• होमपेज
  • समाचार
  • गाडी तोडफोड गर्न खोज्ने बन्दकर्ताले खाए पिटाई

गाडी तोडफोड गर्न खोज्ने बन्दकर्ताले खाए पिटाई

  • मङ्लबार, भदौ ७, २०७९
गाडी तोडफोड गर्न खोज्ने बन्दकर्ताले खाए पिटाई

धनगढी — काभ्रेको बनेपास्थित चारदोबाटोमा गाडी तोडफोड गर्न खोज्ने बन्दकर्तालाई स्थानीयले पिटेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको बन्दका क्रममा गाडी तोडफोड गर्ने बन्दकर्तालाई स्थानीयले घेरा हालेर पिटेका हुन्।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा एक बन्दकर्तालाई स्थानीयले हातपात गरेको देखिन्छ। बन्दकर्तालाई केही स्थानीयले पक्रिएका छन् भने अन्यले पालैपालो पिटेका छन्। पृष्ठभूमिमा आक्रोशित स्थानीयले ‘हान्, हान्’ भन्दै चिच्याएको समेत सुन्न सकिन्छ। त्यसपछि बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएको थियो। प्रहरीसँगको घम्साघम्सीपछि बन्दकर्ताको भागाभाग भएको थियो भने केही बन्दकर्तालाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता र कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो। विप्लवको पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन्। अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य तीन पार्टीले बन्दमा समर्थन गरेका हुन्।

काठमाडौँ उपत्यकामा बन्दको प्रभाव त्यति नदेखिएपनि देशका विभिन्न ठाउँमा बन्दको प्रभाव देखिन थालेको छ।

चर्चामा

सम्बन्धित समाचार