाही गरिने बताए ।
उनले नेकपा थारु जातीको हक, हीत र अधिकारका लागि लडेको पार्टी भएको दावी गर्दै स्थानीय र प्रदेश सरकारमा थारु जातीको प्रतिनिधिलाई विशेष जोड दिइएको बताए । कतिपयले नेकपालाई थारु विरोधी देखाउन खोजेकोमा आपत्ति जनाउँदै उनले भने, ‘हाम्रो पार्टीले जति थारु जातीलाई स्थानीय र प्रदेश सरकारमा अहिलेसम्म कुनै पार्टीले प्रतिनिधित्व गराएको छैन ।’

नेपालको संविधान हजारौको बलिदानी र त्यागबाट प्राप्त भएको बताउँदै नेता रावलले असोज ३ गते संविधान दिवस भव्य रुपमा मनाउनसमेत पार्टीका सबै तह र तप्कालाई निर्देशन दिए । प्रदेश कमिटी बैठकमा इन्चार्ज रावलसहित नेकपा स्थायी समिति सदस्य लेखराज भट्टसमेत सहभागी थिए ।
बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेकपाका सुदूरपश्चिम सह इञ्चार्ज भानुभक्त जोशी, खगराज भट्ट, लक्ष्मणदत्त जोशी, सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, सांसदलगायतको उपस्थिति रहेको थियो ।

बाजुरा जिल्लाका नाै ओटा स्थानीय तहकाे अध्यक्ष र सचिवहरुकाे नामावली

१-बडिमालिका नगरपालिका 

अध्यक्ष – वीरबहादुर रावल

सचिव – चन्द्र बहादुर थापा

२-बुढीगंगा नगरपालिका 

अध्यक्ष – नरेन्द्र थापा

सचिव – भरत बहादुर कुँवर
३-बुढीनन्दा नगरपालिका 

अध्यक्ष – जंगवीर राेकाया

सचिव-  हिक्मत ओड
४-त्रिवेणी नगरपालिका 

अध्यक्ष – चन्द्र बहादुर सुनार 

सचिव – सन्ताेष शाही
५-खप्तड छेडेदह गाउँ पालिका 

अध्यक्ष – गाेपाल बुढा

सचिव – अम्म नाथ
६-गाैमुल गाउँ पालिका 

अध्यक्ष – देवेन्द्र बहादुर राेकाया

सचिव – लाेकेन्द्र बहादुर राेकाया
७-जगन्नाथ गाउँ पालिका 

अध्यक्ष – गणेशराज गिरी

सचिव – गाैरीलाल खत्री
८-स्वामिकार्तिक खापर गाउँ पालिका 

अध्यक्ष – साेवर्ण शाही

सचिव – देवराज विक
९-हिमाली गाउँ पालिका 

अध्यक्ष – नरजंग मल्ल

सचिव – हाँस बहादुर मल्ल

चर्चामा

सम्बन्धित समाचार