• होमपेज
  • समाज
  • मौसम : पूर्वमा क्रमिक सुधार, पश्चिममा आइतबारसम्मै वर्षा

मौसम : पूर्वमा क्रमिक सुधार, पश्चिममा आइतबारसम्मै वर्षा

  • शुक्रबार, अशोज २१, २०७९
मौसम : पूर्वमा क्रमिक सुधार, पश्चिममा आइतबारसम्मै वर्षा

काठमाडौं– पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहे पनि पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद सन्जिव अधिकारीले जानकारी दिए ।

अधिकारीले अनलाइनखबरसँग भने, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज दिउँसो धेरै वर्षाको सम्भावना छ । तर आज राति भने कम हुने छ । भोलि दिउँसो फेरि धेरै वर्षाको सम्भावना छ । पश्चिम क्षेत्रमा आइतबारसम्म कहिँ न कहिँ भारी वर्षा हुने देखिन्छ ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

हाल नेपालमा बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको छ । केही दिनयता लगातार वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली छ । बाँकी प्रदेशहरूमा भने सामान्य बदली रहेको र सुदूर पश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कन्चनपुरको शान्तिपुर बेलौरी, बर्दियाको रम्भापुर, नवलपुरको दुम्कौली, तनहुँको अत्रउलीटार तथा पाल्पाका अर्चले र गण्डाकोटमा भारी वर्षा भइरहेको छ । यी स्थानहरुमा पर्ने महाकाली, बबई र काली गण्डकी जलाधार क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण खतराको संकेत देखाइएको छ । २४ घण्टाको अवधिमा पाल्पामा सबैभन्दा बढी २११ मिलिमिटर वर्षा मापन भएको छ ।

चर्चामा

सम्बन्धित समाचार