बागलुङ —बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ।
गाउँपालिकामाको वडा नम्बर १० मा ६ जना र वडा नम्बर ९ मा दुई जना गरी आठ जनाको मृत्यु भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए। बरालले वडा नम्बर १० मा ७ वर्षीया मालती बुढा, मधु बुढा, मन्जु विकको ६ महिनाको छोरी, १३ वर्षीय मनोज बुढा, अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको हो।
यसैगरी चार जना घाइते भएका छन्। वडा नम्बर १० का ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा विक, ३२ वर्षीया सीता थापा र ४२ वर्षीय मंगलसिंह बुढा घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गर्न हेलिकोप्टर पठाउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए।
यसैगरी पहिरोले पुरिएर बडिगाड गाउँपालिका-९ मा १५ वर्षीय विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक र बडीगाड गाउँपालिकाको उपाध्यक्ष लगायतको टोली घटनास्थल जाँदै गरेको जनाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।