• होमपेज
  • देश/प्रदेश
  • यस्तो छ बुढीगंगाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ बुढीगंगाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

  • शनिबार, असार ६, २०८३
सेयर गर्नुहोस् :
यस्तो छ बुढीगंगाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

बाजुरा–बाजुराको बुढीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बसेको नगर सभाको १४ औं अधिवेशनमार्फत “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार; सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार“ भन्ने दीर्घकालीन सोचका साथ नगर प्रमुख रामबहादुर बानियाँले सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुशासनको प्रत्याभूतिसहित कृषि र पर्यटनमा जोड दिँदै नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य राखेको छ। नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, सोह्रौं योजना, दिगो विकासका लक्ष्यहरू र प्रदेश सरकारका नीतिहरूलाई आधार मानी यो कार्यक्रम तर्जुमा गरिएको नगर प्रमुख बानियाँले बताए ।

शिक्षा, युवा तथा खेलकुद

आगामी वर्ष “हामी सबैको प्रण, सामुदायिक विद्यालयको रूपान्तरण“ र “शैक्षिक गुणस्तरको सुधार पहिलो कक्षाबाट गरौं“ भन्ने अभियानसहित १० वर्षे शिक्षा विकास योजना निर्माण गरी लागू गरिने जनाएको छ । विद्यालयमा न्यूनतम भौतिक पूर्वाधार, सामग्री विस्तार, सिकाइ सुधार योजना कार्यान्वयन र शिक्षक तालिमलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । बालबालिकालाई विद्यालय भर्ना सुनिश्चितता, छात्रवृत्ति तथा दिवा खाजा कार्यक्रम निरन्तरता दिइने र किशोरावस्थाका विद्यार्थीका लागि मनोसामाजिक तथा लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। युवा लक्षित सीपमूलक तालिम, स्वरोजगार सिर्जना र खेलकुद पूर्वाधार विकासमा पनि जोड दिइएको छ।

स्वास्थ्य तथा सरसफाइ

निर्माणाधीन १५ शैय्या अस्पताल सम्पन्न गरी सञ्चालनमा ल्याउने र डिजिटल स्वास्थ्य रणनीतिक योजना (२०८२–२०८५) कार्यान्वयन गर्ने नीति लिइएको छ। जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार ९५% भन्दा बढी खोप सुनिश्चितता, सुत्केरी तथा गर्भवती जाँच विस्तार र कुपोषण न्यूनीकरणका कार्यक्रम सञ्चालन हुनेछन्। आगामी दुई वर्षभित्र सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गर्ने र बुढीगंगा आधारभूत अस्पताललाई पहिलो सेवा बिन्दु बनाउने योजना छ। डिजिटल प्रणालीमा स्वास्थ्य संस्थाहरू रूपान्तरण गरिनेछ।

कृषि, सहकारी तथा पशुपालन

“नगरपालिकाको लगानी, कृषकको आम्दानी“ नाराका साथ फलफूल खेती प्रवद्र्धन, बिउबिजन वितरण र बाली पकेट क्षेत्र विस्तार गरिने बताएको छ । यस्तै निःशुल्क बाली संरक्षण सेवा, सिँचाइ प्रविधि विस्तार र प्राविधिकको सीप नगरपालिकाको लगानी कार्यक्रममार्फत कृषि व्यवसायमा संलग्न हुन चाहने विद्यार्थीलाई अनुदान दिइनेछ। उत्कृष्ट कृषक र पशुपालकलाई नगरप्रमुख कृषि पुरस्कारबाट सम्मान गर्ने व्यवस्था कायम राखिनेछ। सहकारीहरूमा कोपोमिस सफ्टवेयर अनिवार्य गरिने र भू–उपयोग योजना निर्माण गरिने जनाइएको छ।

रोजगार, सीप तथा पर्यटन विकास

रोजगार सेवा केन्द्रलाई रोजगार, सीप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरण गरी तालिमप्राप्त बेरोजगार युवालाई शून्य ब्याजदरमा बीउपूँजी प्रदान गरिनेछ। बार्जुकोट दरबार पुरानै शैलीमा पुनर्निर्माण गर्ने, श्री ज्यूलेखी महथ र त्रिवेणी धामको स्तरोन्नती गर्ने र होमस्टे, टुरिस्ट गाइड, होटल व्यवस्थापनसम्बन्धी तालिम दिई पर्यटन व्यवसायमा युवा आकर्षित गर्ने योजना छ।

भौतिक पूर्वाधार

भवन निर्माण संहिता तथा घर नक्सा पास कार्यविधि लागू गरी ई–नक्सा पास प्रविधि कार्यान्वयनको तयारी गरिनेछ। बाम्का–नगरपालिका, बेतालमाण्डौं–त्रिशक्ति–जुवापानी र ताँप्रीसेरा–भ्रमतोला जोड्ने सडकहरू कालोपत्रे गर्ने काम अघि बढाइनेछ। नगर बस सेवा सञ्चालन, सबाहलमिल निर्माण र वडा नं. ७ को कार्यालय भवन निर्माणजस्ता कामहरू पनि समेटिएका छन्।

जलस्रोत, सिँचाइ तथा ऊर्जा

एक घर एक धारा अभियानलाई सुचारु गरी सबै जनतालाई सुरक्षित खानेपानीको पहुँच पुर्‍याउने र दुई वर्षभित्र सबै घरधुरीमा धुवाँरहित चुलो सुधार्ने लक्ष्यसहित “उज्यालो र धुवाँरहित बुढीगंगा नगरपालिका“ नाराका साथ विद्युत प्रशारण लाइन विस्तार गरिनेछ। बुढीगंगा–बाम्मा–मोग्रा लिफ्टिङ खानेपानी तथा सिँचाइ आयोजना सुरु गरिने लक्ष्य राखेको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा

बालविवाह, लागुपदार्थ दुर्व्यसन, बाल यौन दुर्व्यवहार, बाल श्रम, महिला हिंसा र छाउपडीजस्ता हानिकारक व्यवहारको अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। हिंसापीडित महिलाका लागि राहत, उद्धार, पुनर्स्थापना र कानुनी सहायताको व्यवस्था मिलाइने जनाएको छ । त्यस्तै नगर उपप्रमुख कोशेली कार्यक्रमलाई निरन्तरता दिँदै बालकल्याण अधिकारीको व्यवस्थापन र बाल कल्याण कोषको स्थापना गरिनेछ। ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्तरोन्नती र प्रत्येक वडामा ज्येष्ठ नागरिक क्लब गठन गर्ने योजना पनि छ।
जलवायु परिवर्तन, प्राकृतिक स्रोत तथा विपद् व्यवस्थापन

हरियाली वन, स्थानीय जनताको धन भन्ने नाराका साथ सामुदायिक वन व्यवस्थापन र वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने, उच्च जोखिममा परेका बस्तीहरूको स्थानान्तरण प्रक्रिया अघि बढाइने र विपद् प्रभावित क्षेत्रहरूमा पूर्व सूचना प्रणाली स्थापना गरिने उल्लेख गरेको छ ।

सूचना प्रविधि, संस्थागत विकास तथा सुशासन

“ई–बुढीगंगा“ कार्यक्रममार्फत नगरपालिकाका सबै सेवालाई अनलाइन प्रणालीमार्फत सञ्चालन गरिने, ई–प्रोफाइल निर्माण, गुनासो सुनुवाई संयन्त्रको डिजिटलाइजेसन र नगरपालिकाको भू–उपयोग नक्सा तयार गरिनेछ। नियमित सार्वजनिक सुनुवाई, सार्वजनिक लेखापरीक्षण र बेरुजु न्यूनीकरणका लागि आ.ले.प. शाखालाई व्यवस्थित गरिने जनाइएको छ। १० लाख वा सोभन्दा माथिका निर्माण कार्यमा अनिवार्य पारदर्शिता बोर्ड राख्ने व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा समेटेको छ ।

नगर प्रमुख बानियाँले उत्कृष्ट विद्यालय, कर्मचारी, सहकारी र सामाजिक संस्थालाई सम्मान गर्ने कार्यक्रम निरन्तरता दिने, कर्मचारी कल्याण कोषको स्थापना गर्ने र वार्षिक प्रगति प्रतिवेदन आर्थिक वर्ष समाप्तिमा सार्वजनिक गर्ने व्यवस्था मिलाइने बताए । यस्तै उनले नीति तथा कार्यक्रम तर्जुमामा सहयोग पुर्‍याउने राजनीतिक दल, नगरकार्यपालिका सदस्य, कर्मचारी, सञ्चार माध्यम, नागरिक समाज र सबै नगरवासीप्रति आभार व्यक्त गर्दै सबैको सहकार्यमा यो कार्यक्रम कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ ।

यस्तो छ पूर्णपाठ ।

चर्चामा

सम्बन्धित समाचार