मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बाजुराको दानसाँघु खोलामा बनेको बेलिबृज सञ्चालनमा

बाजुराको दानसाँघु खोलामा बनेको बेलिबृज सञ्चालनमा

  • मङ्लबार, असार १६, २०८३
सेयर गर्नुहोस् :
बाजुराको दानसाँघु खोलामा बनेको बेलिबृज सञ्चालनमा

टेक बहादुर बुढा–बाजुराको बुढीनन्दा नगरपालिका–२ दानसाँघु खोेलामा निर्माण गरिएको बेलिबृज सञ्चालनमा आएको छ । लामो समयदेखि बडिमालिका नगरपालिकाको बुढीगंगा नदीमा थन्किएको बेलिबृज दानसाँघु खोलामा स्थानान्तरण गरेर जडान गरेसँगै सञ्चालनमा आएको छ ।

बडीमालिका नगरपालिका ६ जडाङ्गास्थित बुढीगंगा नदीमा रहेको उक्त बेलिबृज तीन महिनामै दानसाँघु खोलामा निर्माण गरेर सञ्चालनमा आएको प्रदिप राज जैशीले बताएका छन् । दानसाँघु खोलामा पुल नहुँदा समस्या भोग्दै आएका स्थानियलाई बेलिबृज सञ्चालनमा आएसँगै बर्खायाममा आवतजावत गर्न सहजता भएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताएका छन् । नगरप्रमुख बोहराले उक्त खोलामा बेलिबृज सञ्चालनमा आएपछि जिल्लाको पूर्वी उत्तरी क्षेत्रका चार वटा स्थानीय तहका साथै हुम्ला र मुगु लगायत छिमेकी जिल्लाका नागरिकहरुलाई समेत यातायातमा सहजता भएको बताए ।

उक्त बेलिबृज करिब २ करोड बढीको .लागतमा जडाङ्गाबाट मार्तडी कोल्टी सडक अन्तर्गत दानसाँघु खोलामा सारिएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । बेलिबृज निर्माण कार्यको ठेक्का “डि एस जनकल्याण जे भि” काभ्रेले पाएको थियो । चालू आर्थिक वर्षको असार मसान्तभित्र निर्माण कार्य सक्ने गरी भ्याट बाहेक २ करोड १ लाख १० हजार ८ सय १४ रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको थियो । उक्त निर्माण कम्पनीले बुढीगंगा नदीमा रहेको उक्त बेलिबृज सारेर दानसाँघु खोलामा २०८३ जेठ मसान्तभित्रै काम सकेर सञ्चालनमा आएको हो ।

जडाङ्गास्थित बुढीगंगा नदीमा पक्की पुल बनेपछि वर्षौसम्म उक्त बेलिबृज प्रयोगविहीन बनेको थियो । स्थानीयबासीले लामो समयदेखि दानसाँघु खोलामा सहज रुपमा आवतजावतका लागि पुलको आवश्यकता रहेको भन्दै पुल निर्माण गर्न माग गर्दै आएका थिए । यस्तै दानसाँघु खोलामा बेलिबृज निर्माण भएर सञ्चालनमा आइसकेको छ भने सोही खोलामा पक्की पुल समेत निर्माणाधिन अवस्थामा रहेको छ ।

यसअघि उक्त खोलामा पुल नहुँदा बर्षातमा पानीको बहाव बढेर पूर्ण रुपमा यातायात सेवा अवरुद्ध हुने गरेको थियो भने त्यस क्षेत्रका नागरिकहरुले आवतजावतमा समेत सास्ती भोग्दै आएका थिए । अब भने उक्त खोलामा बेलिबृज निर्माण भएसँगै सहज रुपमा यातायात सेवा सञ्चालन भइरहेको यातायात व्यवसायीहरु बताउँछन् । यसअघि पुल नहुँदा बर्षामा यातायात बन्द हुने गरेको थियो । बेलिब्रिज निर्माण भएसँगै बर्षातको समयमा पनि अब सहज रुपमा यातायात सञ्चालनसँगै आवतजावतमा निकै सहजता भएको स्थानीयहरुले बताएका छन् ।

बाजुराको पूर्वी उत्तरी भेगका चार वटा स्थानीय तह बुढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिका जाने लाइफ लाइनका रुपमा रहेको मार्तडी–कोल्टी सडकखण्डका विभिन्न खोलामा हालसम्म पनि पुल नहुँदा यातायातमा समस्या रहदैँ आएको छ । सदरमुकाम मार्तडी नजिकै रहेको अनाई खोला र कोल्टीको दानसाँघु खोलामा पुल निर्माण भएर सञ्चालन भए पनि बडीमालिकाको बाउली खोलामा वर्षौ बितिसक्दा पनि पुल निर्माण कार्य अलपत्र अवस्थामा छ भने रजातोली खोलामा हाल पुल निर्माणाधिन छ ।

ती खोलामा पुल नहुँदा बर्षातमा करिब तीन महिना मार्तडी कोल्टी सडक अवरुद्ध हुदैँ आएको छ । हाल दानसाँघु र अनाई खोलामा पुल निर्माण सम्पन्न भएको तथा बाउली र रजातोली खोलामा पनि तत्काल पुल निर्माण कार्य सम्पन्न भएपछि बाह्रैमास सडकखण्ड सुचारु हुने विश्वास स्थानीयहरुले व्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार