
वीरगञ्ज — विष्फोटक पदार्थ पटाकासहित बारा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मकवानपुर हेटौडा उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षीय बुद्ध लोप्चन, ३२ वर्षीय राजकुमार लोप्चन र २५ वर्षीय बुद्ध लोप्चनलाई पक्राउ गरेको हो।
सिमा प्रहरी चौकी छतवा बाराबाट गएराति खटिएको प्रहरी टोलीले फेटा गाउँपालिका–३ बाट उनीहरुलाई पटाका सहित पक्राउ गरेको थियो। भारतबाट शंकास्पद रुपमा ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकलमा तीन जना नेपालतर्फ आइरहेका थिए।
रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट कार्टुनमा राखी लुकाएर ल्याएको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
उनीहरुको साथबाट किङ कोबरा–११ बण्डल र ईलेक्ट्रिक स्पार्कर्स–५० प्याकेट बरामद भएको जनाइएको छ। बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा पहिलो पटक ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
