
काठमाडौँ– नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा समस्या सिर्जना गरिएको पाइएको उल्लेख छ ।
महासंघले तत्काल अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै घटनाको तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। विज्ञप्तिमा अवरोध हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको पनि उल्लेख गरिएको छ।



