शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • चार वर्षदेखि अलपत्र चर्चित बेलिब्रिज सार्न प्रदेश सरकारबाट २५ लाख बजेट

चार वर्षदेखि अलपत्र चर्चित बेलिब्रिज सार्न प्रदेश सरकारबाट २५ लाख बजेट

  • शुक्रबार, अशोज ४, २०८१
चार वर्षदेखि अलपत्र चर्चित बेलिब्रिज सार्न प्रदेश सरकारबाट २५ लाख बजेट

बाजुरा– सधैं चर्चामा रहेको बाजुराको बुढीगंगा नदिमा रहेको बेलिबृज सार्न सुदूरपश्चिम प्रदेश सरकारले २५ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले हालै ल्याएको नयाँ बजेटमा बुढिगंगा नदिमा रहेको बेलिबृज सार्न २५ लाख बजेट विनियोजन गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको बजेट सो बेलिबृज सार्न अझै अपुग हुने प्राविधिकहरु बताउँछन् । बुढीगंगा नदिमा रहेको बेलिबृज अर्को ठाउँ सार्न करिव ३ करोड बजेट आवश्यक हो, तर प्रदेश सरकारले विनियोजन गरेको २५ लाख पुल ढुवानी समेत नहुने प्राविधिकहरुले बताउने गरेका छन् ।
बाजुराको बडिमालिका नगरपालिका अन्तर्गत साँफे-मार्तडी सडक खण्डको जडाङ्गमा रहेको बेलिब्रिज चार वर्षदेखि नदीमै थन्किएको छ । पक्की पुल निर्माण भएको तीन वर्ष पुग्न लाग्दासम्म पनि बेलिबृज अन्य ठाउँमा सार्न पहल नहुँदा नदीमै थन्किएको छ । बुढीगंगा नदीको जडाङ्गमा दुईवटा गाडी गुड्ने पुल छन् । तर जिल्लाका अरू सडकखण्डमा भने एउटा पुल पनि निर्माण हुन सकेको छैन । बाजुराको मार्तडी-कोल्टी सडकखण्डका तीन ठूला नदी र काँडा-आटिचौर-मार्तडी जोडने सडक खण्डको भौनेरामा पुल निर्माण नहुँदा वर्षातमा यातायात पूर्ण रूपमा ठप्प हुन्छ ।
जिल्ला तहमा बेलिब्रिज अर्को ठाउँमा सारिनुपर्ने स्थानीयले माग राखेपनि अन्यन्त्र सार्न अहिलेसम्म कुनै योजना बनेको छैन । उक्त पुल सडक विभागको हो । सडक विभागसँग कता सार्ने भन्ने ठोस योजना नहुँदा बेलिब्रिज नदीमै थन्किएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । अन्यत्र सारेको भए त्यहाँका बासिन्दा लाभान्वित हुने भन्दै आफ्नो ठाउँबाट यसका लागि पहल भइरहेको भए पनि बजेटको सुनिश्चितता नहँुदा सार्न नसकेको प्रशासन स्रोतको बुझाई छ ।
बेलिब्रिज सार्न जिल्लास्तरमा पटकपटक गरी १२ वटा सर्वदलीय बैठक बसेपनि प्रदेश र संघबाट बजेट व्यवस्थापन नहँुदा बेलिबृज सार्न नसकेको यहाँका राजनितक दलका प्रतिनिधीहरुले बताउने गरेका छन् । जडाङ्गको बुढीगंगा नदीमा २५ साउन २०७७ मा आएको बाढीले बेलिबृज बगाएको थियो । लगत्तै सडक विभागले तत्काल ठेक्का खोलेर सोही वर्षको माघ महिनादेखि बेलिब्रिज सञ्चालनमा ल्याएको थियो । यो पुल सञ्चालनमा आएको १ वर्षपछि खोलामा पक्की पुन निर्माण सम्पन्न भएको थियो ।

जडाङ्गमा तत्कालीन समयमा सडक डिभिजन कार्यालय साँफेबगरले बेलिबृज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखमा ठेक्का आह्वान गरेर काम गरेको थियो । सडक डिभिजन कार्यालय साँफेबगरका एक कर्मचारीले भने बेलिब्रिज कता लैजाने भन्ने कुनै निणर्य नभएको बताए । उनले भने, ‘केन्द्रबाट कुनै निर्देशन आएको छैन ।’
बाजुराका धेरै नदीमा यस्तो पुल आवश्यक छ । मार्तडी कोल्टी सडकखण्ड अन्तर्गत अनाई खोलाले एक वर्ष पहिला ट्याक्टर बगाउँदा चालक हालसम्म पनि बेपत्ता छन् । खोलामा पुल नहुँदा रातिको समयमा ट्याक्टर तार्न खोज्दा बाढीले बगाएको थियो । बडीमालिका नगरपालिकाका नगरप्रमुख अम्मर खड्काले भने बूढीगंगा नदीमा रहेको बेलिब्रिज अन्यत्र सार्न पहल भइरहेको बताए । उनले भने, ‘तर संघीय सरकारको बेलिब्रिज भएकाले सडक विभागले निणर्य गर्न नसक्दा यो अलपत्र हुन पुगेको छ ।’
बेलिब्रिज निर्माणदेखि स्थापना सम्ममा १० करोडभन्दा बढी खर्च हुने विभागको भनाइ छ । यसरी करोडौं रुपैयाँ पर्ने बेलिब्रिज अहिले प्रयोगहीन अवस्थामा छ । यसलाई अन्यत्र सार्नेमा कसैको ध्यान जान नसकेको सर्वसाधारणको भनाइ छ । बाजुराबाट निर्वाचित संघीय र प्रदेश सांसदले यसलाई अन्यत्र सार्न पहल गरिरहेको बताए पनि कार्यान्वयन हुन सकेको छैन् ।
साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गामा मोटरेवल पक्की पुल निर्माण भएपश्चात सो ठाउँमा रहेको बेलिबृज मार्तडी कोल्टी सडकखण्ड अन्तरगत कोल्टीको दानसाँघुमा सार्ने निणर्य भएको थियो । जिल्ला प्रशासन कार्यालय बाजुरामा पटक पटक बसेका सर्वपक्षिय बैठकले प्रदेश सरकारसंग बजेट माग गर्ने निणर्य गरेर पठाएको भए पनि यो बजेटले बेलिबृज सार्न अपुग हुने गरेको छ । जिल्लामा रहेका वर्तमान सांसद निवर्तमान सांसदहरुको चासो बढेको भएपनि सो बेलिबृज अर्को ठाउँ सार्ने प्रयास सफल हुन सकेको छैन् ।
२०८० माघ १८ गते जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा संघिय सांसद बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्य र जिल्लाका नौ ओटै स्थानिय तहका प्रमुख अध्यक्षहरुको समन्वय बैठकले पनि सो बेलिबृज सार्ने र प्रदेश सरकारसंग बजेट सुनिश्चतताका लागि पहल गर्ने निणर्य समेत भएको थियो । बेलिबृज सार्ने भन्ने निणर्य धेरै भए तर कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार