सोमवार, साउन ११, २०८३
  • होमपेज
  • गौमुल
  • स्टेचरमै बाटोमा सुत्केरी सेवा, घरमै पुगेर सुत्केरी आमा र शिशुको नियमित चेकजाँच

स्टेचरमै बाटोमा सुत्केरी सेवा, घरमै पुगेर सुत्केरी आमा र शिशुको नियमित चेकजाँच

  • सोमवार, साउन ११, २०८३
सेयर गर्नुहोस् :
स्टेचरमै बाटोमा सुत्केरी सेवा, घरमै पुगेर सुत्केरी आमा र शिशुको नियमित चेकजाँच

टेक बहादुर बुढा— बाजुराको गौमुल गाउँपालिका–५, कोटकी २० वर्षीया कमला बुढालाई सुत्केरी व्यथा लागेपछि आफन्तले स्वास्थ्य चौकीतर्फ लगे। लगातार वर्षा र दुर्गम बाटाका कारण नक्राडा आधारभूत स्वास्थ्य केन्द्र पुग्न अझै करिब ४० मिनेट लाग्ने अवस्था थियो। घरबाट हिँडेको करिब आधा घण्टामै उनको सुत्केरी व्यथा अत्यधिक बढ्यो। बच्चाको टाउको निस्किसकेको अवस्थामा उनलाई बोकेर लैजान सम्भव भएन।

आफन्तले बाटोमै स्टेचरमा राखेर स्वास्थ्यकर्मी बोलाउन गए। बिहान ५ः२० बजे नक्राडा आधारभूत स्वास्थ्य केन्द्रकी अनमी हिमा नेपालीलाई खबर गरे। खबर पाउनेबित्तिकै हिमाले आवश्यक सुत्केरी सामग्री बोकेर घटनास्थलतर्फ दौडिइन्। पुग्दा कमलालाई स्टेचरमा राखिएको थियो र बच्चाको टाउको निस्किसकेको अवस्था थियो।

“आमाको अवस्था निकै गम्भीर थियो। एकातिर लगातार वर्षा भइरहेको थियो भने अर्कोतिर अत्याधिक रक्तस्राव हुने जोखिम थियो,” अनमी हिमाले भनिन्। “तर बाध्यतावश बाटोमै स्टेचरमा सुरक्षित सुत्केरी गराउन सफल भयौँ।”

हिमाले सकुशल शिशुको जन्म गराएर आमा र नवजात शिशु दुवैको ज्यान बचाइन्। उनीहरूलाई स्वास्थ्य चौकीमा लगेर २४ घण्टासम्म स्वास्थ्य निगरानीमा राखिएको थियो। आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य भएपछि घर पठाइएको स्वास्थ्यकर्मीले बताए। कमलाले आफ्नो पहिलो सन्तानका रूपमा छोरीलाई बाटोमै जन्म दिएकी हुन्।

आमा र शिशुलाई घर पठाएपछि पनि अनमी हिमा नियमित रूपमा उनीहरूको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिरहेकी छन्। स्वास्थ्य चौकीबाट कोट गाउँ पुग्न एक घण्टाभन्दा बढी समय लाग्छ। वर्षायाममा बाटो हिलाम्मे हुने, ठाउँ–ठाउँमा पहिरो जाने र खोलानाला बढ्ने भएकाले सुत्केरी आमा र नवजात शिशुलाई स्वास्थ्य चौकीसम्म आउन कठिन हुने गरेको छ।

“वर्षात्का कारण सुत्केरी आमा र नवजात शिशुलाई स्वास्थ्य संस्थासम्म आउन निकै समस्या हुन्छ। त्यसैले म आफैँ घरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएकी छु,” हिमाले भनिन्।

गौमुल गाउँपालिका–५ कोट गाउँ सदरमुकाम मार्तडीबाट निकै टाढा रहेको तथा बझाङ जिल्लाको सीमासँग जोडिएको दुर्गम बस्ती हो। भौगोलिक विकटताका कारण यहाँका नागरिकले आधारभूत स्वास्थ्य सेवासमेत सहज रूपमा पाउन सकिरहेका छैनन्।

गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले स्वास्थ्यकर्मीले घरदैलोमै पुगेर सेवा दिनु केवल जागिरको जिम्मेवारी नभई मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताए। उनले स्वास्थ्यकर्मी हिमा नेपालीको कार्यप्रति उच्च सम्मान व्यक्त गरे।

कमलाजस्तै बाजुराका धेरै महिलाले अझै पनि बाटोमै वा घरमै बच्चा जन्माउन बाध्य हुने गरेका छन्। स्वास्थ्य संस्था टाढा हुनु, दुर्गम भूगोल र यातायातको अभावका कारण यस्तो समस्या निरन्तर रहेको स्वास्थ्यकर्मी दीपक शाह बताउँछन्। उनका अनुसार बाजुरामा हरेक महिना दुईदेखि तीन जना आमाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माउने घटना सार्वजनिक हुने गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार