
बाजुरा—मार्तडी काेल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका–७ मा निर्माण हुन लागेको रजाताेली सडक पुलको शिलान्यास गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले एक कार्यक्रमका बीच पुल निर्माण कार्यको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पालले दुर्गम तथा पहाडी जिल्लाको समग्र विकासका लागि सडक र पुलजस्ता पूर्वाधार अत्यावश्यक रहेको उल्लेख गरे। उनले भने, “पूर्वाधार विकास बिना समृद्धि सम्भव छैन। बाजुरा जस्ता दुर्गम जिल्लामा पुल निर्माणले जनजीवन सहज बनाउनुका साथै आर्थिक गतिविधि विस्तारमा ठूलो योगदान पुर्याउँछ। रजाटोली पुल यस क्षेत्रको विकासमा कोशेढुंगा सावित हुनेछ।”
मन्त्री पालले निर्माण कार्यलाई समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र निर्माण कम्पनीलाई निर्देशन दिँदै सरकारले विकास आयोजनामा लापरवाही सहन नसक्ने स्पष्ट पारे। “सरकारले जनताको आवश्यकता हेरेर योजना ल्याएको हो, अब काम ढिलाइ होइन, परिणाम देखिनुपर्छ,” उनले थपे।
पूर्वाधार विकास कार्यालय, साँफेबगर अछामको आयोजनामा निर्माण हुन लागेको उक्त पुल आर.सि.सि. मोटरेबल पुल हुनेछ। पुल एकल स्पानको हुने र यसको लम्बाइ २० मिटर रहने जानकारी दिइएको छ। पुलसँगै पहुँच सडक निर्माण, नदी प्रशिक्षण तथा संरक्षण सम्बन्धी कार्यसमेत गरिनेछ।
कार्यालयका अनुसार पुल निर्माणको ठेक्का PK–CPCS–SC JV, ले पाएको छ। निर्माण कार्यका लागि २०८२ साल चैत २२ गते सम्झौता भएको र २०८४ साल चैत २० गते भित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको कुल लागत ३ करोड ५८ लाख २५ हजार १०० रुपैयाँ ९३ पैसा भ्याट रहेको छ।
स्थानीयवासीहरूले पुल निर्माणपछि वर्षायाममा हुने आवतजावतको समस्या समाधान हुने, सेवा–सुविधामा पहुँच बढ्ने र स्थानीय उत्पादनको बजारसम्म पहुँच सहज हुने अपेक्षा गरेका छन्। कार्यक्रमका सहभागीहरूले विकास निर्माणका कामलाई राजनीतिकभन्दा माथि राखेर समयमै सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्रदेश सांसद पदम बहादुर शाही, जिल्ला समन्वय प्रमुख तुलसीराम राेकाया, बडीमालिका नगरपालिका प्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैला लगायत पार्टी प्रतिनिधि तथा स्थानियकाे सहभागिता रहेकाे थियाे ।


