काठमाडौँ —नेकपा एकीकृत समाजवादीले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारकाे मापदण्ड बनाउने भएको छ । यसअघि चुनाव हारेका र समानुपातिक सूचीमा नाम राखेकाहरु नै अहिले राष्ट्रियसभा सदस्य उम्मेदवार बन्न दौडधुपमा लागेपछि सो पार्टीले मापदण्ड बनाउन लागेको हो ।
‘उम्मेदवारी दर्ता गर्नुअघि पार्टी सचिवालय बैठक बसेर मापदण्ड तय गर्छ’, उपाध्यक्ष राजेन्द्र पाण्डेले रातोपाटीसँग भने, ‘यसअघि चुनाव हारेका र समानुपातिक सूचीमा नाम लेखाएकाहरू माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउनुहुँदैन भन्ने मेरो स्पष्ट मत छ ।’
उनले चुनाव हारेका र समानुपातिक सूचीमा नाम परेकाहरूलाई राष्ट्रियसभाको उम्मेदवार बनाए पार्टी नबन्ने भन्दै पार्टी बैठकमै कुरा राखेको बताए । ‘मैले यो कुरा पार्टी बैठकमै कुरा राखेको छु । तर निर्णय भैसकेको छैन । उम्मेदवारी दर्ताअघि निश्चित मापदण्ड बनाउँछौ’, पाण्डेको भनाइ छ ।
फागुन २० बाट रिक्त हुने २० पदमध्ये माघ ११ गते १९ पदमा निर्वाचन हुँदै छ । त्यसमध्ये एकीकृत समाजवादीका नन्दा चपाई र सिंहबहादुर विकको अवधि सकिँदै छ । कर्णालीबाट चपाई र बागमतीबाट विकका साथै एकीकृत समाजवादीकै चुनाव चिह्नबाट चुनाव लडेका खिमलाल देवकोटाको स्थान र थप एक सिट पाउनुपर्ने सो पार्टीले जनाएको छ ।
यदि एकीकृत समाजवादीको प्रस्ताव गठबन्धनले स्वीकारेमा १९ मध्ये चार सिट उसको पक्का हुनेछ । सत्ता गठबन्धनले राष्ट्रियसभामा पनि गठबन्धन गर्ने जनाए पनि भागबन्डा मिलिसकेको छैन । खासगरी आ–आफ्ना पार्टीका यथावत् राखेर एमालेले जितेका ८ स्थानमा गठबन्धनभित्र कसले कति सिट लिने भन्ने निर्क्योल भैसकेको छैन ।
त्यसका लागि गठबन्धनको बैठक चाँडै बसेर भागबन्डा गर्ने तयारी छ । एकीकृत समाजवादीमा राष्ट्रियसभामा जान पदाधिकारीहरू नै मरिहत्ते गरेका छन् । राष्ट्रियसभा सदस्य बन्न उपाध्यक्ष प्रमेश हमाल, महासचिव घनश्याम भुसालदेखि उपमहासचिव गङ्गालाल तुलाधरसम्म इच्छुक देखिएका छन् ।
महासचिव भुसाल रुपन्देहीमा निर्वाचन लडेका हुन् भने हमाल र तुलाधर समानुपातिक सूचीमा परेका थिए । एकीकृत समाजवादीले समानुपातिक सूचीमा रहेका १०२ जनाको नाम बन्द सूचीबाट हटाउन निर्वाचन आयोगमा निवेदन दिइसकेको छ ।