• होमपेज
  • समाज
  • चुनाब नजिकिए सँगै बझाङमा मदिरा एक हप्ताका लागि निषेधाज्ञा

चुनाब नजिकिए सँगै बझाङमा मदिरा एक हप्ताका लागि निषेधाज्ञा

  • आइतवार, बैशाख २५, २०७९
चुनाब नजिकिए सँगै बझाङमा मदिरा एक हप्ताका लागि निषेधाज्ञा

अर्थ जङ शाही/ बझाङ — स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङले निर्वाचन आचार संहितामा कडाइ गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २५ गते देखि जेठ १ गतेसम्म मदिरा पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको हो । चुनावी प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खलबल्याउने तथा निर्वाचन आचारसंहिताको उल्लङ्घनका घटना बढ्ने भन्दै मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।

यस्तै, जिल्लामा भइरहेका राजनैतिक दलका सभा सम्मेलनमा बालबालिकाको प्रयोग, सार्वजनिक ठाउँमा दलका झण्डालगायत उम्मेदवारका प्रचार सामग्री भेटिन थालेकाले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न प्रशासनले आग्रह गरेको छ।

कोही कसैबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भए वा गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले बताएका छन । निर्वाचन प्रचार प्रसारका क्रममा उम्मेदवारले एकभन्दा बढी सवारी साधन प्रयोग गर्ने गरेको र अनुमति नलिएरै सवारी सञ्चालन गर्दै आएको भन्दै राजनैतिक दलको ध्यानाकर्षण गराएको छ ।

आफूहरू जिल्लामा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि प्रयासरत रहेकाले सबैको सहयोग आवश्यक रहेको अधिकृत अवस्थीको भनाइ छ । यसैबीच स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राख्दै बैशाख २५ गतेदेखि जेठ १ गतेसम्म हप्ता दिन जिल्लाभर मदिरा निषेध गरिने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार