मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • विशिष्ट व्यक्तिहरूको सवारी कार्यविधि संशोधन गर्न सरकार तयार

विशिष्ट व्यक्तिहरूको सवारी कार्यविधि संशोधन गर्न सरकार तयार

  • आइतवार, माघ २९, २०७९
विशिष्ट व्यक्तिहरूको सवारी कार्यविधि संशोधन गर्न सरकार तयार

काठमाडौँ — विशिष्ट व्यक्तिहरुको सवारीका कारण सर्वसाधारणले दु:ख पाएको भन्दै विरोध चर्किएपछि सरकारले ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्ने भएको छ । गत शुक्रबार राष्ट्रपतिको सवारीका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेपेका थिए । त्यसक्रममा चिकित्सिकहरुलाई प्रहरीले कुटपिट गरेका थिए ।

त्यही कुटपिटको विरोधमा आइतबार नेपाल चिकित्सक संघले अस्पतालहरूको आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो । चिकित्सकहरू नै हड्तालमा उत्रिनुपर्ने अवस्था सिर्जना भएपछि आइतबार नेपाल चिकित्सक संघसँगको वार्तामा सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा आवश्यक परिमार्जन गर्न तयार भएको हो ।

भीभीआईपीको सवारीका कारणले बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायत संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने व्यवस्था गर्ने सहमति गरेपछि चिकित्सकहरूको आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंहलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघ (एनएमए) को आह्वानमा आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द रहे । चिकित्सकहरूको आन्दोलनलाई सम्बोधन गर्न आइतबार बिहानै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा नेपाल चिकित्सक संघ तथा सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो ।

वार्ता ६ बुँदे सहमतिका साथ टुंगोमा पुगे पनि सबैभन्दा महत्त्वपूर्ण ४ नम्बर बुँदा रहेको छ । ‘विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकारसमक्ष एक हप्ता भित्रमा सुझाव पेश गर्ने । नेपाल सरकारले उक्त सुझावहरूलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने,’ सो बुँदामा उल्लेख छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार वार्तामा सरकारी पक्षको नेतृत्व गरेका प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेकै संयोजकत्वमा उक्त कार्यविधिलाई परिमार्जन गर्न आवश्यक सरोकारवाला पक्षलाई सम्मिलित गराई छलफल गरेर सरकारलाई सुझाव दिने सहमति भएको हो । ‘हामीले अनौपचारिक रुपमा हिजो प्रधानमन्त्रीसँग पनि कुरा राखेका थियौं । यस विषयमा उहाँ पनि सहमत हुनुहुन्छ,’ उनले भने, ‘विशिष्ट व्यक्तिको सवारीका नाममा जनताले दु:ख पाउने काम बन्द हुनुपर्छ । यदि सरकारले समय सीमा भित्रमा त्यो काम सकेन भने हामी पुन: आन्दोलन गर्छौं । त्यसैले अहिले आन्दोलन फिर्ता गरेको होइन स्थगित गरेको मात्रै हो।’

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संसद्लाई सम्बोधन गर्न जाँदै गर्दा । राष्ट्रपतिको सुरक्षार्थ आवागमनमा रोक लगाइएकाले दिनभर उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको थियो ।

उनका अनुसार सरकारी पक्षबाट वार्तामा सम्मिलित सबै जना विशिष्ट व्यक्तिको सवारी सुरक्षाको व्यवस्थापन फरक ढंगबाट गर्न सहमत भएकैले वार्ता छिटो निष्कर्षमा पुगेको हो । ‘यो सवारीका नाममा हुने आतंक बन्द गर्नकै लागि हामीले आन्दोलन गर्न बाध्य भएका हौं,’ उनले भने, ‘यो शैलीमा परिवर्तन आए सबैलाई फाइदा पुग्छ ।’

भीभीआईपीको आवागमनको नाममा चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्नुका साथै अन्य संलग्न माथि पनि अनुसन्धान गरेर कारबाही अगाडि बढाउने सहमति समेत भएको छ ।

यसका साथै नेपाल चिकित्सक संघ र सरकारबीच स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि बनाइएको कानुनलाई पूर्णरुपमा लागू गर्दै त्यसलाई थप सशक्त बनाएर लैजाने विषयमा पनि सहमति भएको छ ।

चिकित्सकहरूको आन्दोलनलाई सम्बोधन गर्न आइतबार बिहानै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा नेपाल चिकित्सक संघ तथा सरकारका प्रतिनिधि बीच वार्ता भएको थियो ।

वार्तामा चिकित्सकहरूका तर्फबाट एनएमएका अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाल, ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनी, तथा एनएमएका पूर्व अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ सहभागी भएका थिए । यस्तै नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेसहित स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल रहेका थिए। यस्तै वार्तामा नेपाल प्रहरीका एआईजी दिवेश लोहनी, काठमाडौंका एसएसपी दानबहादुर कार्की तथा स्वास्थ्य मन्त्रालयका सहसचिव कृष्ण पौडेल सहभागी थिए ।

चर्चामा

सम्बन्धित समाचार