बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाज
  • निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न बाजुराका राजनितिक दल प्रतिवद्धता

निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न बाजुराका राजनितिक दल प्रतिवद्धता

  • शनिबार, अशोज २२, २०७९
निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न बाजुराका राजनितिक दल प्रतिवद्धता

बाजुरा–मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचार संहिता र उम्मेदवारी दर्ता बारे छलफल गरेको छ । राजनीतिक दलका नेताहरु, नागरिक समाज, सुरक्षा निकाय र पत्रकारहरुलाई बोलाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल गरिएको हो ।

सर्वपक्षिय बैठकमा निर्वाचन आयोगले जारी गरेका आचार संहिता बारे जानकारी गराईएको छ । भने असोज २३ गते हुने मनोनय दर्ताको समय बारे पनि छलफल गरिएको छ । सबै राजनीतिक दले आचार संहिताको अक्षरश पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

सर्वपक्षिय बैठकले आचार संहिताको पालना गर्ने र गराउने प्रतिवद्धता सहीतको निर्णयमा हस्ताक्षर गरेका छन् । राजनीतिक दलका तर्फबाट नेकपा एमाले सचिव भरत थापा, काँग्रेस सचिव तिलक पुरी, माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष कमल कुमारी शाह, एकीकृत समाजवादीका दिर्घराज पाध्याय, राप्रपाका दलबहादुर थापा लगायतले हस्ताक्षर गरेका छन् ।

 प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायधिश ढाँकाराम पौडेलको अध्यक्षतामा सर्वदलिय बैठकको सञ्चालन निर्वाचन कार्यालय बाजुराका कार्यालय प्रमुख नवराज अवस्थीले गरेका हुन् । दलहरुले शान्त मर्यादीत र सभ्य भएर निर्वाचनमा भाग लिन प्रमुख निर्वाचन अधिकृत ढाँकाराम पौडेलले निर्देशन दिएका छन् ।

उम्मेदवार दर्ता बारे साना दलले १ बजेभन्दा पहिला उम्मेदवारी गरि सक्नु पर्ने र त्यसपछि एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले ३ बजेभित्र उम्मेदवारी दर्ता गर्नु पर्ने समय तोकिएको छ । यस्तै ३ देखि ५ बजेको समयमा नेकपा एमाले र नेपाली काँग्रेसले उम्मेदवारी दर्ता गर्न समय तोकिएको छ ।

५ बजेभित्र सबै दलको उम्मेदवारी दर्ता प्रक्रिया सकिसक्ने गरि समय व्यवस्थापन गरिने मुख्य निर्वाचन अधिकारी ढाकाराम पौडेलले बताएका छन् । उम्मेदवारी दर्तामा १० भन्दा बढी पार्टीका झण्डा र २५ जना भन्दा बढी नेता कार्यकर्ताको सहभागि गराउन नपाउने मापदण्ड बनाएको छ ।

निर्वाचन आचार संहिता अनुसार नै त्यो नियमको पालना र कार्यान्वयन अनिवार्य हुने बताइएको छ । नारा जुलुस कोलाहल समेत नगर्न भनिएको छ । प्रदेश तथा प्रतिनिधी सभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेद्वारहरुले गर्न पाउने खर्चको विवरण बारे पनि जानकारी गराएको छ ।

बाजुरा जिल्लाको हकमा संघीय सांसदका उम्मेदवारले ३१ लाख, प्रदेश सभा क्षेत्र (क) मा २३ लाख, र (ख) मा २१ लाख खर्च गर्न पाउने प्रावधान मुख्य निर्बाचन अधिकारी ढाकाराम पौडेलले बताएका छन् ।

मतदान स्थलमा मतदाताहरुलाई स्वतन्त्र वातावरणमा मतदान गर्न पाउने वातावरण सृजना गर्न र पुन मतदान गराउने अवस्थाको सिर्जना हुन नदिने गरि सुरक्षा व्यवस्था र प्रबन्ध मिलाउन सहभागिले आग्रह गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी सचिव भरत बहादुर थापाले निर्वाचन गराउने काम निर्वाचन आयोगको भएकोले राज्य सत्ताको दुरुपयोग गराउन नहुने बताएका छन् । स्थानीय तह निर्वाचन जस्तै निर्वाचन अयोग भन्दा राज्यले निर्वाचन गराउने प्रयास गरेमा जे पनि हुन सक्ने चेतावानी समेत थापाले दिएका छन् ।

नेपाली काँग्रेस क्षेत्र (ख) का सचिब सुरेन्द्र सिंहले बुथ कब्जाको पुरानो रोगको अन्त्य गरिनु पर्ने र सबैले मतदान गर्न पाउने वातावरण निर्माण हुनु पर्ने बताएका छन् ।माओवादी केन्द्रका प्रदेश समिति कोषाध्यक्ष कमल कुमारी शाहले नेकपा माओवादी केन्द्रलाई सानो पाटी भनेर अपहेलित गर्ने प्रबृति हट्नु पर्ने धारणा राखेकी छन् । बैठक जिल्ला समन्वय समिति तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयको सभा हलमा आयोजना गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार