• होमपेज
  • देश
  • नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने

नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने

  • शनिबार, बैशाख १०, २०७९
नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने

धनगढी– वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कैलाली र कञ्चनपुरसँग जोडिएका नेपाल-भारत नाकाहरु तीन दिनसम्म बन्द हुने भएका छन्। शुक्रत्रबार कञ्चनपुर र शनिबार कैलालीमा दुबै देशका सुरक्षा अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेका हुन्।

शनिबार कैलालीको गोदावरी रिसोर्टमा र शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाल-भारतका सुरक्षा अधिकारीहरुले बैठक गरेका हुन्। शनिबार कैलालीमा बसेको भारतको लखिमपुर जिल्ला र नेपालको कैलाली तथा कञ्चनपुर जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरुको बैठकले २८ गते विहानदेखि ३० गते बेलुकीसम्म ७२ घण्टा सीमा नाका बन्द गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले बताए।

‘वैशाखको २८ गतेको विहानदेखि ३० गते बेलुकीसम्म नाका बन्द हुने निर्णय गरेका छौं, अत्यावश्यक बस्तु, पेट्रोलियम पदार्थ, विरामी बोकेका एम्बुलेन्स, विरामी बोकेका अरु सवारी साधनहरु चल्न दिइने छ,’ प्रमुख जिल्ला अधिकारी थापाले भने।

कैलाली भारतको लखिमपुर जिल्लासँग जोडिएको जिल्ला हो। त्यस्तै कञ्चनपुर जिल्ला भने भारतका लखिमपुर, उधमसिंह नगर र चम्पावत गरी तीन जिल्लासँग जोडिएको छ। कैलाली र कञ्चनपुर भारतका चार जिल्लासँग जोडिएकाले पनि सीमा अधिकारीहरुले फरक-फरक जिल्लाअनुसारका बैठक गरी सीमाको ब्यवस्थापनको निर्णय गरेका हुन्।

शुक्रबार कञ्चनपुरमा पनि सीमा अधिकारीहरुको बैठक बसेका थियो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले स्थानीय तहको निर्वाचनमा सीमा बन्द गर्ने, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा मानव बेचबिखनजस्ता अपराधिक क्रियाकलाप रोकथामका लागि दुबै देशका सुरक्षा निकाय सहमत भएको बताए।

‘स्थानीय तहको निर्वाचन केन्द्रीय समन्वयात्मक बैठक बसेको हो, बढी कुराहरु चुनाव कन्द्रित भए, अरु विषयमा पनि छलफल भयो,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने।

‘कञ्चनपुरसित सीमा जोडिएका भारतीय नाका वैशाख ३० गतेको ७२ घण्टाअघिदेखि बन्द हुने निर्णय भएको छ,’ उनले भने। ‘अस्पताल र अत्यावश्यक कामका लागि नाकामा आवागमन सहज गर्ने सहमति भएको छ।’

कैलाली र कञ्चनपुरमा भएका बैठकहरुमा नेपाल-भारत सीमा अतिक्रमणका विषयमा समेत छलफल भएको थियो। बैठकमा सीमाको सर्भेको काम संयुक्त सर्भे टोलीमार्फत गरिने बताइएको छ। त्यसैगरी सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान गरेर अघि बढ्ने समझदारी भएको छ।

कैलालीमा भएको बैठकमा भारतको तर्फबाट लखिमपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (एडीएम) अरुण कुमार सिंह, असिस्टेन्ट एसपी कैलाश प्रकाश, सीमा सुरक्षा बल (एसएसबी)का ३९ नम्बर बाहिनिपति मुन्ना सिंहसहित दुधवा नेशनल पार्कका वार्डेन, बनका अधिकारीहरुको सहभागिता रहेको थियो।

त्यस्तै नेपालको तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, कैलालीका प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौर, कञ्चनपुरका एसपी श्याम सिंह चौधरी, सशस्त्र सीमा सुरक्षा बलका एसपी कैलालीबाट धनबहादुर सिंह, कञ्चनपुरबाट अमर बहादुर ऐरसहितका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो।

कञ्चनपुरमा भएको बैठकमा भारतीय पक्षबाट चम्पावतका प्रमुख जिल्ला अधिकारी (डीएम) विनित तोमर, पीलीभितका प्रमुख जिल्ला अधिकारी (डीएम) पुलकित खरे, उद्यामसिंह नगरका प्रमुख जिल्ला अधिकारी (डीएम) युगल किशोर पन्तलगायतको सहभागिता थियो।

चर्चामा

सम्बन्धित समाचार