
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति तराईका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज सूर्योदय बिहान ६ बजेर ५६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३२ मिनेटमा हुनेछ ।
