
बाजुरा– बडीमालिका नगरपालिकाको वडा नं. ७ कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को वडा स्तरिय समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा आर्थिक वर्षभरि वडा कार्यालयमार्फत सञ्चालन गरिएका विकास निर्माण, सेवा प्रवाह, सामाजिक तथा पूर्वाधार विकास, बजेट कार्यान्वयन र आगामी योजनाका विषयमा समीक्षा गरिएको वडा सचिव सरिता ठकुल्लाले बताएकी छन ।
समीक्षा कार्यक्रममा सहभागी स्थानीयवासीहरूले वडामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य आधारभूत सेवामा भएका प्रगतिप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै अझै केही क्षेत्रमा सुधार आवश्यक रहेको बताएका थिए। विकास योजनाको प्रभावकारी कार्यान्वयन, बजेटको समान वितरण, गुणस्तरीय सेवा प्रवाह र जनसहभागिता बढाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष धर्मराज पाध्यायले वडा कार्यालयले सीमित स्रोत र साधनका बाबजुद नागरिकको आवश्यकता अनुसार विकास निर्माण र सेवा प्रवाहलाई प्राथमिकता दिएको बताए। उनले समीक्षा कार्यक्रमले प्राप्त सुझावलाई आगामी योजना तथा बजेट निर्माणमा समेटिने प्रतिबद्धता व्यक्त गर्दै जनप्रतिनिधि र नागरिकबीचको सहकार्यबाट मात्रै दिगो विकास सम्भव हुने बताए।
“समीक्षा कार्यक्रमको उद्देश्य विगतका कामको मूल्याङ्कन मात्र होइन, आगामी दिनमा अझ प्रभावकारी र जनमुखी सेवा कसरी दिने भन्ने विषयमा साझा निष्कर्ष निकाल्नु पनि हो,” वडा अध्यक्ष पाध्यायले भने। सहजीकरण गर्दै पूर्वअध्यक्ष मदन जोशीले समीक्षा कार्यक्रमले स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्वलाई बलियो बनाउने उल्लेख गर्दै नागरिकका सुझावलाई योजनामा रूपान्तरण गर्न सके मात्र यस्ता कार्यक्रमको सार्थकता हुने बताए।
कार्यक्रममा आर्थिक वर्षभरि सम्पन्न भएका योजना, बजेट खर्च, उपलब्धि, चुनौती तथा आगामी वर्षका प्राथमिकताबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो। सहभागीहरूले दिएका सुझावलाई आगामी योजना तर्जुमा प्रक्रियामा समावेश गर्ने प्रतिबद्धता वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ बाजुराका पूर्वअध्यक्ष मदन जोशीले गरेका थिए भने सञ्चालन वडा सचिव सरिता ठकुल्लाले गरेकी थिइन्। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, टोल विकास संस्थाका पदाधिकारी, महिला समूह, युवा, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।


