बाजुरा–बाजुरा जिल्लाका ४३ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा रहेका छन् । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले दिएको जानकारी अनुसार जिल्लाका जम्मा ७० मध्ये ४३ लाई अति समवेदनशील मतदान स्थल मानिएको छ ।
यस्तै २३ समवेदनशील मतदान स्थल रहेका बिष्टले वताए । उनका अनुसार ७० मध्ये चार मतदान स्थल मात्रै सामान्य अवस्थाका छन् ।
प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदान स्थलमा एक सय १२ मतदान केन्द्र कायम भएका छन् । बाजुरामा महिला ४० हजार पाँच सय ३७, पुरुष ४२ हजार एक सय ५१ र अन्य दुई गरि जम्मा ८२ हजार आठ सय ९० मतदाता रहेका छन् ।