• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धनगढी–दीपायल द्रुतमार्गअन्तर्गत २६ किलोमिटर स्तरवृद्धिको काम अलपत्र

धनगढी–दीपायल द्रुतमार्गअन्तर्गत २६ किलोमिटर स्तरवृद्धिको काम अलपत्र

  • बुधबार, अशोज ५, २०७९
धनगढी–दीपायल द्रुतमार्गअन्तर्गत २६ किलोमिटर स्तरवृद्धिको काम अलपत्र

धनगढी – कैलालीको धनगढी–डोटीको दीपायल द्रुतमार्गको ट्रयाक निर्माणको काम सकिएको छ। ९२ किलोमिटरको उक्त सडकमध्ये कैलालीमा २० र डोटीको निरौली क्षेत्रमा ६ किलोमिटर स्तरवृद्धिको ठेक्का भएको थियो। सडक स्तरवृद्धिको सम्झौताको अवधि सकिएको छ। तर निर्माण कम्पनीले आधा पनि काम गरेका छैनन्।

कैलालीमा २० करोड र डोटीमा ८ करोडमा सडक स्तरवृद्धिका लागि ठेक्का गरिएकोमा अहिले काम अलपत्र पारिएको हो। धनगढी–दीपायल सडक योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाका अनुसार सडक स्तरवृद्धिको आधा पनि काम भएको छैन। ‘वर्षापछि निर्माण व्यवसायी काममा फकिर्एका छैनन्। काम आधा पनि भएको छैन। कामको आधारमा भुक्तानी दिएका छौं,’ उनले भने।
कैलालीको हाटखोलीदेखि शिवनगरसम्मको २० किलोमिटर सडक स्तरवृद्धिका लागि आशिष निर्माण सेवासँग २० करोडमा सम्झौता गरिएको थियो। डोटीको निरौली क्षेत्रको ६ किलोमिटर सडक स्तरवृद्धिका लागि श्याम–सुन्दर–साउँद जेभीसँग ८ करोडमा सम्झौता भएको थियो।

दुवैसँग सम्झौताको समय अवधि सकिएको छ। तर सडक स्तरवृद्धिको काम भने सकिएको छैन। ट्रयाक मात्र निर्माण भएको द्रुतमार्गको २६ किलोमिटर क्षेत्र स्तरवृद्धिका लागि ठेक्का गरिएकोमा निर्माण कम्पनीहरुले अलपत्र पारेका हुन्।
अब एक वर्षका लागि समय थप गरिएको योजना कार्यालयका सूचना अधिकारी गैखोलाले बताए। नेपाल सरकारले सबै निर्माण व्यवसायीहरुको एक वर्षका लागि समय अवधि थप गरेसँगै धनगढी–दीपायल सडकमा काम गर्ने निर्माण कम्पनीहरुको पनि समय थप गरिएको उनले बताए।

फास्ट ट्रयाकको नयाँ ३३ किलोमिटर कालोपत्रका लागि ठेक्का सम्झौता समेत गरिएको छ। कैलालीमा साढे १३ किलोमिटर र डोटीमा साढे ९ किलोमिटर सडक निर्माणको काम जारी रहेका बेला थप नयाँ ३३ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको हो। कैलालीको हाटखोली क्षेत्रमा सडक कालोपत्रका लागि काम सुरु भएको छ भने डोटीमा संयुक्त सर्भेको काम थालिएको धनगढी–दीपायल सडक योजना कार्यालयका सूचना अधिकारी रैखोलाले बताए।

कैलालीमा १४ करोड २० लाख १८ हजार ४ ८१ रुपैँयामा ७ किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता भएको छ। कैलालीमा कालिका वेदान जेभीसँग सडक निर्माणको असारमा ठेक्का सम्झौता गरिएको छ। यस्तै डोटीमा २६ किलोमिटर सडक कालोपत्रका लागि क्याप दुमिला जेभीसँग २८ करोड ३० लाख ७४ हजार ७८५ रुपैयाँमा सम्झौता भएको छ।

चर्चामा

सम्बन्धित समाचार