काठमाडौँ — काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे खाना पकाउने ग्यास ‘लिक’ भएर आगलागी हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भए । हरिकलाको बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुरस्थित अस्पतालमा निधन भयो ।
स्वास्थ्य अवस्था जटिल रहेका सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।
बिहीबार नै दाङ तुलसीपुरमा पनि खाना पकाउने क्रममा ग्यास ‘लिक’ भएर सिलिन्डर पड्किँदा २ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरा निवासी ५० वर्षीया कुसुम केसीले सञ्चालन गर्दै आएको कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्यास ‘लिक’ भएर पड्किँदा उनीहरू घाइते भएका हुन् ।
केही घण्टाको अन्तरालमा भएका यी दुवै घटनाले सिलिन्डरको गुणस्तर र सुरक्षित प्रयोगबारे प्रश्न खडा भएका छन् । ग्यास सिलिन्डर प्रयोगबारे पर्याप्त जानकारी नहुँदा र म्याद नाघेको सिलिन्डरले बर्सेनि यस्ता घटना दोहोरिने गरेका छन् । ग्यास सिलिन्डरको हाइड्रोलिक/हाइड्रोस्टाटिक प्रेसर टेस्ट, रेगुलेटर र कमसल पाइपसँगै सचेतनाका कमीले दुर्घटना बढेको जानकारहरूको भनाइ छ ।
‘सरकार र उद्योगी गैरजिम्मेवार भए, ग्यास प्रयोगबाट सचेतना फैलाउन नसक्दा बर्सेनि घटना दोहोरिएका छन् । उद्योगीहरूले पर्याप्त परीक्षणबिना सिलिन्डर पठाउँछन् तर बजार अनुगमन हुँदैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘ठूलो घटना भएका बेला सिलिन्डर, रेगुलेटर, भल्भ र पाइपको कुरा आउँछ । त्यसपश्चात् पुनः बिर्सिने बानीले समस्या निम्त्याएको छ ।’ उनका अनुसार ग्यास दुर्घटना हुनुको एउटा कारण कमसल रेगुलेटर र पाइप पनि हो । तर, अनुगमन गर्ने जिम्मेवार निकायले चासो नदिएको उनको भनाइ छ ।
नेपाल आयल निगमका एलपी तथा एभिएसन विभाग निर्देशक नेत्रप्रसाद काफ्लेका अनुसार मुलुकभर ५९ ग्यास उद्योग छन् । ती उद्योगका १ करोड ११ लाख सिलिन्डर बजारमा छन् । तिनको परीक्षण, प्रयोग विधि र सचेतनाको अभावले दुर्घटना हुने गरेको जानकारहरू बताउँछन् । सही तरिकाले प्रयोग नहुँदा घरघरमा ‘सिलिन्डर बम’ रहेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । ‘अहिले प्रत्येक घरमा सिलिन्डर बम छ, सही तरिकाले प्रयोग गर्न नसके ठूलो दुर्घटना निम्त्याउँछ,’ उनले भने, ‘तर, नागरिकलाई सचेत गराउने हकमा सरकार गैरजिम्मेवार देखिएको छ ।’
ग्यास विक्रेता महासंघका अध्यक्ष चन्द्र थापाले पछिल्ला घटना सचेतनाकै कमीले भएको दाबी गरे । अहिले देखिएको समस्या समाधान गर्न ग्यास डिलरदेखि नै सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘ग्यास प्रज्वलनशील पदार्थ भएकाले किराना/तरकारीसँगै राखेर कारोबार सुरक्षित हुँदैन । समस्या पर्दा समाधान र प्रयोगबारे जानकारी गराउन सक्ने डिलरबाट ग्यास वितरण हुनुपर्ने नियम आवश्यक छ,’ अध्यक्ष थापाले भने, ‘सर्वसाधारणले एनएस चिह्न भएको रेगुलेटर, तारले जेलिएको रबरको पाइप प्रयोग र सँगसँगै गुणस्तरीय चुलोको प्रयोग गर्नुपर्छ ।’ रेगुलेटर र पाइप नेपाली भए एनएस चिह्न अंकित र विदेशी उत्पादन भए आईएसओ अंकित लोगो हेरेर मात्रै खरिद गर्न विज्ञ सुझाउँछन् । त्यस्तै, कुच्चिएको सिलिन्डर र म्याद नाघेको सिलिन्डर प्रयोग गर्दा घटना हुने जोखिम उच्च हुने अध्यक्ष थापाको भनाइ छ ।
‘खाना बनाउँदा भान्छाको झ्याल खुला राख्नुपर्यो, खाना पकाइसकेपछि रेगुलेटर बन्द गर्नुपर्यो,’ उनले भने, ‘ग्यास लिकेज भएर गन्ध आए तत्काल सेफ्टी क्याप राखेर सिलिन्डर सुरक्षित तवरले खुला ठाउँमा राखी सम्बन्धित डिलरलाई जानकारी गराउनुपर्छ ।’ सिलिन्डरको भल्भबाट पनि ग्यास लिक हुने सम्भावना रहेकाले उपभोक्ताले भल्भ कुच्चिएको वा बांगिएको अवस्थामा फिर्ता गर्नुपर्ने उनी बताउँछन् । रेगुलेटर र पाइप स्वदेशमा पनि उत्पादन हुने गरेका छन् । धेरैजसोले गुणस्तरको मापदण्ड पालना गर्न नसक्ने भएकाले त्यससम्बन्धी निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने उपभोक्ताकर्मीको भनाइ छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्रका अनुसार ग्यास पड्किनुमा विभिन्न कारण छन् । धेरैजसो ग्यास ‘लिक’ रेगुलेटर भल्भबाटै हुने गरेको उनले बताए । गुणस्तरीय रेगुलेटर राख्न र पाइपको सही रूपमा फिटिङ गर्न उनले सुझाए । ‘पाइप, रेगुलेटर र चुलोमा फिटिङ सही तरिकाले नहुँदा ग्यास लिकेज हुन सक्छ, यसप्रति एकदमै सजग हुनुपर्छ,’ उनले भने । सिलिन्डर किन्दा पनि केही आधारभूत पक्ष उपभोक्ताले बुझ्नैपर्ने विभागले जनाएको छ । भल्भका कारण पनि जोखिम हुने भएकाले सिलिन्डरमा सेफ्टी क्याप अनिवार्य हुनुपर्छ । सिलिन्डरको बडी लिकेजका सन्दर्भमा, ग्यास उद्योग, वितरक, डिलरमा समेत स्टोर हुने हुँदा लिकेज थाहा हुन्छ ।
सर्वसाधारणले ग्यास सिलिन्डर खरिद गर्दा म्याद नाघे/ननाघेको र सिलिन्डर कुच्चिएको हेर्नुपर्ने विज्ञहरू बताउँछन् । विभागका महानिर्देशक मिश्रले सिलिन्डरको माथिल्लो सतहको भित्री बारमा लेखिएको म्याद हेरेर मात्र खरिद गर्न सुझाए । उनका अनुसार म्यादमा ए, बी, सी वा डी भनेर चारवटा अंग्रेजी अक्षरमध्ये एउटा र सालका दुई अंक लेखिएको हुन्छ । ‘एउटा अक्षरले तीन महिना जनाउँछ । ए लेखिएको भए जनवरीदेखि मार्चसम्म बुझाउँछ,’ मिश्रले भने, ‘त्यसैगरी, बी, सी र डीको अवधि हरेक ३ महिनाका दरले क्रमशः तोकिएको हुन्छ । त्यसपछि दुई अंक (जस्तैः २३, २४, २५, २६, २७, २८) लेखिएको हुन्छ । यसले म्याद सकिने अंग्रेजी मितिलाई जनाउँछ । यदि ए–२४ लेखिएको भए २०२४ मार्चसम्म मात्रै प्रयोगको उपयुक्त म्याद हो ।’
उनका अनुसार उद्योगहरूले सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक टेस्ट गर्नुपर्छ । ‘परीक्षण गर्दा सिलिन्डरको तौल घट्नुभएन । ३/३ वर्षमा परीक्षण गर्दा सरोकारवाला निकायको उपस्थितिमा परीक्षण हुनुपर्छ,’ मिश्रले भने, ‘परीक्षणमा केही समस्या देखिए तत्काल नष्ट गर्नुपर्छ ।’ तर उद्योगहरूले यसको परीक्षणमा कति ध्यान दिएका छन् भन्नेबारे सम्बन्धित निकायले कडाइका साथ अनुगमन गर्नुपर्ने जानकारहरू बताउँछन् । ग्यास लिकेज भएर गन्ध आएमा तुरुन्त रेगुलेटर बन्द गरी चिसो कपडाले बेर्ने वा सेफ्टी क्याप लगाएर खुला ठाउँमा लैजानुपर्छ । कोठामा ग्यास लिक भएर गन्ध आएको अवस्थामा बिजुलीको स्विच अन/अफ नगर्ने, सलाई, लाइटरजस्ता आगो उत्पन्न हुने सामग्री बाल्न नहुने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुश मल्ली बताउँछन् । ‘ग्यास सिलिन्डरको सही प्रयोगबारे करिब ७५ प्रतिशतलाई जानकारी छैन । गाउँमा झन् समस्या छ,’ उनले भने, ‘सिलिन्डर भएको कोठामा कुनै हालतमा सुत्नु हुँदैन । ग्यास लिक भएको अवस्थामा बत्ती बाल्दा स्पार्क भएर आगलागी हुने जोखिम हुन्छ ।’
खाना पकाउँदा चुलो बले/नबलेको र ग्यासको गन्धबारे पनि उपभोक्ता सजग भइरहनुपर्छ । सिलिन्डरभन्दा चुलो केही उचाइमा राखेर प्रयोग गर्नुपर्छ । खाना बनाइसकेपछि चुलोसँगै रेगुलेटर बन्द गर्नुपर्छ । त्यस्तै, इलेक्ट्रिक तारको गुणस्तर पनि राज्यले तय गर्नुपर्ने अध्यक्ष मल्ली बताउँछन् । ‘पछिल्लो समय सिलिन्डरमा समस्या देखिएको छैन, सचेतनाको कमीले घटना भइरहेका छन्,’ उनले दाबी गरे, ‘ग्यास सिलिन्डरहरू नेपाल गुणस्तरअन्तर्गत बनेका छन् । सुरक्षाको हकमा नापतौल विभागले मापदण्ड बनाए हामी तयार छौं ।’ जानकारहरूका अनुसार ग्यास सिलिन्डर प्रयोग गर्नेबारे सचेतनाका लागि स्थानीय निकाय नै सक्रिय हुन जरुरी छ ।
नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग र उद्योगीहरूको भूमिका पनि उत्तिकै रहेको उपभोक्ताकर्मी ज्योति बानियाँले बताए । ग्याससम्बन्धी छुट्टै ऐन बनाउन उनको माग छ । ‘मापदण्डअनुसार नभए उद्योग सञ्चालन गर्न दिनु हुँदैन । उद्योगीहरूले एनएस चिह्न पाए पनि नाम मात्रैको हो,’ उनले भने, ‘गुणस्तर तथा नापतौलले एनएस दिए पनि अनुगमन गर्दैनन् ।’ यता, विभागका सूचना अधिकारी सञ्जीव ठाकुरले भने मापदण्ड पूरा गर्नेलाई मात्रै एनएस चिह्न प्रदान गरेको दाबी गरे ।
रेगुलेटर र पाइप नेपाली भए एनएस चिह्न अंकित र विदेशी उत्पादन भए आईएसओ लोगो हेरेर मात्रै खरिद गर्न विज्ञको सुझाव