
बाजुरा–बाजुरामा २०८३ साउन २ र ३ गते सञ्चालन हुने मौका (पूरक) परीक्षामा १२२ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जिल्लाभरबाट कक्षा १२ को मौका परीक्षामा सहभागी हुने विद्यार्थी संख्या र परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
शिक्षा इकाईकाअनुसार जिल्लाका २१ वटा विद्यालयबाट पूरक परीक्षामा १२२ जना विद्यार्थी सहभागी हुने भएका छ । पूरक परीक्षाका लागि सदरमुकाम मार्तडीस्थित मालिका माध्यमिक विद्यालय परीक्षा केन्द्र तोकिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा दुई दिन मात्र सञ्चालन हुने जनाएको छ । जसअनुसार २ र ३ साउनमा पूरक परीक्षा हुने भएको छ । सार्वजनिक तालिकाअनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुन सुकै विषय भए पनि पहिलो दिन सहभागी हुनु पर्नेछ ।
अनिवार्य अंग्रेजी विषयको परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि पहिलो दिनमात्र परीक्षा हुने बोर्डले जनाएको छ । तर, अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली विषयको परीक्षामा सहभागी हुने परीक्षार्थीहरूले नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्ने छ । बोर्डका अनुसार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि दोस्रो दिन (३ साउन) परीक्षा हुने छ । परीक्षा बिहान ११ बजेदेखि सुरू हुने छ । बोर्डले असार ५ गते शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो ।



