मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बाजुरा लाम्पाटा घटनामा १० जना पुर्पक्षका लागि थुनामा, ८ जनालाई धरौटी

बाजुरा लाम्पाटा घटनामा १० जना पुर्पक्षका लागि थुनामा, ८ जनालाई धरौटी

  • मङ्लबार, असार ३०, २०८३
सेयर गर्नुहोस् :
बाजुरा लाम्पाटा घटनामा १० जना पुर्पक्षका लागि थुनामा, ८ जनालाई धरौटी

टेक बहादुर बुढा–बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा भएको घटनामा पक्राउ परेका २१ जनामध्ये १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बाजुराले आदेश दिएको छ । अदालतले सोमबार राति दिएको आदेशअनुसार ८ जनालाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न तथा तीन जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

घटनामा संलग्न आरोपितमध्ये एक जना अझै फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले शरीर बन्धक बनाएको कसुरमा २१ जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । थुनामा पठाइएकामा देबराज रावल, चन्द्रबहादुर रावल, किशोर रावल, नरेश रावल, कर रावल, शंकर रावल, रामदत्त रावल, कैलाश छत्याल, बुद्धि रावल र जयबहादुर रावल रहेका छन् ।

त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७२ अनुसार प्रतिवादीहरूको आर्थिक अवस्थालाइ विचार गरि सोहि संहिताको दफा ६८ बमोजिम जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । जसमा मानबहादुर जेठारा, शेर रावल, वीर रावल, सुन्दर जेठारा, लामा रावल, गगन रावल, कालजंग जेठारा र ज्ञानेन्द्र छत्याल रहेका छन् ।

अदालतले सोही संहिताको दफा ६९ बमोजिम बिर्खबहादुर रावल, परेलाल रावल र शान्त रावललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । एक जना अझै फरार रहेका छन भने एक जनाको ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यलय बाजुराका सूचना अधिकारी नरेश बहादुर शाहीले बताए ।

गत जेठ ३ गते हुम्लाबाट आएका स्थानीयको एक समूहले हिमाली गाउँपालिका–३, लाम्पाटा पुगेर स्थानीय जनप्रतिनिधि तथा बासिन्दामाथि कुटपिट, दुर्व्यवहार र बन्धक बनाएको आरोप छ । लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न भवन निर्माण भइरहेको थियो । सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेर भवन निर्माण सुरु गरेपछि त्यसको विरोधमा हुम्लाका केही स्थानीय त्यहाँ पुगेका थिए । उनीहरूले प्रहरी चौकी निर्माण रोक्न खोज्नुका साथै स्थानीयमाथि कुटपिट र दुर्व्यवहार गरेको थियो ।

घटनामा हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गोरा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, नरबहादुर गुरुङ, प्रहरी सहायक हवल्दार महेश धामी तथा हिमाली गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा घाइते भएका थिए । गम्भीर घाइते पेमा गोरा गुरुङ, लक्ष्मी गुरुङ, मिनु कुँवर र नरबहादुर गुरुङलाई हेलिकप्टरमार्फत काठमाडौं लगेर उपचार गरिएको थियो । उपचारपछि उनीहरू घर फर्किसकेका छन् ।

साथै जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारका लागि पुगेको टोलीमाथि पनि कुटपिट तथा दुर्व्यवहार भएको थियो । उक्त टोलीमा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल तथा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसहितको टोली रहेको थियो । उनीहरूमाथि समेत आक्रमण भएको प्रहरीले जनाएको छ ।

लाम्पाटा घटना लगत्तै सरकारले सशस्त्र प्रहरी र नेपाली प्रहरीको अस्थायी सुरक्षा बेश क्याम्प स्थापना गरेको छ । लाम्पाटा सशस्त्र प्रहरी प्रहरी निरीक्षक जनक पौडेलेको नेतृत्वमा २१ जना र प्रहरी सहायक निरिक्षक मिठ्ठु बहादुर बोहराको नेतृत्वमा ७ जना प्रहरी रहेका छन् ।

सरकारद्धारा छानबिन समिति गठन

घटना लगत्तै सरकारले छानबिन प्रक्रिया अघि बढाएको थियो । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज कँडेलको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरी घटनास्थलमा अध्ययन गराएको थियो । समितिले घटनाको स्थलगत अध्ययन गरिसेको छ । प्रतिवेदन भने सार्वजनिक भएको छैन् ।

यस्तै जेठ १० गते सरकारले बाजुरा–हुम्ला जिल्लाबीच देखिएको सीमा विवाद तथा प्राविधिक पक्षको अध्ययन गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा अर्को समिति गठन गरेको थियो । उक्त समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधिहरू सहभागी थिए । समितिले पनि स्थलगत अध्ययन सम्पन्न गरिसकेको छ भने प्रतिवेदन भने सरकारलाइ बुझाएको छैन् ।

चर्चामा

सम्बन्धित समाचार