बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • तीन महिनामा २० बैंकको नाफा सवा १६ अर्ब

तीन महिनामा २० बैंकको नाफा सवा १६ अर्ब

  • बिहिबार, कार्तिक ८, २०८१
तीन महिनामा २० बैंकको नाफा सवा १६ अर्ब

काठमाडौँ— चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० वटा वाणिज्य बैंकले कुल १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिको खुद नाफा करिब २१ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा २० वाणिज्य बैंकको खुद नाफा १३ अर्ब ३४ करोड रुपैयाँ थियो ।

गत वर्षभर जस्तै यस आर्थिक वर्षका तीन महिनामा पनि बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ । लगातार निक्षेप बढिरहे पनि कर्जाको माग बढ्न नसक्दा बैंकहरूसँग ऋण दिन मिल्ने रकम थुप्रिएर बसेको छ । पैसा थुप्रिएपछि बैंकहरूले निरन्तर रूपमा निक्षेपको ब्याजदर घटाएका छन् । निक्षेपको ब्याज घटेसँगै कर्जाको ब्याजदर पनि घटेर एकल अंकमा पुगिसकेको छ । बैंक तथा वित्तीय संस्थाले ७–८ प्रतिशतमा कर्जाका विभिन्न योजना ल्याइरहेका छन् । तर ऋणको माग बढ्न नसकेकाले अपेक्षित रूपमा कर्जा विस्तार हुन सकेको छैन । यद्यपि यस आर्थिक वर्षको तीन महिनामा औसतमा वाणिज्य बैंकहरूको खुद नाफा बढेको छ ।

गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा बैंकहरूको सात वटाको नाफा घटेको छ भने १३ वटाको बढेको बुधबार बैंकहरूले प्रकाशन गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । अप्ठ्यारो परिस्थितिका बाबजुद पनि बैंकले प्रभावकारी रूपमा कम गरेको र नियामक निकायको सहज नीतिगत व्यवस्थाका कारण बैंकहरूको खुद नाफा करिब २१ प्रतिशतले बढेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।

‘गत वर्षको तुलनामा पहिलो त्रैमासमा बैंकहरूको खुद ब्याज आय करिब ६ प्रतिशतले घटेको छ । यसको कारण मर्जरका कारण केही बैंकले गत वर्ष स्प्रेडमा सुविधा पाएका थिए, अहिले त्यो छैन, कर्जा बढ्न नसक्दा सीडी रेसियो कम भएकाले ब्याज घट्यो,’ उनले भने, ‘बैंकहरूले बढी भएको पैसा राख्ने ऋणपत्र टेजरी बिललगायतमा हो । ती औजारमा पनि गत वर्षको भन्दा यस वर्ष ब्याजदर घटेको छ ।’

यस अवधिमा बैंकहरूको शुल्क आय बढेको र नीतिगत व्यवस्थाका कारण खराब कर्जाबापतको व्यवस्थामा कमी आएकाले नाफा बढ्न सहयोग पुगेको अध्यक्ष केसीले बताए । ‘त्रैमासको साँवाब्याज भुक्तानी/असुली असोजमा आएको ठूलो बाढी पहिलो जनधनको क्षति पुर्‍याएकाले केही असर पर्‍यो,’ उनले भने, ‘अब बाढीपहिरोले पुर्‍याएको पूर्वाधार क्षतिको पुनर्निर्माणलाई तीव्रता दिन सके कर्जा माग बढ्छ ।’ त्यसो हुँदा अर्को त्रैमाससम्म बैंकहरूको नाफामा सुधार आउने उनले जनाए ।
यसअघि असल कर्जामा १.३ प्रतिशतसम्म प्रावधान राख्नुपर्ने व्यवस्था कम गर्दै १.२ प्रतिशतमा बनाएको छ । कर्जा नियमित भए पनि ६ महिना अवधिपछि मात्रै सो कर्जालाई असल वर्गमा राख्नुपर्ने व्यवस्थामा राष्ट्र बैंक लचिलो भएको थियो । यो व्यवस्थाले खराब कर्जाबापत कम रकम छुट्याउनुपरेकाले नाफामा सुधार आएको हो । हाल कर्जा नियमित भएसँगै सूक्ष्म निगरानी वर्गमा ५ प्रतिशत मात्रै प्रावधान राखे पुग्छ ।

पहिलो त्रैमासमा बैंकहरूको खुद ब्याज आम्दानी ७.७४ प्रतिशतले घटेर ४५ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकहरूको खुद ब्याज आम्दानी ४९ अर्ब ४७ करोड थियो । गत वर्षको तीन महिनामा बैंकहरूले १७ अर्ब ५९ करोड रुपैयाँ खराब कर्जाबापतको व्यवस्था राखेकामा यस वर्षको सोही अवधिमा घटेर ११ अर्ब १६ करोड कायम भएको छ । पहिलो त्रैमासमा बैंकहरूको खराब कर्जा औसतमा ३.५२ प्रतिशत छ । गत वर्षको सोही अवधिमा खराब कर्जा औसत ३.०६ प्रतिशत थियो ।

बैंकहरूको औसत प्रतिसेयर आम्दानी वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १४.६७ प्रतिशत रहेकामा यस पटक १७.०४ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ । यस वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक देखिएको छ । गत आर्थिक वर्षमा नबिल बैंकको खुद नाफा २ अर्ब ५ करोड रुपैयाँ छ । ७ वटा बैंकको नाफा एक अर्ब रुपैयाँ भन्दा धेरै छ भने बाँकी १२ वटाको नाफा एक अर्बभन्दा कम छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष ७ वटा बैंकको खुद नाफा भने घटेको छ ।

बैंकिङ क्षेत्रका लागि गत वर्ष निकै चुनौतीपूर्ण थियो, करिब ६ प्रतिशत मात्र कर्जा विस्तार भयो, वर्षभर अधिक तरलता लिएर बस्नुपर्‍यो, खराब कर्जा पनि लगातार बढिरहेको थियो । राष्ट्र बैंकले साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो । यस वर्ष साढे १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राष्ट्र बैंकले तय गरेको छ । कान्तीपुर दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार