• होमपेज
  • देश
  • आसाममा बाढीबाट १७४ जनाको मृत्यु

आसाममा बाढीबाट १७४ जनाको मृत्यु

  • सोमवार, असार २०, २०७९
आसाममा बाढीबाट १७४ जनाको मृत्यु

एजेन्सी — आसाममा बाढीको स्थिति अझै पनि भयावह रहेको छ। राज्यभरिमा बाढीबाट २२.१७ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन्। आसामका ३४ जिल्लामध्ये २७ जिल्लाका कम्तीमा १,९३४ गाउँ बाढीको चपेटामा परेका छन्।

काछार जिल्लामा डुबेर थप एक जनाको मृत्यु भएसँगै यस वर्षको अप्रिलदेखि सुरु भएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १७४ पुगेको छ। आसाम भएर बग्ने प्रमुख नदीहरु ब्रह्मपुत्र, कोपिली, दिसाङ र बुर्हिडिहिङहरुमा पानीको बहाव खतराको चिन्हभन्दा माथि नै रहे पनि विगतको भन्दा प्रवाहमा ह्रास आएपछि केही जिल्लाको स्थितिमा भने सामान्य सुधार आएको छ।

कछार सबैभन्दा बढी प्रभावित जिल्लामध्ये एक हो, जसमा करिब १२ लाख ३२ हजार मानिसहरू प्रभावित छन्। त्यसपछि नागाउँमा लगभग ३ लाख ७९ हजार मानिस प्रभावित छन् भने बारपेटामा २२ लाख ८ हजारभन्दा बढी मानिसहरू बाढीबाट प्रभावित छन्। जिल्ला प्रशासनले २३ जिल्लामा ४०४ राहत शिविर स्थापना गरी २ लाख ७७ हजारभन्दा बढी मानिसलाई आश्रय दिएको बताएको छ।

त्यस्तै १३८ राहत वितरण केन्द्रमार्फत बाढीपीडितलाई राहत सामग्री पनि वितरण भइरहेको प्रशासनले बताएको छ। बाढीको पानीले प्रभावित जिल्लाका ५०,७१४ हेक्टरभन्दा बढी खेतीयोग्य जमिन डुबानमा पारेको छ। बाढीले सयौं घर, सडक, पुल, कल्भर्ट, सिँचाइ नहर र तटबन्धमा क्षति पुर्याएको छ भने यसले झण्डै ८ लाख घरपालुवा जीव तथा कुखुरालाई समेत असर गरेको छ।

प्रभावित मानिसलाई सघाउनको लागि राज्यका विभिन्न तहका नागरिक तथा सैन्य संगठनहरु सक्रिय रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार