• होमपेज
  • देश
  • कुकुरले टोक्नासाथ रेबिज लाग्छ ?

कुकुरले टोक्नासाथ रेबिज लाग्छ ?

  • बिहिबार, असार ९, २०७९
कुकुरले टोक्नासाथ रेबिज लाग्छ ?

काठमाडौं — रेबिज रोगको बारेमा हामीले धेरै सुनेका छौं । रेबिजको खोप सजिलै उपलब्ध हुने भएकाले पनि अन्य रोगजस्तो यसको विषयमा मानिसहरूले त्यति चासो दिएको पाइँदैन ।

तर यसको खोप उपलब्ध हुनु भन्दा पहिले रेबिजको कारण जति व्यक्तिको मृत्यु हुन्थ्यो त्यो संख्यामा भने कमी आएको छैन । यसको कारण भनेको रेबिजको बारेमा समाजमा धेरै भ्रम व्याप्त हुनु हो । रेबिज रोग कसरी लाग्छ ? यसको भरपर्दो उपचार के हो ? लगायतका विषयमा केन्द्रित रहेर सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानी :

रेबिज रोग कसरी लाग्छ ?

रेबिज रोगको कुरा गर्दा कुकुर आफैं एउटा भिक्टिम हो । यो रोग कुकुरलाई पनि अन्य जनावरबाट सरेको हुन्छ र कुकुरद्वारा मानिसमा यो रोग सर्छ । कुकुरले टोक्दा त्यसको र्‍याल मार्फत यो रोग मानिसमा सर्छ । यो हाम्रो शरीरको मांसपेशी हुँदै साना साना नसाहरुमा फैलिन्छ र मुख्य नसामा पुग्छ ।

कुकुरमा कसरी रेबिजको भाइरस सर्छ ?

जंगलको छेउछाउ हुने कुकुरहरूलाई स्याल तथा फ्याउरोको सम्पर्कबाट यो रोग सर्छ । र, जंगल छेउछाउ भएको कुकुर सहरमा पुग्दा त्यो कुकुरको सम्पर्क र टोकाइबाट अन्य कुकुरहरूमा यो रोग सर्छ ।

कुनै कुकुरमा रेबिज भाइरस छ भन्ने कसरी थाहा हुन्छ ?

सरुवा रोगबारे अध्ययन गरेको २० वर्षको मेरो अनुभव अनुसार भन्दा एक दशकयता रेबिजको लक्षण परिवर्तन भएको छ । पहिले रेबिज लागेको कुकुर बढी आक्रामक हुने, पुच्छर निहुरेको, र्‍याल निकाल्ने जस्ता लक्षण देखिन्थ्यो । तर पछिल्लो समय भने रेबिज लागेको कुकुरमा धेरै लक्षण परिवर्तन भएको पाइन्छ । रेबिज भाइरस भएको कुकुरमा खासै विशेष लक्षण देखिंदैन । कुकुरमा रेबिज भाइरस छ भने सामान्य रूपमा देखिने लक्षण भनेको हावा र पानीदेखि डराउने हुनसक्छ ।

कुकुरले टोकेको कति समयको अन्तरालमा मानिसमा लक्षण देखा पर्छ ?

सामान्यतया कुकुरले टोकेको एकदेखि तीन महिनामा लक्षण देखिन्छ भनिन्छ । तर कहिलेकाहीं तीन महिना होइन, वर्षौंपछि पनि देखिन सक्छ । मेरो अनुभव साट्ने हो भने चाहिं धेरै मानिसलाई कुकुरले टोकेको ६ देखि ८ महिनामा लक्षण देखिएको पाएको छु । कुकुरले हातको नसामा टोकेको छ, गहिरो घाउ बनाएको छ, टाउको भन्दा माथि टोकेको छ भने उनीहरूलाई भने केही दिनमा नै लक्षण देखा पर्छ ।

रेबिज संक्रमित कुकुरले लखेटेर मान्छेलाई टोक्छ वा अन्य अवस्थामा मात्र टोक्छ ?

रेबिज संक्रमित कुकुरले मान्छेलाई लखेटेर मात्र टोक्छ भन्ने छैन । अन्य सामान्य अवस्थामा पनि टोक्न सक्छ । आक्रामक भएर टोक्छ भन्ने पनि छैन खेल्दाखेल्दै जिस्किँदा जिस्किँदै टोक्दा पनि रेबिज संक्रमण हुन सक्छ ।

रेबिज संक्रमित कुकुरले टोक्नासाथ के गर्ने ? बचाउको कुनै उपाय छ ?

रेबिज संक्रमित कुकुरले टोक्नासाथ सिधै गएर पानीको धारा खोलेर फोर्सले बगिरहेको पानीमा कम्तीमा १५ मिनेट धोयो भने मात्र पनि लगभग ९० प्रतिशत रेबिज भाइरस बगेर जान्छ । यदि सम्भव छ भने साबुनपानीले पखाल्दा झन् प्रभावकारी हुन्छ । त्यसपछि जतिसक्दो चाँडो अस्पताल गएर खोप लगाउनुपर्छ ।

कुकुरले टोकेको कति अवधिमा सुई लगाउनुपर्छ ?

कुकुरले टोकेपछि सकेसम्म छिटो भ्याक्सिन लगाउनुपर्छ । रेबिज लागेको कुकुर १० दिनभित्र मर्छ भने त्यसपछि रेबिजको खोप लगाउनैपर्छ । त्यसैले समय भन्दा पनि कुकुरको अवस्था थाहा पाउनु महत्वपूर्ण हो । तर कुकुरले एक महिना अघि टोकेको थियो । टोक्ने बित्तिकै कुकुर गायब भयो भने उसले पनि रेबिजको खोप लगाउनुपर्छ । कुकुरको अवस्था थाहा छ भने रेबिजको खोप नलगाए पनि हुन्छ ।

रेबिजविरुद्धको खोप लगाइसकेपछि रेबिजको जोखिम हुँदैन ?

रेबिजविरुद्धको खोप लगाइसकेपछि रेबिजको जोखिम हुँदैन । त्यसैले कुकुरले रोक्ने बित्तिकै खोप लगाइयो भने रेबिजको जोखिमबाट बच्न सकिन्छ ।

सामान्य कुकुरले टोकेको अवस्थामा पनि रेबिजविरुद्धको खोप लगाउनुपर्छ, किन ?

सामान्य कुकुरले टोकेको अवस्थामा पनि रेबिजविरुद्धको खोप लगाउनुपर्छ, किनकि केही कुकुरहरूमा लक्षणहरू नदेखिएको पनि हुन सक्छ । १० दिनसम्म कुकुरको अवस्था हेरेर खोप लगाउँछु भने पनि ठिकै छ । तर खोप लगाएपछि एकदमै सुरक्षित हुने भएकाले खोप लगाउनु नै उपयुक्त हुन्छ ।

मानौं, सामान्य कुकुरले टोकेको छ र खोप लगाइएको छैन । पछि उक्त कुकुर बहुलाएको अवस्थामा त्यस व्यक्तिलाई कुनै खतरा हुनसक्छ ?

सामान्य कुकुरले टोकेको छ र त्यो कुकुर १० दिनसम्म बहुलाएन भने उक्त व्यक्तिलाई कुनै खतरा हुँदैन । तर सामान्य कुकुरले टोकेको छ त्यो कुकुर १० दिनभित्रमा बहुलायो वा मर्‍यो र व्यक्तिले खोप लगाएको छैन भने त्यस व्यक्तिलाई रेबिज खतरा हुन्छ ।

रेबिजको कारण औसत बर्सेनि कति मान्छेको ज्यान जाने गरेको छ ? कति संक्रमित हुने गरेका छन् ?

झन्डै दुई दशकअघिको डाटा हेर्ने हो भने रेबिजको कारण औसत वार्षिक १२ देखि १४ जनाको मृत्यु हुन्थ्यो । तर अहिले भ्याक्सिन व्यापक मात्रामा उपलब्ध हुँदा पनि मृत्युदर घटेको छैन ।

यसको भरपर्दो उपचार के हो ?

रेबिजको संक्रमण मांसपेशी हुँदै नसामा फैलियो भने यसको कुनै उपचार छैन । त्यसैले खोप नै यो रोग लाग्नबाट बचाउने एक मात्र उपाय हो । कुकुरले हातको नसामा टोकेको छ, गहिरो घाउ बनाएको छ, टाउको भन्दा माथि टोकेको छ भने तुरुन्त एमोनोग्लोबिन खोप पनि लगाउनुपर्छ ।

रेबिजको खोप कति डोज लगाउनुपर्छ ?

रेबिजको खोप कति डोज गलाउने भन्ने बारेमा पनि धेरै भ्रम छ । शून्य, तीन, सात र चौध गरेर दुई हप्तामा चार वटा डोज खोप लगाए पुग्छ । तर बाहिर धेरै ठाउँमा रेबिजको खोपको पाँचवटा डोज लगाएको पनि पाइएको छ ।

सरकारी अस्पतालमा निःशुल्क उपलब्ध छ । यो खोप निजी औषधि पसलमा पनि पाइन्छ । निजी औषधि पसलमा एउटा डोजको मूल्य ६७० रुपैयाँ पर्छ ।

रेबिजको उपचारको लागि राज्यले कति खर्च गरिरहेको छ ? यसको बचाउका लागि के कस्ता उपाय अपनाएका छन् ?

रेबिज उपचारको लागि एक मात्र उपाय भनेको खोप हो । यसको लागि राज्यले वार्षिक ७ देखि ८ करोड रुपैयाँ खर्च गरिरहेको छ । साथै, यसको बचाउका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ ।अनलाइनखबरबाट साभार । 

चर्चामा

सम्बन्धित समाचार