बाजुरा— बाजुराको बडिमालिका नगरपालिका–७ सिराडी नजिकै कोल्टी–मार्तडी सडकखण्डमा जिपको ठक्करबाट एक बालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार साँझ करिब ४:४० बजे सडकमा हिँडिरहेका बडिमालिका नगरपालिका–७ निवासी रामबहादुर विकका १४ वर्षीय छोरा दिलिप विकलाई जिपले ठक्कर दिएको हो। दुर्घटनामा दिलिपको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते बालकलाई तत्काल आफन्तले उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्याएका थिए। अस्पतालमा प्रारम्भिक उपचारपछि उनको अवस्था मध्यम रहेको र थप उपचार आवश्यक देखिएकाले साँझ ७:४५ बजे धनगढी, कैलाली रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि जिप चालक फरार भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी सहायक निरीक्षक महन्त सिंह बोहराको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले जिप र चालकको खोजी कार्य तीव्र बनाएको थियो।
खोजतलासका क्रममा राति ९:२५ बजे बडिमालिका नगरपालिका–९ मार्तडी बजारबाट भे १ च ४०८० नम्बरको जिप फेला पारिएको प्रहरीले जनाएको छ। उक्त जिप सल्यान जिल्लाको बागचौर नगरपालिका–७ निवासी २४ वर्षीय गोपाल वलीले चलाएको खुलेपछि जिप र चालक दुवैलाई नियन्त्रणमा लिइएको छ।
प्रहरी निरीक्षक नरेशबहादुर शाहीसहितको थप प्रहरी टोलीले चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।